बाँके घटनाको विरोधमा काठमाडौँको माइतिघर मण्डलामा काँग्रेसको प्रदर्शन

काठमाडौँ(जस)–गृहमन्त्री रामबहादुर थापाले नेपाली काङ्ग्रेसले शुरु गरेको दोस्रो चरणको जागरण अभियानअन्र्तगत बाँकेको सीतापुरमा भएको घटनाका दोषीलाई कारवाही गर्ने बताएका छन् । नेपाली काङ्ग्रेस काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्लाका सभापतिले शनिबार बिहान सिंहदरबारमा दिएको ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले घटनाका दोषीलाई कारवाही प्रक्रिया अगाडि बढाउने बताएका हुन् । “हुन नहुने घटना भएको छ, घटनाका दोषीलाई कारवाही गर्न सरकार गम्भीर छ”, उनले भने । गृहमन्त्री थापाले घटनामा दोषी देखिएका जो कोहीलाई पनि कानूनी कारवाही हुने बताए । घटनामा दोषी देखिएका केही व्यक्तिलाई नियन्त्रणमा लिइसकेको र बाँकीलाई पनि चाँडो नियन्त्रणमा लिएर कारवाही गर्ने उनको भनाई थियो ।
काङ्ग्रेस काठमाडौँका सभापति सबुज बानियाँले काङ्ग्रेसको जागरण अभियान सञ्चालनका क्रममा कार्यक्रम चलिरहेको बेलामा पार्टी जिल्ला सभापतिसहितलाई हातपात गर्नु निन्दनीय कार्य भएको बताए । काङ्ग्रेस ललितपुरका सभापति मदन अमात्यले नेपाली काङ्ग्रेसको कार्यक्रम बिथोल्ने मनसायका साथ उक्त घटना घटाइएको भन्दै घटनाको दोषीलाई तत्काल कारवाही गर्नुपर्ने बताए । यति ठूलो घटना हुँदा पनि गृह प्रशासन संवेदनशील नभएको उनको आरोप थियो । काङ्ग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले काङ्ग्रेसले सञ्चालन गरेको जागरण अभियानबाट आत्तिएर सत्तापक्षको प्रत्यक्ष निर्देशनमा उक्त घटना घटाइएको आरोप लगाए ।
काङ्ग्रेसले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आग्रह गर्दै दोषीलाई नियन्त्रणमा लिएर कारवाही नगरे सडक र सदनमा कडा प्रतिवाद गर्ने जनाएको छ । उक्त घटनामा परी काङ्ग्रेस बाँके सभापति किरण कोइराला, महाधिवेशन प्रतिनिधि विद्याप्रसाद खनाललगायत एक दर्जन नेता तथा कार्यकर्ता घाइते भएका थिए ।
घटनाको विरोधमा काँग्रेसको माइतीघरमा प्रदर्शन
काठमाडौँ । राष्ट्रिय जागरण अभियानमा रहेको नेपाली काँग्रेसले शनिबार काठमाडौँको माइतिघर मण्डलामा प्रदर्शनमा उत्रिएको छ । काँग्रेसले पार्टीका बाँके जिल्ला सभापति किरण कोइरालासहितका एक दर्जनबढि नेता, कार्यकर्तामाथि सांघातिक हमला गर्नेमाथि कडा कार्वाही गर्न सरकारसँग माग गर्दै काठमाडौंमा प्रर्दशन गरेको हो । नेपाली काँग्रेस, जिल्ला कार्य समिति काठमाडौंको आह्वानमा पार्टीका बाँके जिल्ला सभापतिमाथि सत्तारुढ नेकपाकै संलग्नतामा सांघातिक आक्रमण गरेको दावी गर्दै दोषीलाई पक्राउ गरी कडा कार्वाही गर्न माग गर्दै शनिबार दिउँसो काठमाडौंको माईतीघर मण्डलामा विरोध प्रर्दशन गरिएको हो ।
विगतमा हत्या, हिंसा र आतंकका संलग्न रहेका सत्तारुढ नेकपाका नेता, कार्यकर्ताले बाँकेको सितापुरमा कार्यक्रममा सहभागी भएका पार्टीका बाँके सभापति कोइरालासहित १ दर्जन बढिलाई आक्रमण गरी घाइते बनाएपछि त्यसको विरोधमा काठमाडौंसहित देशभर शान्तिपूर्ण विरोध प्रर्दशन गर्नु परेको नेपाली काँग्रेस, काठमाडौंका सभापति सबुज बानियाले जानकारी दिए । उनले सो घटनामा संलग्न कार्यकर्तालाई सरकारले कार्वाही नगरे आफूहरुले पानीमुनि पुगे पनि नछाडने चेतावनी दिएका छन् । करिव १५ मिनेट शान्तिपूर्ण धर्नामा रहेका काँगे्रेस नेता, कार्यकर्ताहरुले ‘प्रधानमन्त्री ज्यू, यहाँको राज्यमा को सुरक्षित छ ?’ भनि प्रश्न गरिएको प्ले कार्ड पनि प्रर्दशन गरेका थिए । उनीहरुले नागरिकलाई शान्ति सुरक्षा दिन पूर्णत असफल भएको दावी गर्दै सरकारको विरुद्ध चर्का नाराबाजी गरेका थिए ।
गत बुधबार बाँकेको सितापुरमा पार्टीका राष्ट्रिय जागरण अभियानको कार्यक्रममा सहभागी भएका नेपाली काँग्रेस बाँके जिल्ला सभापति कोइराला, महाधिवेशन प्रतिनिधि विद्याप्रसाद खनालसहित एक दर्जन बढि नेता, कार्यकर्ता घाईते भएका थिए । सो घटनामा सत्तारुढ दलकै संलग्नता रहेको दावी गर्दै नेपाली काँग्रेसले दोषीमाथि कडा कार्वाही गर्न सरकारसँग माग गर्दै देशभर विरोध प्रर्दशन सुरु गरेको हो ।