काठमाडौं(एजेन्सी)–युरोकप २०२० का लागि छनोट अन्तर्गत शनिबार भएका खेलहरुमा इंग्ल्याण्ड, युक्रेन र आइसल्याण्डले सहज जित निकालेका छन् । इंग्ल्याण्डले बुल्गेरिया, युक्रेनले लिथुवानिया र आइसल्यान्डले माल्दोभाविरुद्ध जित निकालेको हो । समूह ए अनतर्गत घरेलु मैदान वेम्वली रंगशालामा कमजोर बुल्गेरियामाथि एकछत्र हावी भएको इंग्ल्याण्डले चार शून्य गोलअन्तरको जित निकाल्दा उसका मुख्य स्ट्राइकर ह्यारी केनले ह्याट्रिक पूरा गरे । २४ औं मिनेटमा रहिम स्टर्लिङको पास सदुपयोग गरी पहिलो गोल गरेका केनले दोस्रो हाफको चौथो मिनेटमै पेनाल्टीमार्फत अर्को गोल थपे ।
५५ औं मिनेटमा स्टर्लिङले टिमका लागि तेस्रो गोल गर्दा केनले पास उपलब्ध गराएका थिए । ७३ औं मिनेटमा इंग्ल्यान्डले अर्को पेनाल्टी पायो । यसमा पनि केनले गोल गरे र ह्याट्रिक पूरा गरे । जितसँगै इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा पुगेको छ । तीन खेलबाट उसले शतप्रतिशत जितसहित ९ अंक हासिल गरेको छ । यस समूहमा कोसोभोको ८ अंक छ । लिथुवानियामाथि ३–० को जित हासिल गरेपछि युक्रेनले समूह बीको शीर्ष स्थानमा ९ अंकको स्पष्ट अग्रता कायम गरेको छ ।५ खेलबाट उसको १३ अंक भएको छ भने ४ खेल खेलेको लक्जेम्वर्ग ४ अंकसहित दोस्रो स्थानमा छ । लिथुवानियाको घरेलु मैदानमा युक्रेनका अलेक्सान्दर जिन्चेन्कोले सातौं मिनेटमा गोल गरी अग्रता बनाएका थिए । २७औं मिनेटमा मार्लोसले गोल गरेपछि पहिलो हाफमा युक्रेनले २–०को अग्रता बनायो । ६१ औं मिनेटमा रुस्लान मालिनोभ्स्कीले गोल गरेपछि युक्रेनले सहज जित भेट्टायो ।
माल्दोभालाई ३–० गोलअन्तरले पराजित गरी आइसल्यान्ड पनि समूह एचको शीर्ष स्थानमा उक्लिएको छ । ५ खेलबाट उसको १२ अंक भएको छ । घरेलु मैदानमा आइसल्यान्डले माल्दोभालाई दवावमा राख्न सफल भयो । कोल्विन सिपोर्सनले ३१ औं मिनेटमा गोल गरेपछि आइसल्यान्डले पहिलो हाफमा अग्रता बनाएको थियो । ५५औं मिनेटमा विर्किर जोर्नासन र ७७ औं मिनेटमा जोन बोभार्सनले गोल गरेपछि आइसल्यान्डले जित निकाल्न सक्यो ।
पोर्चुगलको सहज जित
युरोकप छनौट अन्तर्गत पोर्चुगलले सर्बियालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पोर्चुगलले सर्बियालाई ४–२ गोल अन्तरले पराजित गरेको हो । पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डो, विलियम कराभाल्हो, गोन्सालो गुएडेस र बेर्नार्डो सिल्भाले एक एक गोल गरेका थिए । त्यस्तै सर्बियाका लागि निकोला मिलेनकोभिक र अलेक्सान्डर मिट्रोभिकले एक एक गोल गरेका थिए । यो जितसँगै पोर्चुगल समुह बि मा ३ खेलमा ५ अंकसहित दोस्रो स्थानमा रहेको छ भने सर्बिया ४ खेलमा ४ अंकसहित चौथो स्थानमा रहेको छ । यस समुहमा युक्रेन ५ खेलमा १३ अंकसहित शिर्ष स्थानमा रहेको छ । पोर्चुगलले अब अर्को खेल आगामी मंगलबार लिथुआनियाविरुद्ध खेल्ने छ भने सर्बियाले लक्जेम्बर्गसँग खेल्ने छ ।
कोसोभो अंक तालिकाको शीर्ष स्थानमा
काठमाडौं, २२ भदौ । यूरो कप फुटबलको छनोट खेलमा कोसोभो विजयी भएको छ । शनिबार भएको समूह ए को खेलमा कोसोभोले रिपब्लिकमाथि २–१ गोल अन्तरले जित निकाल्दै तालिकको शीर्ष स्थानमा समेत उक्लिएको छ । घरेलु मैदान परिस्टीनामा १ गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै २–१ को जित निकालको हो । चेक रिपब्लिकका लागि १६ औंँ मिनेटमा पेट्रिक सिचेकले गोल गर्दै अग्रता दिलाएका थिए । २० औंँ मिनेटमा भेडान मोरिक्यूले गोल गर्दै घरेलु टोली कोसोभोलाई खेलमा फर्काएका थिए । पहिलो हाफमा १–१ गोलको बराबरी खेलको कोसोभोले दोस्रो हाफमा निर्णायक गोल गरेको थियो । ६६ औंँ मिनेटमा मेरगिम भोजवोडाले गोल गर्दै टिमलाई अपराजित राख्न पनि सफल भए । कोसोभोले अहिलेसम्म चार खेल खेल्दा २ मा जित र दुईमा बराबरी गर्दै ८ अंक जोडेको छ । समूह ए मै दोस्रो स्थानमा रहेको इंग्ल्याण्डको ६ अंक छ भने ५ अंक जोडेको चेक रिपब्लिक तेस्रो तथा बुल्गेरिया र सर्विया एण्ड मोन्टेनेग्रो समान २ अंकसहित चौथो र पाँचौं स्थानमा छन् ।