दुबईमा दुर्घटनामा परि ६ नेपालीको मृत्यु

दुबई (जस)–दुबईमा भएको सडक दुर्घटनामा ६ जना नेपाली नागरिकसहित ८ जनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् । सोमबार बिहान शेख मोहम्मद बीन जाइद रोडमा दुर्घटना भएको दुबई प्रहरीले जानकारी दिएको छ । शारजाह पुग्नुअघि मिरदिफ सहरमा दुर्घटना भएको हो । दुर्घटनामा परी ६ जना नेपाली नागरिकको मृत्यु भएको प्रहरीले उल्लेख गरेको छ । मृत्यु हुनेमा रमेश चौधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पोख्रेल, दिपक विक र नयराम साउद रहेको जनाइएको छ । दुर्घटनामा बस चालकको पनि मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकामध्ये दुई जना गम्भीर रहेको दुबई प्रहरीले बताएको छ । अन्य चार घाइते सामान्य छन् । घाइतेको उपचार राशिद अस्पतालमा भइरहेको दुबई प्रहरीले बताएको छ ।