काठमाडौं(एजेन्सी)–च्याम्पियन्स लिग अन्तर्गत समुह इ अन्तर्गत समुह चरणको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन लिभरपुल इटालियन क्लब नापोलीसँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा नापोलीले लिभरपुललाई २–० गोल अन्तरले पराजित गरेको हो । नापोलीको जितमा ड्राइज मेरटेन्स र फेर्नान्डो लिओरेन्टेले एक एक गोल गरेका थिए । अत्यन्तै प्रतिपर्धात्मक खेलमा नापोलीले दुवै गोल अन्तिम १० मिनेटमा गरेको थियो ।
मेरटेन्सले खेलको ८२औ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए भने लिओरेन्टेले अतिरिक्त समयमा गोल गर्दै नापोलीको अग्रता दोब्बर पारेका थिए । नापोलीले गत सिजनमा समेत समुह चरणको खेलमा लिभरपुलमाथि १–० को जित हासिल गरेकोमा इतिहास दोहोरिदै यस सिजनमा समेत लिभरपुललाई पराजित गरेको छ । नापोलीका कोच कार्लो एन्सेलोट्टीले लिभरपुलका कोच जेर्गन क्लोपलाई व्यंग गर्दै आज हारेपछि तिमीले नै च्याम्पियन्स लिग जिच्छौ भन्दै खेलपछि जिस्काएका थिए । यसै समुहमा रहेको स्लजबर्गले जेन्कलाई ६–२ फराकिलो गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण ३ अंक बटुलेको छ ।
बार्सिलोनालाई बराबर
च्याम्पियन्स लिग अन्तर्गत समुह एफको खेलमा बार्सिलोना र डोर्टमण्ड गोल रहित बराबरी खेलेका छन् । बार्सिलोनाका गोल किपर टेर स्टेगेनले पेनाल्टी बचाउ गर्दै बार्सिलोनालाई हारबाट बचाएका छन् । गएराती सम्पन्न खेलमा स्टेगेनले खेलको ५७औ मिनेटमा डोर्टमण्डका मार्को रेअसको पेनाल्टी बचाएका थिए । यो सँगै स्टेगेनले अहिलेसम्म च्याम्पियन्स लिगमा फेस गरेका ६ मध्ये ४ पेनाल्टी बचाएका छन् । काल्पÞm इन्जुरीबाट खेलमा फर्किएका लियोनेल मेसी दोस्रो हाफमा मैदानमा प्रवेश गरे पनि उनले बार्सिलोनालाई जितका लागि प्रेरित गर्न भने सकेनन् । मेसी खेलको ५९औ मिनेटमा युवा खेलाडी अंशुमन फातिलाई रिप्लेस गर्दै मैदानमा प्रवेश गरेका थिए । फातिले यस खेलमा खेल्दै बार्सिलोनाबाट च्याम्पियन्स लिग खेल्ने अहिलेसम्म कै युवा खेलाडी बनेका छन् । मेसीको यो सिजनमा पहिलो पटक मैदानमा उत्रिएपनि बार्सिलोनाले जित हासिल भने गर्न सकेन ।
बार्सिलोनाका लागि चिन्ताको विषय एन्टोनी ग्रीजम्यानको फर्म रहेको छ । मेसी भर्खरै इन्जुरीबाट निकिस्दै गरेको तथा स्वरेज पनि भर्खरै इन्जुरी ठिक भएर आएको अवस्थामा ग्रीजम्यानको महत्वपूर्ण भूमिका रहेको भएपनि उनले आफ्नो प्रभाव देखाएर खेल जिताउन असफल भएका छन् । यस खेलमा उनी प्रायस् प्रभावहिन देखिए । उनले केवल एक अवसर मात्र बनाउन सके जो असफल भयो । यसै गरि समुह एफ कै अर्को खेलमा इन्टर मिलान र स्लाभिया प्राहको कहल १–१ गोलको बराबरीमा सकिएको छ । दुवैले १–१ अंक हासिल गरेपछि यस समुहका चारै टिमले १–१ अंक हासिल गरेका छन् । तुलनात्मक रुपमा यस समुहलाई यस सिजनको कठिन समुह मानिएकोमा पहिलो खेलमै चारै टिमले १–१ अंक हासिल गर्दै यसको संकेत समेत दिएका छन् ।
चेल्सीमाथि भलेन्सियाको जित
च्याम्पियन्स लिग अन्तर्गत समुह एचको समुह चरणको खेलमा प्रिमियर लिग क्लब चेल्सी स्पेनिस क्लब भलेन्सियासँग पराजित भएको छ । भलेन्सियाले चेल्सीलाई १–० गोल अन्तरले पराजित गरेको छ । भलेन्सियाको जितमा रोड्रीगोले खेलको एक मात्र गोल गरेका थिए । चेल्सीले खेलको ८७औ मिनेटमा गोल बराबरी गर्ने अवसर पाएको भए पनि सो अवसरलाई सदुपयोग गर्न असफल भएको थियो । ८७औ मिनेटमा चेल्सीका रोज बार्कलीले पेनाल्टी मिस गरेपछि चेल्सी बराबरी गर्ने अवसरबाट चुकेको थियो ।
त्यस्तै भलेन्सियाले पनि ला लिगाको पछिल्लो खेलमा बार्सिलोनासँग ५–२ को लज्जास्पद हार बेहोरेको अवस्थाबाट सम्हालिदै यस खेलमा जित हासिल गरेर महत्वपूर्ण ३ अंक हासिल गरेको छ । यस खेलमा चेल्सीका प्ले मेकर युवा खेलाडी मासन माउन्ट घाइते हुदा खेलको १६औ मिनेटमा बाहिरिएका थिए । आगामी आइतबार प्रिमियर लिग अन्तर्गत लिभरपुलसँग हुने ठुलो खेल अगाडी माउन्टको इन्जुरीले चेल्सीको समस्या बढेको छ । यसै समुहको अर्को खेलमा अयाक्सले विजयी सुरुवात गरेको छ । अयाक्सले लिल्लेमाथि ३–० को जित हासिल गर्दै महत्वपूर्ण ३ अंक बटुलेको छ ।