मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

अभिभावकत्व लिइएका विद्यार्थीलाई प्रधानमन्त्रीको दशैँ खर्च

बुधबार, असोज १५ २०७६

काठमाडौँ(जस)–डेढ वर्षअघि भर्ना अभियानमा अभिभावकत्व लिइएका विद्यार्थीबारे चासो दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई दशैँ खर्च पठाएका छन् । सिरहाको कल्याणपुर नगरपालिका–११ स्थित रामदुलारी मावि र मुगुका दुई विद्यालयमा भर्ना गरी अभिभावकत्व लिइएका ती विद्यार्थीलाई प्रधानमन्त्री ओलीले नेपालीहरुको महान् चाड दशैँका अवसरमा प्रगतिको कामनासहित जनही रु पाँच हजार खर्च पठाउनुभएको हो । ती सबै विद्यार्थी अहिले कक्षा २ मा अध्ययनरत छन् । उक्त खर्च निजी सचिवालयलमार्फत सोमबार सम्बन्धित विद्यालयको प्रधानाध्यापक र विद्यार्थीका अभिभावकको समन्वयमा बैंकमा जम्मा गराइएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले राससलाई जानकारी दिए । प्रधानमन्त्रीले देशका सबै बालबालिकाको उज्ज्वल भविष्यको कामना गर्दै उचित शिक्षाको प्रबन्धका लागि नीतिगत सुधारको पहल गर्दै आउनुभएको र थप सकारात्मक सन्देश प्रवाहका लागि ती विद्यार्थीलाई प्रतिनिधिका रूपमा सहयोग गरेको उनको सचिवालयले जनाएको छ । यसअघि ती विद्यार्थीलाई गत पुस र साउनमा पनि आर्थिक सहयोग र स्टेशनरी पठाइएको थियो ।
दुई वर्षभित्र मुलुकबाट निरक्षरता हटाउने घोषणासहित शुरु भएको भर्ना अभियानअन्तर्गत प्रधानमन्त्री ओली र उनकी धर्मपत्नी राधिका शाक्यले २०७५ वैशाख १ गते कर्णाली प्रदेशको मुगु र वैशाख ६ गते प्रदेश नं २ को सिरहामा कक्षा १ मा ती विद्यार्थी भर्ना गराई अभिभावकत्व ग्रहण गरेका थिए । सो दिन मुगुमा रारा पर्यटन महोत्सवको उद्घाटन, नयाँ वर्षमा देशवासीका नाममा सम्बोधन र विद्यार्थी भर्ना अभियानको थालनी भएको थियो । प्रधानमन्त्रीसहित अन्य राष्ट्रिय नेता र मन्त्रीहरुले विभिन्न जिल्लामा वैशाखको पहिलो साता विद्यार्थी भर्ना गराएका थिए । अभिभावकत्व लिइएका विद्यार्थीको पढाइ बिग्रिएको र नेताहरुले चासो नदिएको भन्ने समाचारसमेत प्रकाशन भएपछि ती नेताका सचिवालयले थप चासो दिन थालेको हो । प्रधानमन्त्री ओलीले मुगुको कार्मारोङ गाउँपालिका–८ का छिजु तामाङ र कार्मा टोन्डु लामाका छ वर्षीया छोरी थिल्ने साङ तामाङलाई बुद्ध मावि विद्यालय भर्ना तथा पाठ्यपुस्तक वितरणको शुभारम्भ गर्नुुभएको थियो । प्रधानमन्त्रीपत्नी शाक्यले सोही विद्यालयमा छेरिङ छोन्तोम लामालाई भर्ना गराएका थिए ।
विसं २०७५ असोज १० गते पनि प्रधानमन्त्री ओलीका तर्फबाट सचिवालयका प्रतिनिधि तथा उनका प्रेस संयोजक चेतन अधिकारीले सिरहाको उक्त विद्यालयमा पुगी ती विद्यार्थीलाई सहयोग गरी उनीहरुको पढाइ र अन्य स्थिति बुझेका थिए । संयोजक अधिकारीले कल्याणपुरका दुई विद्यार्थीको पढाइ र पारिवारिक अवस्था बुझी प्रधानाध्यापक लालदेव शाहमार्फत स्टेनशरी र पोसाक खर्च प्रदान गरेका थिए । सचिवालयका तर्फबाट त्यसअघि मुगुमा भर्ना गरिएको विद्यार्थीबारे चासो दिई सहयोग गरिएको थियो । रामदुलारी माविमा भर्ना भएका पाँच वर्षीय पवन मल्लिक र छ वर्षीया रुपा खत्वेका बुबाआमा डोको र डालो बुन्ने काम गर्छन् । सोही विद्यालयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले भर्ना गराएका विद्यार्थी राहुल महरा पनि अध्ययनरत छन् । सो विद्यालयका प्रधानाध्यापक शाहले प्रधानमन्त्रीको सचिवालयले समयसमयमा रकम र स्टेशनरी पठाइरहेको र दशैँ खर्चसमेत पठाएको बताए ।
हाल विद्यालय जाने उमेरका विद्यार्थीको भर्नादर ९७ दशमलव ६ प्रतिशत छ । सरकारले घोषणा हुन बाँकी २० जिल्ला पूर्ण साक्षर गराउने तयारी गरेको छ । ‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचमा सुनिश्चितता र सिकाइमा स्थायित्व’ भन्ने नाराका साथ सो वर्ष सञ्चालित पहिलो चरणको भर्ना अभियानमा विद्यालयबाहिर रहेका कक्षा १ देखि ५ (५ देखि ९ वर्ष उमेर समूहका) अठासी हजार २०७ मध्ये छयहत्तर हजार ६५७ विद्यार्थी भर्ना भएका थिए । सरकारले पहिलो चरणको विद्यार्थी भर्ना अभियानको सफलतापछि विद्यार्थीलाई टिकाइराख्न र बाँकी विद्यार्थीलाई विद्यालयमा ल्याउन अभियान सञ्चालन जारी राखेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार