काठमाडौं(एजेन्सी)–एथ्लेटिको म्याड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमो इबारलाई ३–२ गोलले हराउँदै एथ्लेटिकोले शीर्ष स्थान कब्जा गरेको हो । घरेलु मैदानमा सुरुवातमा २–० गोलले पछि परेर पनि एथ्लेटिकोले उत्कृष्ट पुनरागमन गरेको थियो । इबारका चार्लेसले सातौँ मिनेटमा पहिलो गोल गरे । एनिटेज अर्विल्लाले १९औँ मिनेटमा गोल गर्दै इबरको अग्रता दोब्बर बनाए ।
त्यसपछि जोसिएको एथ्लेटिकोले २७औँ मिनेटमा पहिलो गोल फर्काएको थियो । एथ्लेटिकोका जोआओले पहिलो गोल गरे । भिटोलोले ५२औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । थोमस पार्टीले ९०औँ मिनेटमा निर्णायक गोल गर्दै एथ्लेटिकोको जित सुनिश्चित पारेका थिए । जितसँगै शीर्ष स्थानमा उक्लिएको एथ्लेटिकोले तीन खेलबाट नौ अंक बनाएको छ समान खेलबाट इबरको एक अंक छ । आइतबार रातिनै भएको अर्को खेलमा रियल म्याड्रिड र भिल्लारियलले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु टोली भिल्लारियलले दुई पटक अग्रता लिएर पनि बराबरीमा चित्त बुझायो ।
रियलका लागि ग्यारेथ बेलले दुवै पटक बराबरी गोल फर्काएका थिए । भिल्लारियलले १२औँ मिनेटमा जेरार्ड मोरेनोको गोलबाट अग्रता लिएको थियो । त्यसपछि रियलका बेलले ४५औँ मिनेटमा बराबरी गोल फर्काए । ७४औँ मिनेटमा मोइ गोमेजले गोल गर्दै भिल्लारियललाई पुनः अगाडी बढाए । त्यसपछि ९०औँ मिनेटमा बेलले लुका मोड्रिचको पासमा उत्कृष्ट गोल गर्दै रियललाई हारबाट जोगाएका थिए । लगत्यै बेल दोहोरो पहेंलो (रातो) कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । बराबरीसँगै पाँच अंक बनाएको रियल तलिाकाको पाँचौ स्थानमा छ । दुई अंक बनाएको भिल्लारियल १६औँ स्थानमा छ । अर्को खेलमा भ्यालेन्सियाले मालोर्कालाई २–० र ग्रान्डाले स्पान्योललाई ३–० गोलले पराजित गरेको छ ।