आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

बडादशैंका दश दिन : हरेक दिनको विशेष महत्व

बिहिबार, असोज १६ २०७६

जनसवाल
काठमाडौँ । नेपालीहरुको महान् पर्व बडादशैँ शुरु भइसकेको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ मनाइन्छ । बडादशैँको पहिलो दिन घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । घटस्थापनकै दिनदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसहित समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।
दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ । विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । घटस्थापनामा स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ । दुर्गा देवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा हुन्छ । महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य एवं महासरस्वतीलाई विद्या तथा वुद्धिको प्रतीकको रुपमा लिइ पूजा गर्ने चलन रही आएको छ । दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौ रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा हुन्छ ।
बडादशैँको सातौँ दिन धार्मिक विधिअनुसार फुलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दशैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन् । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम स्तुतिको पाठ गरिन्छ । यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवम दर्शनार्थीको भीड लाग्छ ।

पहिलो दिन : घटस्थापना
देवीभागवत पुराणमा आश्विन शुक्लपक्षका नौ अहोरात्रलाई नवरात्र व्रत भनिएको छ्र । यस व्रतको दिनहरूमा निश्चित तिथीमूलक देवी देवताहरूको अनुष्ठान समेत हुने भएकाले नवरात्रका दिनहरूलाई घटाउन वा बढाउन मिल्दैन । प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ । यस दिन झिसमिसे बिहानी मै आत्मशुद्धि पश्चात् नदी, खोला, बगर वा आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा अथवा माटो ल्याई पूजाकोठामा राखी जमराका लागि जौ अथवा गाउघरमा चलिआएको अन्न छरिन्छ । जौ अथवा अन्नलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ । गहुँ तथा जौको अंकुर लगाउनाले सुख, शान्ति, समृद्धि र स्वास्थ्य लाभ हुने शास्त्रीय मान्यता छ । वनौषधिविज्ञहरूका अनुसार जौका जमरालाई महौषधि भनिन्छ । निधारमा विजयादेवीको प्रसादस्वरूप टीका लगाएर जमरा शिरमा राख्यो भने शिरको पीडा, मानसिक अशान्तिबाट बच्न सकिन्छ । जमराबाट शीतलता एवं नूतनको प्रतिक हो ।
अंकुरित अन्नबाट भिटामिन, प्रोटिन, क्याल्सियम आदि प्राप्त हुन्छ । स्वास्थ्यको लागि अति उत्तम मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो । त्यस स्थानको नजिकै जलपूर्ण घडा (कलश)को वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी पूजा गरिन्छ । अनि जलपूर्ण कलशमा पञ्चपल्लव चढाई अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी(सुरक्षा) र महासरस्वती (सृष्टि)को पञ्चोपचारले पूजाआजा गरिन्छ । हाम्रो धर्म, संस्कृति अनुसार कलशमै सम्पूर्ण देवी देवता,सागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित हुन्छन् । यसका अतिरिक्त कलशमा अष्टमङ्गलका शुभ चिन्हहरूद्वारा पूजित भएको पाइन्छ । घट कलश स्थापना गरी त्यसमै सम्पूर्ण देवीदेवता, तीर्थ, पावनी नदी नाला, सप्त सागर, सप्त द्वीप आदि सबैलाई समाहित गरी दसैँ पूजाको थालनी गरिएको हो । यसै दिनदेखि नवमीसम्म प्रत्येक नेपालीहरूका घरघरमा र देवीका मन्दिरहरूमा पहिलो दिनकै बमोजिम भगवती दुर्गाको पूजा,आराधना र प्रार्थना गरिन्छ र शङ्ख, डमरू, घण्टी आदि बजाइ दुर्गासप्तशती (चण्डी), दुर्गा कवच, श्रीमद्देवीभागवत आदि पाठ पनि पढिन्छ ।

बडादशैंको दोस्रो दिन : भगवती ब्रहमचारिणीको आराधना
नेपालीको महान चाड बडादशैंको दोस्रो दिन देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिन्छ । ब्रहमचारिणी देवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पूजाअर्चना गर्ने प्रचलन छ । ब्रहमचारिणीदेवीको आराधनाले व्यक्तिलाई ब्रहम अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचर्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख छ । सांसारिक मायामोहको जञ्जालबाट मुक्त गराई व्यक्तिलाई ज्ञानमा आकर्षित गरी मानव चोला सार्थक बनाउन साधकलाई ब्रहमचारिणी देवीको अनुकम्पा आवश्यक हुने बताइएको छ । ब्रहमचारिणी देवीलाई भक्तिको प्रतीक मानिन्छ । साधकहरु यो दिन आफ्नो मनलाई माता ब्रह्मचारिणीको चरणमा ध्यान लगाउँछन् । ब्रह्माको अर्थ तपस्या र चारिणीको अर्थ आचरण गर्ने भन्ने बुझिन्छ । तपस्याको आचरण गर्ने देवीकाका रुपमा ब्रह्मचारिणीलाई लिइन्छ । ब्रह्मचारिणी देवीको दाहिने हातमा जपको माला र देब्रे हातमा कमण्डलु हुन्छ ।
ब्रहमचारिणी माता पार्वतीको विवाहपूर्वको अवस्थाको रुपमा चर्चा गरिएको छ । पार्वतीको यो रुपलाई ब्रहमचारिणी, तपस्वी तथा योगिनी पनि भनिएको देवीभागवत लगायतका ग्रन्थहरुमा उल्लेख छ । माता ब्रह्मचारिणी देवीको कृपाले तपस्वीको सर्वत्र सिद्धि र विजय प्राप्त हुने मान्यता हिन्दू शास्त्रहरुमा छ । यो दिन विवाह नभएका कुमारीहरुको पूजा गर्ने प्रचलन छ । कन्याहरुलाई घरमा बोलाएर पूजा गरी भोजन गराएपछि मात्र आफूले खाने प्रचलन छ । देशभरिका देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाआजा गरिँदैछ । देवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पूजाआजा गर्न भक्तजनहरुको विभिन्न शक्तिपीठहरुमा ठूलो घुइचो लाग्ने गर्दछ । ब्रहमचारिणी देवीको आराधनाले व्यक्तिलाई ब्रहम अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रहृमचर्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख छ । सांसारिक मायामोहको जञ्जालबाट मुक्त गराई व्यक्तिलाई ज्ञानमा आकर्षित हुने शास्त्रहरुमा उल्लेख गरिएको छ ।
ब्रहमचारिणी देवीलाई भक्तिको प्रतीक मानिन्छ । ब्रहमचारिणी माता पार्वतीको विवाहपूर्वको अवस्थाको रुपमा चर्चा गरिएको छ । माता पार्वतीको यो रुपलाई ब्रहमचारिणी, तपस्वी तथा योगिनी पनि भनिएको देवीभागवत लगायतका ग्रन्थहरुमा उल्लेख छ । शास्त्रहरुमा ब्रहमचारिणीलाई वदनवर्ण कलेजी रङको रहेको भनेर वर्णन गरिएको छ । देवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । महाकाली शक्तिको, महालक्ष्मी धनधान्य र ऐश्वर्यको एवम् महासरस्वती विद्या तथा बुद्धिको प्रतीकका रुपमा पूजाआजा एवं आराधना गर्ने परम्परा छ ।
दूर्गा कवच मन्त्र–
प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी।
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति. चतुर्थकम्।।
पंचमं स्कन्दमातेति षष्ठं कात्यायनीति च।
सप्तमं कालरात्रीति.महागौरीति चाष्टमम्।।
नवमं सिद्धिदात्री च नवदुर्गा प्रकिर्तितता ।।।

बडादशैंको तेस्रो दिन : चन्द्रघण्टाको आराधना
नेपालीहरूको महान् पर्व बडादशैं अन्तर्गत नवरात्रिको तेस्रो दिन हिन्दूधर्मालम्बीहरूले चन्द्रघण्टाको पूजा गर्दछन् । देवीभागवतपुराणमा आश्विन शुक्लपक्षका नौ अहोरात्रमा ब्रत बस्ने गरिएको छ । नवरात्रिको तेस्रो दिन चन्द्रघण्टा भगवतीको पूजा आराधना गरी तृतीया पर्व मनाईन्छ । हिन्दू धर्मालम्बीहरूले वैदिक विधिमार्फत् यस दिन चन्द्रघण्टा देवीको पूजा आराधना गर्ने गरेका छन् । घटस्थापनाको दिनदेखि सुरू भएको नवरात्रिको तेस्रो दिनको पनि पूजा विधि घटस्थापनाको जस्तै हो । घटस्थापनाको दिन राखेको जमरालाई झिसमिसे बिहानी मै आत्मशुद्धि पश्चात् नदी, खोलाबाट ल्याएको पवित्र जलले जमरामा राखिन्छ । यसरी जमरा राखिएको स्थानको नजिकै जलपूर्ण घडा (कलश)को वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी पूजा गरिन्छ ।
जसमध्ये तेस्रो दिन चन्द्रघण्टा भगवतीको पूजा आराधना अनि जलपूर्ण कलशमा पञ्चपल्लव चढाई अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी (सुरक्षा) र महासरस्वती (सृष्टि) को पञ्चोपचारले पूजाआजा गरिन्छ । हाम्रो धर्म, संस्कृति अनुसार कलशमै सम्पूर्ण देवी देवता, सागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित हुन्छन् । यसका अतिरिक्त कलशमा अष्टमङ्गलका शुभ चिन्हहरूद्वारा पूजित भएको पाइन्छ । यसदिन पनि सम्पूर्ण देवीदेवता, तीर्थ, पावनी नदी नाला, सप्त सागर, सप्त द्वीप आदि सबैलाई समाहित गरी दसैँ पूजा गरिएको हुन्छ ।
पूजा गरिसकेपछि प्रत्येक दिन बलि चाहिँ अनिवार्य दिनुपर्ने कुरा शास्त्रीय विधानमा उल्लेख गरिएको छ । श्रौतयज्ञानुसार पशु बलि र शाकाहारीहरूले प्रदान गर्ने नरिवल, ऊखु, कुभिण्डो आदि स्मार्तबलि गरि दुई प्रकारको हुन्छ । बलि प्रदान गरिसकेपछि यस दिनको कार्य समापन गरिन्छ । जमराको रूपमा गहुँ तथा जौको अंकुर लगाउनाले सुख, शान्ति, समृद्धि र स्वास्थ्य लाभ हुने शास्त्रीय मान्यता छ । वनौषधिविज्ञहरूका अनुसार जौका जमरालाई महौषधि भनिन्छ । निधारमा विजयादेवीको प्रसादस्वरूप टीका लगाएर जमरा शिरमा राख्यो भने शिरको पीडा, मानसिक अशान्तिबाट बच्न सकिन्छ । जमराबाट शीतलता एवं नूतनको प्रतिक हो । अंकुरित अन्नबाट भिटामिन, प्रोटिन, क्याल्सियम आदि प्राप्त हुन्छ । स्वास्थ्यको लागि अति उत्तम मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो ।
दूर्गा कवच मन्त्र–
प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी।
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति. चतुर्थकम्।।
पंचमं स्कन्दमातेति षष्ठं कात्यायनीति च।
सप्तमं कालरात्रीति.महागौरीति चाष्टमम्।।
नवमं सिद्धिदात्री च नवदुर्गा प्रकिर्तितता ।।।

दशैँको चौथो दिन : कुष्माण्डा देवीको आराधना
काठमाडौं । दशैँको चौथो दिन नवदुर्गाका नौरूपमध्ये कुष्माण्डा देवीको पूजाआराधना तथा दर्शन गरेर मनाइन्छ । दियो, कलश र गणेशको पूजा गरी ‘कुष्माण्डा’स्वरूपा दुर्गा भवानीको विशेष पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ । यस दिन पनि घटस्थापनाका दिन राखिएका जमरामा जल सेचन गर्ने र दुर्गा भवानीलाई खुसी पारी शक्ति प्राप्त गर्न ‘ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे’ नवार्ण मन्त्र वा ‘ॐ दुर्गे दुर्गे रक्षिणी स्वाहा’ नवाक्षर मन्त्र १०८ पटक जपी यस दिन पनि दुर्गा सप्तशती या चण्डीपाठ गर्नुपर्ने मार्कण्डेय पुराणमा उल्लेख छ । सृष्टिको क्रममा ब्रह्म या अण्डलाई उत्पन्न गरेकाले उनको नाम कुष्माण्डा रहन गएको हो । त्रिनेत्रयुक्त, मस्तकमा अर्धचन्द्र, आठ हात भएकी र भुजाहरूमा नाना प्रकारका आभूषण धारण गरेकी स्वरूपको शास्त्रमा वर्णन गरिएको छ । साथै बाघमा सवार उनका भुजाहरूमा चक्र, गदा, कलश, जपमाला, कमण्डलु, धनुषबाण तथा कमल पुष्प रहेको मानिन्छ । देवी भागवतअनुसार ब्रह्माण्डको उत्पत्तिपूर्व, जतिबेला सृष्टिकै अस्तित्व थिएन, त्यसबेला देवी कुष्माण्डाले आफ्नो हास्यबाट ब्रह्माण्ड उत्पन्न गरेकी हुनाले उनलाई साक्षात् आदिशक्ति मानिन्छ ।
ब्रह्माण्डमा व्याप्त समस्त प्राणी तथा तत्वमा देवी कुष्माण्डाको तेज विद्यमान रहेको मार्कण्डेय पुराणले बताएको छ । माता कुष्माण्डाको पूजापाठ गर्नाले रोग, शोक नष्ट भई आयु, यश र बल वृद्धि हुने जनविश्वास छ । माता कुष्माण्डालाई विशेषगरी सेता फलफूल र कपडा चढाइन्छ । कुष्माण्डालाई वैज्ञानिक दृष्टिले सम्पूर्ण रासायनिक शक्तिको स्वरूप मानिन्छ । यस दिन पाँच वर्षकी कन्यालाई ‘रोहिणी’ नामले पूजा गर्ने र कुष्माण्डा देवीलाई विशेष रूपमा कचौरामा मधुपर्क (मह र दही) चढाउने विधि छ । यस दिन विशेष गरी नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवती, दक्षिणकाली, भद्रकाली, दन्तकाली, सिद्धकाली, गुह्येश्वरी, विन्ध्यवासिनी, छिन्ताङदेवी, पाथीभरा, मनकामना, वागीश्वरीलगायत देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्न भक्तजनको भीड लाग्ने गरेको छ ।

बडादसैँको पाँचौ दिन : स्कन्दमाताको पूजा गरिँदैं
काठमाडौंः बडादसैँको पाँचौं दिन आइतबार स्कन्दमाता भगवतीको पूजा आराधना गर्ने गरिन्छ । नवरात्रका नौ दिनसम्म नवदुर्गाका एक–एक स्वरुपको पूजाआराधना गर्ने परम्पराअनुसार दुर्गा भवानीको पाँचौं शक्तिका रूपमा प्रादुर्भाव भएकी स्कन्दमाता भगवतीको पूजाआराधना गरिँदैछ । हिन्दूहरुमा स्कन्दमाताको पूजा आराधना गरे सन्तान सुख पाइने विश्वास रहँदै आएको छ । कमलको फूल आसन भएकी, सेतो वर्ण, चार हात भएकी भगवान स्कन्दकुमार कार्तिकेयको वालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले यिनलाई स्कन्दमाता नामबाट पुकार्ने गरिन्छ । दसैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजाआधाना गर्ने गरिन्छ । नवरात्रको अन्यदिनझैं आज पनि गुह्येश्वरी, शोभाभगवती, नक्सालभगवती, भद्रकाली, संकटा, बज्रबाराही, पलाञ्चोक भगवती, दक्षिणकाली, मनकामनालगायत देशभरिका शक्तिपीठहरूमा भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ ।

बडा दशैंको छैठौं दिन : कात्यायनी माताको पूजा गरिदैं
बडा दशैंअन्तर्गत नवरात्रको छैठौं दिन घर–घरमा कात्यायनी माताको पूजा गरिन्छ । यो दिन कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ । यो दिन बिहानैदेखि देशका विभिन्न शक्तिपीठमा भक्तजनको भीड लागेको छ । उपत्यकाको गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती, भद्रकालीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना गरिन्छ । दसैंमा नौ दिनसम्म शक्तिपीठ तथा दशैंघरमा पूजा अर्चना सहित दूर्गा भगवतीको स्तोत्र पाठ गरिन्छ । पहिलो दिन शैल्यपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुस्माण्डा, पाँचौ दिन स्कन्द माता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्री देवीको पूजा गरी दशैंमा शक्ति पूजा गर्ने प्रचलन छ ।

दशैंको सातौ दिन : फुलपाती
हरेक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्र्याईँ मनाइन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्र्याउने गरिन्छ । नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौ देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधि अनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने पनि उहाँले बताउनुभयो । परम्परा अनुसार दुर्गा भवानीको प्रतिमा राखिएको दशै घरमा फुलपातीको शुभसाइतको रुपमा उखु, अदुवा, केराको बोट धानको बाला, बेलपत्र दारीम जयन्ती, ओकको फुल तथा नया पालुवा समेत भित्राईन्छ ।
फुलपातीको दिन अर्थात नवरात्रीको सातौ दिन घरघरमा फुलपाती भित्रयाइदै नवदुर्गा भवानीको स्वरुप मानेर कालरात्री देबीलाई पुजा गरिन्छ । माता कालरात्रिको स्वरूप डरलाग्दो जस्तो देखिन्छ तर यिनी भक्तलाई शुभ फल दिने जनविश्वस रहि आएको छ । घटस्थापनाकेै दिनदेखि दशै शुरु भएपनि फुलपातीको दिनदेखि बिशेष दशैको चहलपहल शुरु हुने गर्दछ । फुलपातीको दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले परिवारजनबाट टाढा रहेकाहरु बिजया दशमीको दिन मान्यजन तथा आफन्तसग आशिर्वाद लिई टिका थाप्न घरतिर जाने गर्छन् ।

दशैंको आठौं दिन : महाअष्टमी
दशैंको आठौं दिन अर्थात महाअष्टमी पर्वमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरी मनाइन्छ । अष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने विश्वास गरिन्छ । आज दसैंघर तथा जमराकोठामा दुर्गाभवानी, महाकाली, महा–सरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गरिन्छ । कलपूर्जा, हातहतियार र सवारी साधन सफासुग्घर गरी बलीसहित पूजा गरिने प्रचलन छ । पशुबली नचढाउनेहरूले जमराकोठामा घिरौंला, कुभिन्डो, मूला आदि बली दिई दुर्गा भवानीलाई खीर तथा नरिवल चढाउने गर्दछन् ।
आजको दिन शास्त्रसम्मत रूपमा दसैंघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बली दिई दुर्गाको विशेष पूजाआजा गरिनाका साथै दुर्गा सप्तशती, श्रीमद्देवीभागवत् र देवी स्तोत्र पाठ गरिन्छ । विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्षप्राप्तिको चाहना गर्ने हुनाले देव मन्दिर र यज्ञयज्ञादिमा विधिपूर्वक बली दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनिमा जन्म लिने शास्त्रमा वर्णन गरिएको छ । यो दिन काठमाडौं उपत्यकाभित्रका शक्तिपीठ गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, संकटा, बज्रबाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाईलगायत मन्दिरमा पनि बलीसहित पूजाआजा गर्नेको बिहानैदेखि भीड लाग्ने गर्छ । यसैगरी उपत्यका बाहिरका नुवाकोटका देवीघाट र भैरवी, गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डडेल्धुराको उग्रतारा, काभ्रेपलाञ्चोकका चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालिञ्चोक भगवतीलगायत शक्तिपीठमा पनि बलिसहित पूजाआराधना गर्ने श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गर्छ । यहि दिन राती पशुबलीको विधि र पूजाआजासहित कालरात्रि मनाउने गरिन्छ ।

दशैंको नवौ दिन : महानवमीः सिद्धिदात्री देवीको पूजा आराधना गर्ने दिन
महानवमी नवरात्रीको अन्तिम दिन हो । हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुपलाई नवरात्रभर हरेक दिन फरक(फरक स्वरुपमा पूजा आराधना गर्ने क्रम आजदेखि समापन हुन्छ । माता दुर्गाको नवौं शक्तिको नाम सिद्धिदात्री हो । आज नवरात्रको नवौं दिन अर्थात महानवमीको दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिन्छ । सिद्धिदात्री सबै प्रकारका सिद्धि र विजयकी प्रतीक हुन् । सबै शास्त्र र विधिअनुसार निष्ठाका साथ सिद्धिदात्री देवीको साधना गर्ने साधकलाई सबै सिद्धि प्राप्त हुने विश्वास गरिन्छ ।
सिद्धिदात्री देवीलाई ब्रम्हाण्डमाथि बिजय प्राप्त गर्ने देवीको स्वरुपका रुपमा लिइन्छ । यस दिन विभिन्न शक्तिपीठमा सिद्धिदात्रीको पूजा हुन्छ । काठमाडौंका भद्रकाली, मैतीदेवी, नक्साल भगतवी, तलेजु भवानी, दक्षिणकाली, संकटा, बज्रयोगिनी, कात्यायानी, शोभा भगवती गुहृयेश्वरी, महांकाल, लगायत शक्तिपीठहरुमा नवरात्र अवधिभर विशेष पूजा आराधना गरि महानवमी मनाइन्छ । नवरात्र सकिएसँगै भोलिपल्ट बिहानैदेखि विजयादशमीको टीका शुरु हुन्छ । प्रत्येक हिन्दु धर्मावलम्बीका घरघरमा परिवारजनहरु आपसमा भेला भएर सहभोज गर्ने र रमाइलो गर्ने प्रचलन छ ।

दशौ दिन अर्थात दशैं
बडादशैंको दशौं दिनलाई दशै भन्ने गरिन्छ । नौ दिन सम्म गरिएको पूजा आरधनाको प्रसाद आर्शिवाद लिने दिनको रुपमा पनि दशैलाइ चिनिन्छ । अश्विन शुक्ल प्रतिपदा देखि दशमीसम्म दश दिन मनाइने भएको हुनाले दशै भनियो । यस दिन भगवान रामचन्द्रले नारदका उपदेश ले नवरात्रव्रत गरि रावण माथि विजय प्राप्त गरेकाले विजयादशमी भनिएको भन्ने पाईन्छ , नौ दिनसम्म गरेको पूजामा कुनै त्रुटि भयो कि भनी त्यसलाई पूरा गर्न राता अक्षताका तीन थुप्रा बनाई मध्यमा अपराजिता देवी दाँया जया देवी र वाँया विजया देवीको यथाशक्ति पूजा र जमराको पूजा गरी अनि भगवती दूर्गा पितृ अन्य देवीदेवता चढाई त्यो टीका प्रसाद आफुभन्द ठुलाको हातवाट थाप्ने चलन रहेको छ । मान्यजनको अशीर्वाद ले कसैले पनि आफु माथि दमन (विजय) गर्न सक्दैन भन्ने धार्मिक विश्वास छ । ेअनि घरका मुलमान्छेले भगवतीको प्रसाद स्वरूप अवीर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशीर्वाद दिन्छन् । अनि सपरिवार नातेदारकहाँ तथा मान्यवरकहाँ नयाँ लुगा लाई टीका लगाउन जान्छन् । रमाईलो गर्दै पिङ खेल्ने परम्परा रहेको छ,
टीका लगाउँदा आशिष दिने मन्त्रको पनि यस्तो छ –
आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योेधने।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।
द्रोणपुत्र अस्वत्थामाको जस्तो दीर्घायु, दशरथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होस, भगवान् रामको जस्तो शत्रु नाश हुन, नहुष राजाको जस्तो ऐश्वर्य, पवनसुत हनुमानको जस्तो गतिशीलता,दुर्योधनको जस्तो मान, सूर्यपुत्र कर्णको जस्तो दानवीरता, हलधर बलरामको जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति तपाईंलाई प्राप्त होस् भनी मान्यजनबाट आशीर्वचन लिइन्छ । मानिसको मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रमी पुरुषार्थी भावको विकासका टीका ले गर्ने हुन्छ ।
यो वर्षको टीका साइत
काठमाडौं । यस वर्ष दसैंको टीका साइत बिहान १० बजेर ३५ मिनेट जुरेको छ । पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको साइतअनुसार विजयादशमीका दिन बिहान १० बजेर ३५ मिनेट टीका ग्रहणका लागि उत्तम समय हो । विजयादशमी असोज २१ गते मंगलबार परेको छ । असोज २१ गते मंगलबार विजयादशमीका दिन बिहान ८ः४५ बजे देवी विसर्जन गरेपछि १०ः३५ को शुभ साइतमा मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र पूmल प्रसाद ग्रहण गरिनेछ ।

रातभर जाग्राम बसेर मनाइने ‘कोजाग्रत पूर्णिमा’
आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधना गरी रातभर जाग्राम बसेर मनाइन्छ । आश्विन शुक्ल प्रतिपदाका दिनबाट शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ । यो दिन सायंकालमा महालक्ष्मीको पूजा आरधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन शुरु गरिएकोे धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।
माता दुर्गाका तीन वटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आरधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ । ‘कोजाग्रत पूर्णिमामा सबै बलि पूरा गर्ने दिन अर्थात् अखिल बलि पूर्ति गरेपछि दशैँ समाप्त हुन्छ, दशमीको पाँचौँ दिन सबै बलि पूर्ति गर्नुपर्ने शास्त्रीय विधान छ’– गौतमले भने । महालक्ष्मीसँगै यो दिनहात्तीमा चढेका इन्द्रको पनि पूजा गर्नुपर्छ । यसैगरी सौभाग्य, सम्पत्ति, श्रेय प्राप्तिका लागि आजैदेखि आकाशदीप दान पनि शुरु हुन्छ । आकाशदीप दान पाएसम्म बाँस, नपाएमा पलाँस, खएर, पीपल आदिको लिङ्गो ठड्याइ गरिन्छ । आकाशदीप दान भगवान् विष्णुलाई समर्पण गरी बाल्ने गरिन्छ । आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म कात्तिक स्नान गरी घरघरमा विशेषरुपमा गरिने तुलसी पूजा पनि आजदेखि नै शुरु हुन्छ । आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक स्नान गरेर महापातकबाट पनि मुक्त भइने विश्वास छ । कात्तिक स्नान गर्नेले आजदेखि कात्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ । कोजाग्रत पूर्णिमाका अवसरमा स्वयम्भू चैत्यमा महादीप दानसमेत गर्ने गरिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार