काठमाडौं(एजेन्सी)– इङ्लिस प्रियिमर लिग फुटबलको बलियो टोली आर्सनल वाटफोर्टसँग बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा सुरुवाती दुई गोल गरेपनि अग्रता जोगाउन नसक्दा आर्सनल वाटफोर्डसँग २–२ गोलको बराबरीमा रोकिएको हो । आर्सनलका लागि दुवै गोल पिर्रे इमरिक ओउवामियाङले गोल गरेका थिए । घरेलु टोली वाटफोर्डका लागि टोम क्लेभरर्ली र रोवर्टाे पेरेराले एक एक गोल गरे । २१औं मिनेटमा ओउवामियाङले सिड कोलासिनाकको पासमा गोलगर्दै आर्सनलको खाता खोले । ३२औं मिनेटमा ओउवामियाङले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए ।
आर्सनलले दोस्रो हाफमा अग्रता जोगाउन सकेन । दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको वाटफोर्डका लागि ५३औं मिनेटमा टोमले पहिलो गोल फर्काए । ८१औं मिनेटमा रोवर्टाेले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । डेभिड लुइजले पेरेरालाई फल हानेपछि वाटफोर्डले पेनाल्टी पाएको थियो । बराबरीसँगै पाँच खेलबाट आठ अंक बनाएको आर्सनल सातौँ स्थानमा छ । दुई अंक बनाएको वाटफोर्ड तालिकाको पुच्छारमा छ ।
अर्को खेलमा बर्नमाउथले एभर्टनलाई ३–१ गेलले हरायो । बर्नमाउथको जितमा कलुम विल्सनले २३औं र ७२औं मिनेटमा दुई गोल गरे । रायन फ्रासरले ६७औं मिनेटमा गोल गरेका थिए । एभर्टनका डोमिनिक कलभर्टले ४४औं मिनेटमा एक गोल गरेका थिए । जितसँगै सात अंक बनाएको बर्नमाउथ आठौं स्थानमा छ । एभर्टन सात अंकसहित ११औं स्थानमा छ ।