बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

पहिलो टी–२० मा भारत विजयी

आइतबार, साउन १९ २०७६

काठमाडौं(एजेन्सी)–वेस्ट इन्डिजविरुद्ध टी–२० सिरिजको पहिलो खेलमा भारत विजयी भएको छ । अमेरिकामा शनिबार राति खेलिएको खेलमा भारतले वेस्ट इन्डिजलाई चार विकेटले हरायो । ९६ रनको सामान्य विजय लक्ष्य पछ्याएको भारतले १७.२ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । भारतका लागि ओपनर रोहित शर्माले २४ रन बनाए । मनिष पाण्डे र कप्तान विराट कोहलीले समान १९ रन बनाए । क्रुनाल पाण्डेले १२, रविन्द्र जडेजाले १० र वासिन्टन सुन्दरले अविजित ८ रन बनाए । वेस्ट इन्डिजका सुनिल नारायण, शिल्डन कर्टेल र किमो पलले समान दुई दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९५ रन बनाएको थियो । सुरुवाती ६ ओभरमा पाँच विकेट गुमाएको वेस्ट इन्डिजलाई काइरन पोलार्डले उकालेका थिए । काइरनले ४९ रन बनाए । निकोलस पुरनले २० रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । वेस्ट इन्डिजलाई सस्तैमा समेट्न भारतका युवा बलर र नवदीप सैनीले तीन विकेट लिए । टी–२० मा डेब्यु गरेका तीब्र गतिका बलर नवदीपले चार ओभरमा एक मेडन सहित जम्मा १७ रन खर्चिएका थिए । भुवनेश्वर कुमारले दुई विकेट लिए । वासिस्टन सुन्दर, खलील अहमद, क्रुनाल पाण्डे र रविन्द्र जडेजाले एक एक विकेट लिए । यस जितसँगै भारतले तीन खेलको टी–२० सिरिजमा १–० को अग्रता लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार