आलोक यादव
सिराहा भदौ ३० –सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर .८ स्थित एक होटलमा तास खेलिरहेको अवस्थाबाट प्रहरीले सवा दुई लाख रुपैयाँभन्दा बढी रकमसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुखीपुर ना.पा.८ का ४० वर्षीय रञ्जित साह, ४२ वर्षीय नागेश्वर चौधरी, ५५ वर्षीय रामजित साह, ४० वर्षीय रामकिशसन महतो र ४० वर्षीय रामविलास मुखिया रहेका छन् ।


जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख एसपी उमा प्रसाद चतुर्बेदीका अनुसार आइतबार राति करिब १० बजेतिर सुखीपुर नगरपालिका वडा नम्बर.८ स्थित विवेक सप्लायर्स कोल्ड स्टोर्स एण्ड होटलबाट पाँच जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सिराहा र ईलाका प्रहरी कार्यालय सुखीपुरबाट खटिएको संयुक्त गस्ती टोलीले नगद दुई लाख २१ हजार चार सय ४५ रुपैयाँ, तीन बुक ताससहित पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । पक्राउ परेकामाथि थप अनुसन्धान थालिएको उनले बताए ।