काठमाडौं(एजेन्सी)–इंगलिश क्लबहरुको इएफएल कप अर्थात् काराबाओ कप फुटबलमा म्यानचेस्टर सिटी क्वाटरफाइनलमा पुगेको छ । मंगलबार राति भएको खेलमा साउथह्याम्पटनलाई ३–१ गोल अन्तरले पराजित गर्दै सिटीले क्वाटरफाइनलको यात्रा तय गरेको हो । घरेलु मैदानमा सिटीलाई जिताउन सर्जियो अग्युरोले दुई गोल गरे । निकोलस ओटामेन्डीले एक गोल गरे । साउथह्याम्पटनका ज्याक स्टेफेन्सले एक गोल फर्काए ।
मंगलबार रातिको खेलमा जित हात पार्दै लेस्टर सिटी, कोल्चेस्टर युनाइटेड, एभर्टन र अक्सफोर्ड युनाइटेड क्वाटरफाइनलमा पुगेको छ । लेस्टरले बुर्टोन अल्बियनलाई ३–१ गोल अन्तरले पराजित गर्यो । कोल्चेस्टरले क्रली टाउनलाई ३–१ गोल अन्तरले हरायो । एभर्टनले वाट्फोर्डलाई २–० गोल अन्तरले हरायो । अक्सफोर्डले भने सन्डरल्यान्डलाई पेनाल्टी सुट आउटमा ४–२ अन्तरले हरायो । यसअघि निर्धा्रित समयको खेलमा १–१ को बराबरी भएको थियो ।