थाइल्यान्डमा बस्दै आएका नेपाली मूलका महिलाहरूले भव्य रूपमा मनाए यस वर्षको हरितालिका तीज (फोटोफिचर)

बैंकक/ थाइल्यान्डमा बस्दै आएका नेपाली मूलका महिलाहरूले यस वर्षको हरितालिका तीज भव्य रूपमा मनाएका छन्। डायस्पोराका नेपालीहरूमा नेपाली भाषा संस्कृतिको संरक्षणमा विशेष भूमिका निर्वाह गर्दै आएका थाई नेपालीहरूले नेपाली गीत, संगीत र संस्कृति देखाउने विभिन्न कार्यक्रम गरी यस वर्षको तीज पर्व विशेष रूपमा मनाएका हुन्।

थाइल्यान्डको राजधानी बैंककमा थाई नेपाली संघ महिला विभागको आयोजनामा भएको तीज कार्यक्रममा सयौं महिला सहभागी भएका थिए।

कार्यक्रममा बैंककभित्र रहेका थाई नेपाली संघका विभिन्न उपशाखाका महिलाले संस्थागत रुपमा नेपाली धर्म,संस्कृति र परम्परा झल्काउने झाँकी र गीत नृत्य प्रस्तुत गरेका थिए।

थाइल्यान्डका नेपालीभाषी मध्ये ९० प्रतिशतभन्दा बढीले कहिल्यै नेपाल नदेखेको बताइने गरेको छ। तैपनि नेपाली गीत संगीतको पर्वको रुपमा थाइल्यान्डका विभिन्न शहरहरुमा तीज र अरु विभिन्न चाडपर्व र उत्सवहरु मनाईदै आएको छ।

यहाँ बस्ने नेपालीभाषीले नेपाली भाषा र नेपाली संस्कृतिलाई परम्पराकै रूपमा स्वीकार गर्दे आएका छन्। घरहरुमा नेपाली भाषाको चलन चलाउने र नेपाली गीत तथा संगीतको प्रयोगमा उनीहरुले विशेष ध्यान दिंदै आएका छन्।

थाई नेपाली संघ महिला विभागको आयोजना भएको तीज पर्व यसको एउटा उदाहरण मात्र भएको सो विभागले जनाएको छ।

मौलिक भाषा, रीतिरिवाज र संस्कृतिप्रति प्रेमका रूपमा नेपालीभाषी थाईले तीज र अन्य पर्वहरूलाई विशेष रुपबाट मनाउने गरेको कुरा थाई नेपाली संघका अध्यक्ष कुमार कार्की बताए।

प्रतिवर्षझैं यस वर्ष पनि बैंकक र थाइल्यान्डका विभिन्न शहरमा थाई नेपाली संघ, महिला विभागको आयोजनामा भएको तीजका समारोहमा करिब १० हजार महिलाहरुको सहभागिता रहेको कार्कीले जानकारी दिए।

थाई नेपाली संघ महिला विभागले गर्दै आएको यो कार्यक्रम नेपाली समाजलाई एकठाउँमा जुटाउने कार्यमा पनि महत्वपूर्ण भएको उनले बताए।