शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जित्ने दाहालको लक्ष्य

शनिबार, कार्तिक १६ २०७६

भद्रपुर(जस)–नेपाललाई स्वर्ण पदक दिलाउने लक्ष्य बोकेर शारीरिक सुगठनका नेपाली च्याम्पियन राम दाहाल संयुक्त अरब इमिरेट्समा आयोजना हुने विश्व शारीरिक सुगठन च्याम्पियनसिप प्रतियोगितामा भाग लिन गएका छन् । उनलाई शनिबार बिर्तामोड उद्योग वाणिज्य सङ्घले एक कार्यक्रमबीच सफलताको शुभकामनासहित बिदाइ गरेको छ ।
यही कात्तिक २१ देखि २४ गतेसम्म संयुक्त अरब इमिरेट्सको दुबईमा आयोजना हुने विश्व च्याम्पियनसिप प्रतियोगितामा नेपाललगायत ९० मुलुकका खेलाडीले प्रतिष्पर्धा गर्दैछन् । दुबई जाने नेपाली टोलीमा दुई जना खेलाडीसहित सात जना रहनेछन । “मुलुकलाई स्वर्ण पदक दिलाउने लक्ष्य बोकेर दुबई जाँदैछु”, कुराकानीमा उनले भने । दुबईमा उनले ६० केजी तौल समूहबाट प्रतिष्पर्धा गर्दै हुनुहुन्छ । सत्तरी केजी तौल समूहबाट काठमाडौँका मरिचमान लामाले सो प्रतियोगितामा भाग लिनुहुने उनले जानकारी दिए । झापाको विर्तामोड–४ निवासी दाहालले बडी ग्यारेज नामक फिटनेस सेन्टर सञ्चालन गर्दै आएका छन् ।
विर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुमार भट्टराईले विश्वस्तरीय विभिन्न प्रतियोगितामा पदक जितेर नेपालको प्रतिष्ठा उँचो राख्दै आएका दाहाललाई आगामी प्रतियोगितामा सफलताका लागि सम्पूर्ण नेपालीको आशिर्वाद रहेको बताए । सन् २०१३ मा हङ्कङमा भएको एशियन खेलकूद प्रतियोगितामा शारीरिक सुगठनको ६० केजी तौल समूहमा रजतपदक जितेर उनले अन्तरराष्ट्रिय ख्यातिको शुरुआत गरेका थिए । उनले सन् २०१५ र सन् २०१८ मा भएको साफ खेलकूदमा ६० केजी तौल समूहमा स्वर्णपदक जित्नुभएको थियो । देशभित्र आयोजना हुने गरेका अधिकांश राष्ट्रिय प्रतियोगितामा उन पहिलो हुँदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार