काठमाडौं(एजेन्सी)–बंगलादेशविरुद्धको टेस्ट खेलको पहिलो दिन अफगानिस्तानले उत्कृष्ट शुरुवात गरेको छ । बिहिबारदेखि शुरु भएको टेस्टको पहिलो दिन अफगानिस्तानले टस जितेर पहिला ब्याटिंग गर्दै ५ विकेट गुमाएर २७१ रन बनाएको छ । अफगानिस्तानको इनिंगमा रहमत शाहले शतकीय पारी खेलेका छन् । रहमतले १०२ रन बनाएर आउट हुदै अफगानिस्तानलाई राम्रो स्थानमा पुर्याएका छन् । रहमत टेस्ट क्रिकेटमा अफगानिस्तानबाट शतक बनाउने पहिलो खेलाडी समेत बनेका छन् ।
त्यस्तै पुर्व कप्तान अस्घर अफगानले पनि उत्कृष्ट ब्याटिंग गरेका छन् । अफगानले ८८ रन बनाउदै खेलिरहेका छन् । रहमत र अफगानबीच चौथो विकेटका लागि १२० रनको साझेदारी भएको थियो । त्यस्तै अफ्सर जजईले पनि अफगानलाई राम्रो साथ दिदै ३५ रन बनाएर खेलिरहेका छन् । अफगान र जजईबीच अहिलेसम्म ७४ रनको साझेदारी भएको छ । त्यसैगरी ओपनर इब्राहिम जरदान २१ रन बनाएर आउट भए भने इन्सनुल्लाह ९ रन बनाएर आउट भए । त्यस्तै हाश्म्तुल्लाह शाहिदी १४ रनमा आउट भए भने मोह्माब नावी खाता नै नखोली तीन बल खेलेर आउट भएका थिए ।
बंगलादेशका बलर तैजुल इस्लाम र नयीन हसनले २–२ विकेट लिए भने मद्मुल्लाहले एक विकेट लिए । यस खेलमा पहिलो पटक टेस्ट खेलको कप्तानी गर्दै राशिद खान टेस्ट क्रिकेटको इतिहासमा सबै भन्दा कम उमेरका कप्तान बनेको रेकर्ड समेत राखेका छन् । २०१७ मा टेस्ट स्ट्याटस पाएको अफगानिस्तानले तेस्रो टेस्ट खेल खेल्दै छ । यस अघि भारत र आयरल्याण्डसँग १–१ टेस्ट खेलेको अफगानिस्तान भारतसँग पराजित भएको थियो भने आयरल्याण्डमाथि जित हासिल गरेको थियो ।