भोजपुरमा पहिरोमा परी एकको मृत्यु

भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिका–६ थुम्लुङमा आएको पहिरोमा परी एक जनाको मृत्यु छ । शनिबार साँझ अलैँची गोडेर घर फर्कंने क्रममा बाटोमा झरेको पहिरोले किच्दा स्थानीय ५९ वर्षीय मानबहादुर विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिरोले किच्दा उहाँको हात, खुट्टा र टाउकामा चोट लागेको र सो दुर्गम स्थलमा दोभानेबाट स्वास्थ्यकर्मी पुग्न नपाउँदै राति नै मृत्यु भएको उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले बताए ।

उनले भने, “शनिबार साँझ पहिरो परेर उनी घाइते भएका थिए । त्यो ठाउँ विकट रहेकाले दोभाने भन्ने स्थानबाट स्वास्थ्यमर्की पठाउने तयारी गर्दागर्दै मृत्यु भएको भन्ने जानकारी आएको थियो ।”

सोही पहिरोमा परी भाग्ने क्रममा अर्जुन कार्की, धर्मराज विष्ट र प्रसाद राई सामान्य घाइते भएका थिए । मृतक विष्टको शवपरीक्षणका लागि सङ्खुवासभाको खाँदबारी लगिने प्रहरीले जनाएको छ ।