प्रदेश ४ ले वैदेशिक रोजगारीलाई घटाउने

चिप्लेढुङ्गा(जस)–गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले प्रदेशमा नै रोजगारको वातावरण सृजना गरेर वैदेशिक रोजगारीलाई कम गरिने बताएका छन् । समता फाउन्डेशनले मंगलबार पोखरामा आयोजना गरेको ‘वैदेशिक रोजगारीमा समस्या र प्रदेश सरकारको भूमिका’ विषयको अन्तरक्रियामा मन्त्री थापाले गरीबी र बेरोजगारी समस्या मुख्य चुनौती रहेको भन्दै यसको व्यवस्थापन लागि गण्डकी प्रदेश सरकारले नीति बनाउँदै गएको बताए । मन्त्री थापाले प्रतिव्यक्ति आम्दानी २१ हजार मासिक पु¥याएर करीब पाँच लाखलाई रोजगार प्रदान गर्न सकिए वैदेशिक रोजगारमा युवा पलायन हुने अवस्था नआउने बताए । उनले भने, “गण्डकी प्रदेशमा बन्न लागेको विश्वविद्यालयमार्फत सीपयुक्त शिक्षामा जोड दिएर दक्ष जनशक्ति उत्पादन गर्न सके विदेश जान प्रणाली निषेध गर्न नसके पनि नियन्त्रण गर्न सकिन्छ ।”
जिल्ला प्रहरी कार्यालयका कास्कीका प्रमुख दानबहादुर कार्कीले स्वदेशमा श्रमप्रतिको सम्मान नहुँदा साथै स्वरोजगार हुने शिक्षा नहुँदा युवा विदेशी भूमि जान बाध्य भएको बताए । पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले देशमा आर्थिक रुपमा आत्मनिर्भर बनाउन सक्ने कुराको खोजी गरेर श्रमशक्तिलाई उपयोग गर्न सके वैदेशिक रोजागारीमा पलायन हुने अवस्था कम हुने बताए । नेपाल बार एसोसिएशनका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र थापा मगरले कृषिमा आधुनिकीरण गरेर युवालाई उत्साहित बनाउनुपर्ने धारणा राख्नुभयो । सुरक्षित आप्रवासन परियोजना (सामी) संयोजक माया गुरुङले वैदेशिक रोजगारमा जानेहरुका लागि सजिलै ऋण दिने तर स्वदेशमा व्यापार–व्यवसाय गर्नेका लागि नदिने परिपाटीले पनि वैदेशिक रोजगारमा जाने सङ्ख्या बढेको बताए ।
इन्सेक गण्डकीका प्रमुख शिव खकुरेल, एशिया फोरमका अध्यक्ष निरज थापा लगायतका कार्यक्रममा सहभागीहरुले वैदेशिक रोजगारले निम्त्याएको पारिवारिक विखण्डन, श्रमअनुसारको ज्याला नपाइने, सम्झौताअनुसारको काम नहुनु, सीप र भाषाको अभवाले भोग्नु परेका, स्वदेशमा काम गर्ने युवालाई सरकारले बेवास्ता गर्नु, लगानीको सुरक्षा नहुने जस्ता समस्याका बारेमा धारणा राखेका थिए । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा तीन लाख ५४ हजार ८२ जनाले वैदेशिक रोजगारीमा जना स्वीकृति लिएको देखिन्छ । गण्डकी प्रदेशबाट वैदेशिक रोजगारमा जानेको सङ्ख्या १३ प्रतिशत रहेको समता फाउण्डेशनका अध्यक्ष प्रदीप परियारले जानकारी दिए ।
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा सात खर्ब ५५ अर्ब ८६ लाख रेमिट्यान्स मुलुकमा भित्रिएको थियो । यो आर्थिक वर्षको कूल ग्रार्हस्थ्य उत्पादनको २५ दशमलव १० प्रतिशत हिस्सा ओगटेको र वैदेशिक रोजगारले नेपालमा गरीबी घटेको निष्कर्ष निकालेको थियो । पछिल्लो ६ महीनामा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका ४१३ रहेका छन् । अर्थमन्त्रालयका अनुसार वैदेशिक रोजगारीमा रहेकामध्ये ७४ प्रतिशत अदक्ष, २५ प्रतिशत अर्धदक्ष र एक प्रतिशत दक्ष कामदार रहेको फाउन्डेशनका अनुसन्धानदाता गोपाल नेपालीले बताए ।