आज इन्द्रजात्रा, अनन्त चतुर्दशी

काठमाडौं(जस)–वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी बिहिबार परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाबिहिबारा गरी आठ दिनसम्म मनाउने प्रचलन छ । भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ । इन्द्रजात्राको अवसरमा सरकारले बिहिबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
यसअघि तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेको नालास्थित जङ्गलमा छोडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन काटिन्छ । काटेपछि लिङ्गोलाई उपत्यका भित्र्याउन पनि साइत हेरिन्छ । उपत्यका भित्र्याएपछि एक रात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ । बिहिबारको दिन मुख्यरूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा नजर गर्ने परम्परा छ । इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि शुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।
इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौँथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने विधान रहेको छ । यस उपलक्ष्यमा बिहिबार उपत्यकाको पश्चिममा पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भाद्र शुक्ल पूर्णिमाका दिन स्नान गरेर मेला भर्न भक्तजनको घुइँचो लाग्छ । भाद्र शुक्ल चतुर्दशीका दिन अनन्तनाथ (भगवान् विष्णु) को पूजा आराधना पनि गरिन्छ । यसैले यस दिनलाई अनन्त चतुर्दशी पनि भनिन्छ । बिहिबार चोखो धागोमा अनन्त मन्त्रण गरी बाँध्नाले वर्षभर शुभ हुन्छ भन्ने विश्वास छ । चतुर्दशीमा इन्द्रजात्रा मनाएपछि पूर्णिमामा इन्द्रदहमा गई स्नान गर्नुपर्ने धार्मिक विधि छ ।

पर्वलाई पर्यटनसँग जोडौँ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सांस्कृतिक पर्वलाई पर्यटनसँग जोड्नुपर्ने बताएका छन् । इन्द्रजात्राको अवसरमा बिहिबार शुभकामना सन्देश दिँदै उनले नेपाल यति बेला आर्थिक, सामाजिक रुपान्तरण गर्दै समृद्ध नेपाल निर्माण गर्ने अभियानमा रहेको बताएका छन् । “समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हाम्रा सांस्कृतिक महत्वका पर्वहरुलाई पर्यटन प्रवद्र्धनसँग जोड्नु आवश्यक छ”, प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ, “प्राचीन महत्वका मौलिक विशेषता भएका यस्ता पर्वहरु बाह्य पर्यटकलाई आकर्षण गर्ने कडी बन्न सक्छन् । त्यस पक्षलाई पनि आत्मसात् गर्दै अघि बढ्न म सबैमा आग्रह गर्दछु ।” उनले नेपाल बहुभाषा, बहुधर्म र बहुसंस्कृतिको देश भएको उल्लेख गरेका छन् ।
“एक अर्काको समुदायका संस्कृतिलाई हामीले साझा सामाजिक–सांस्कृतिक निधि मान्दै आएका छौँ । यही सांस्कृतिक विशेषताका कारण हामी सम्पूर्ण नेपाली एकताको सूत्रमा बाँधिएका छौँ”, उनले सन्देशमा भन्नुभएको छ, “हाम्रो सांस्कृतिक विविधतालाई विभेदका रुपमा अथ्याई नेपालीबीचको एकता धुमिल्याउने प्रयास भए, तर हामीले त्यस्ता दुष्प्रयासलाई परास्त गरिसकेका छौँ ।”
“इन्द्रजात्राका बारेमा वाल्मिकी रामायण, महाभारत, हरिवङ्शपुराण, कालिकापुराण, विष्णु धर्माेत्तर पुराण, बृहत् संहिता, भविष्य पुराण र संस्कृत भाषाका महाकवि कालिदासको रघुवंशमा पनि उल्लेख हुनुले यसको पौराणिकता पुष्टि हुन्छ”, उनले सन्देशमा भन्नुभएको छ, “पौराणिक कालदेखि निरन्तर कायम रहँदै आएका यस्ता सांस्कृतिक पर्वको जगेर्ना हुनुुलाई हामीले नेपालको सांस्कृतिक सवलताका रुपमा लिनुपर्छ ।”