शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

आगामी कार्यकालका लागि एनआरएन युरोप उपसंयोजक पदमा कृष्ण तिमल्सिनाको उम्मेदवारी घोषणा, यस्ता छन् एजेण्डा

बिहिबार, साउन २३ २०७६

काठमाडौं, २३ साउन । गैरआवासीय नेपाली संघ (एनआरएन) को आगमी कार्यकाल(सन्२०१९–२०२१) का लागि कृष्ण तिमल्सिनाले उम्मेदवारी घोषणा गरेका छन् । तिमल्सिनाले आगामी अक्टोबरमा हुने विश्व सम्मेलनमा युरोप उप–संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । बेलायत निवासी तिमल्सिना लामो समयदेखि एनआरएन अभियानमा संलग्न रहादै आएका छन् । आफ्नो अहिलेसम्मको अनुभवलाई नेतृत्वदायी भूमिकामा रहेर उपयोग गर्ने योजनाका साथ आफूले सो पदमा उम्मेदवारी दिन लागेको तिमल्सिनाले बताएका छन् । देश निर्माणमा अहिले एनआरएनको काँधमा पनि ठूलो जिम्मेवारी आएको छ, त्यसैले युरोपमा रहेका नेपालीलाई अझ संगठित गर्दै देश निर्माणमा लाग्न प्रेरित गर्नुपर्नेछ’, तिमल्सिनाले भने ।

उम्मेदवारी घोषणासँगै तिमल्सिनाले आफ्ना एजेण्डा पनि अघि सारेका छन् । युरोपमा युरोपियन युनियन लगायत यहाँका संघ संस्था व्यवसायीलाई नेपालमा सहयोग तथा लगानी गर्न प्रेरित गर्न, युरोपमा एनआरएन एनसीसीलाई थप विस्तार गर्न, अहिले युरोपमा सकृय राष्ट्रिय समन्वय परिषदलाई अझ संस्थागत, दीगो र एनआरएन आइसीसीप्रति उत्तरदायी बनाउन, युरोपमा बसेका नेपालीहरुको साझा समस्याहरु पहिचान गरी त्यसको निराकरणमा प्रयास गर्न, युरोपमा जन्मे हुर्केका नेपाली बाल बच्चाहरुलाई एनआरएनमा समाहित गर्दै देश, भाषा र हाम्रो संस्कृतिप्रति रुची जगाउन पहल गर्ने जस्ता कार्ययोजना उनले अघि सारेका छन् ।

सन् २००७ देखि एनआरएन अभियानमा होमिएका तिमल्सिना यसअघि सन् २०११ देखि २०१३ मा एनआरएन युकेको कार्यसमिति सदस्य चयन भएका थिए । यस्तै सन् २०१३ देखि ०१५ मा एनआरएन युकेकै उपाध्यक्ष बनेका उनी सन् २०१७ देखि १९ को कार्यकालका लागि अध्यक्षको प्रत्यासी बनेका थिए। सोअघि शेष घलेको कार्यकाल (सन् २०१५ देखि ०१७) मा केन्द्रीय सदस्य बनेर काम गरेको अनुभव सँगालिसकेका उनको एनआरएनका सबै पूर्वअध्यक्षहरुसँग राम्रो सम्पर्क रहेको छ ।

एनआरएनले सञ्चालन गर्दै आएका सम्पूर्ण अभियानमा सक्रियतापूर्वक सहभागिता जनाउँदै आएका तिमल्सिनाले सबैको सहसल्लाहमा आफूले उपसंयोजक पदमा उम्मेदवारी दिने निधो गरेको र विजयी हुनेमा पनि ढुक्क रहेको बताए । हाल एनआरएन युकेको सल्लाहकारको भूमिकामा रहेका तिमल्सिनाको युरोप क्षेत्रका एनआरएन नेपालीसँग व्यक्तिगत सम्पर्क समेत राम्रो रहेको छ । विशेषतः युरोप क्षेत्रका समग्र सुद दुःखमा एनआरएन नेपालीसँगै हिँड्ने उनको प्रतिबद्धता रहेको छ । करिब १८ वर्षदेखि बेलायतमा रहँदै आएका उनी यूकेमा समाजसेवीको रूपमा परिचित छन् । विभिन्न च्यारिटीको कामदेखि अनेकन समाजसेवाका गतिविधिमा उनी अग्रपंक्तिमा रहेर सक्रिय रहँदै आएका छन् । यस्तै उनले नेपालमा विद्यालय, वृद्धाश्रम, मन्दिर निर्माणदेखि अन्य विभिन्न सामाजिक काममा समेत निरन्तर सहयोग गर्दै आएका छन् । मूलतः सेफ पृष्ठभूमिबाट आएका उनको नेपाल तथा युकेमा विभिन्न व्यवसाय रहेको छ । एनआरएनभित्र सहयोगी, समाजसेवी र सबैका प्रिय पात्रको रुपमा तिमल्सिना चिनिन्छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार