शनिबार, साउन १८ २०७६
कुल आचार्य
उपाध्यक्ष, एनआरएनए
तथा अध्यक्षका दाबेदार
गैर आवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष कुल आचार्यलाई धेरैले एनआरएन भित्र नयाँ पुस्ताबाट नेतृत्व दिन सक्ने क्षमता भएको पदाधिकारीको रुपमा पनि हेर्दछन् । आफुले पाएको जिम्मेवारी पुरा गरिछाड्ने, मिलनसार तर संस्थाभित्र भएका बेथिति र अनियमितताको डटेर मुकाबिला गर्ने आचार्य एक सफल व्यवसायी पनि हुन् । पर्वतको धाइरिङमा जन्मिएका ४७ वर्षीय आचार्यले बेलायतमा शुरु गरेको रेस्टुरेन्ट व्यवसाय अहिले युरोपका अरु मुलुकहरुमा पनि विस्तार गर्न लागेका छन् । आउँदो अक्टोबर महिनामा काठमाडौँमा हुन लागेको गैर आवासीय नेपाली संघको विश्व सम्मेलनमा अध्यक्ष पदका उनी एकजना सशक्त दावेदार पनि हुन् । एनआरएनएको कल्याणकारी तथा मानवीय सहायता समितिको संयोजक पनि रहेका आचार्यसंग इटालीको रोममा हुन गैरहेको क्षेत्रीय सम्मेलनको सेरोफेरोमा जनसवाल दैनिकले गरेकोे कुराकानीको सारसंक्षेप :
एनआरएनए बाह्रौं सम्मेलन शुरु हुँदैछ, केन्द्रले युरोप सम्मेलनलाई कतिको महत्वका साथ हेरेको छ । यहाँ आफै पनि युरोपमै बस्नुहुन्छ ?
एनआरएन अभियानमा युरोप क्षेत्रको सधैं अग्रणी भूमिका रहँदै आएको छ । हालै मैले अस्ट्रेलिया र एसिया प्रशान्त क्षेत्रको क्षेत्रीय सम्मेलनमा पनि भाग लिने मौका पाएको थिएँ । लगानी र पर्यटन प्रवद्र्धनको लक्ष्यसहित इटालीमा हुन गैरहेको १२ औं युरोपेली बैठक तथा दशौँ महिला भेलामा युरोप क्षेत्रमा रहेका एनआरएनएका २८ वटा राष्ट्रिय समन्वय परिषदहरुको सहभागिता हुनेछ । यो बैठक उपलब्धिपूर्ण हुने मेरो विश्वास छ ।
एनआरएनएले युरोप क्षेत्रमा रहेका नेपालीहरुलाई कस्तो प्राथमिकता दिएको छ ?
एनआरएनका लागि संसार भरिका अन्य क्षेत्रहरु जस्तै यूरोप क्षेत्र पनि त्यत्तिकै महत्वपूर्ण छ । म आफै पनि यूरोपमा बसोबास गरिरहेको र संघको यूरोप क्षेत्र संयोजकको जिम्मेवारी पनि सम्हालिसकेकाले यो क्षेत्रसँग मेरो विशेष लगाव छ । खासगरी यूरोपमा रहेका नेपालीहरुको सीप, पूँजी र दक्षता नेपालको विकासमा लगाउन अरु बढी जोड दिनुपर्छ जस्तो मलाई लाग्छ ।
यहाँको हेराइ र भोगाइमा युरोप क्षेत्रका नेपालीहरुको के–कस्ता समस्याहरु रहेका छन् र समाधानको लागि के–के काम गर्नुभयो ?
यूरोप क्षेत्रका नेपालीहरुको प्रमुख समस्या भनेको रोजगारी र व्यापार व्यवसायमा कसरी अगाडी बढ्ने भन्ने नै हो । त्यस्तै अहिले पनि विभिन्न प्रलोभन दिएर नेपालीहरुलाई विभिन्न युरोपेली मुलुकहरुमा ल्याउने र अलपत्र पर्ने क्रम जारी नै छ । त्यसरी दुख पाएका नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई सम्बन्धित एनसीसीका साथीहरुले सक्दो सहयोग गरिरहनु भएको छ । यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न नेपाल सरकारसंग अरु बढी समन्वय गर्न आवश्यक छ । हामीले स्पेनमा नेपाली दूतावास खोल्न पहल गर्यौं र पोर्चुगलमा पनि दूतावास खोल्न माग गरेका छौं । गैर आवासीय नेपाली नागरिकता जस्ता विषय यूरोप मात्रै नभएर संसारभरि रहेका गैर आवासीय नेपालीहरुको चासोको विषय हो । त्यसबारे पनि हामीले काम गरिरहेका छौं ।
अहिले एनआरएनए अभियान र गतिविधि कसरी अगाडि बढिरहेको छ ?
गैर आवासीय नेपाल संघ एनआरएनए संसारभरि फैलिएका नेपालीहरुलाई एउटै सूत्रमा गाँस्ने संस्था हो । ८० ओटा मुलुकहरुमा फैलिएका हाम्रा एनसीसीहरुले आ–आफ्ना मुलुकमा रहेका प्रवासी नेपालीहरुका स्थानीय समस्याहरु समाधान गर्न पहल गर्नुका साथै संघले आह्वान गरे अनुरुप नेपालमा आपत्कालीन सहयोग होस् वा बौद्धिक तथा आर्थिक लगानी बढाउन काम गरिरहेका छन् । अहिले चाहिं सबै एनसीसीहरु आउँदो २ वर्षका लागि नयाँ नेतृत्व चयन गर्न व्यस्त छन् ।
यहाँ हाल उपाध्यक्ष कार्यकालको अन्तिम चरणमा हुनुहुन्छ, आफ्नो के कस्ता उल्लेखनीय कामहरु गर्नुभयो ?
गएको २ वर्ष मा थुप्रै रचनात्मक कामहरु भएका छन् । गोर्खा जिल्लामा भूकम्प पीडितहरुका लागि नमुना एकीकृत वस्ती निर्माण अन्तिम चरणमा पुगेको छ । काठमाडौँमा केन्द्रिय कार्यालय निर्माणको काम पुरा भएको छ । मेरै संयोजकत्वमा पवित्र बाग्मती नदी किनारमा एनआरएन शंखमुल पार्कको निर्माण गरी ललितपुर महानगरपालिकालाई संरक्षणका लागि हस्तान्तरण गरिएको छ । गत वर्ष काठमाडौँमा एनआरएनएको आयोजनामा विश्व ज्ञान सम्मेलन सफलतापूर्वक आयोजना गरियो भने गत मार्च महिनामा नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलनमा हामीले भाग लियौं र रु दस अर्बको लगानी कोष बनाउने बारे एउटा समझदारी पत्रमा हस्ताक्षर पनि गरयौं । कुनै पनि संस्थाभित्र केही विषयमा असहमति हुनु स्वाभाविक हो । तर, संस्थागत मर्यादालाई ख्याल गर्दै संस्थागत निकासकालागि हामीले काम गर्यौं । उपाध्यक्षको रुपमा इमान्दारीपूर्वक संस्थाका उद्देश्यहरु प्राप्त गर्न र संस्थाको सर्वोपरि हितलाई ख्याल गरेर मैले काम गरें जस्तो लाग्छ । अरु मूल्यांकन गर्ने जिम्मा त तपाईंहरुकै हो ।
एनआरएनका अहिलेका मुख्य मुद्दा के हुन ?
शुरु देखि नै ‘एकपटकको नेपाली सँधैको नेपाली’ भन्ने मूल मन्त्र हाम्रो मुख्य मुद्दा रहँदै आएको छ । नेपाली नागरिकता निरन्तरताको मुद्दा हाम्रो प्रमुख एजेण्डाको रुपमा रहिआएको छ । प्रवासमा रहेका नेपालीहरुलाई समृद्ध बनाउने र नेपालको समृद्धिमा टेवा पुराउने नै हाम्रो मुख्य ध्येय हो ।
एनआरएनएले गत अक्टोवरमा काठमाडौँमा आयोजना गरेको विश्व ज्ञान सम्मेलनको उपलब्धि चाहिं के भयो ?
विदेशमा बसिरहेका नेपालीहरुले हरेक क्षेत्रमा सीप र अनुभव हासिल गरेका छन् । त्यस्तो सीप, स्रोत र साधन नेपालको विकासमा कसरी प्रयोग गर्ने भनेर हामी प्रयासरत छौं । गैरआवासीय नेपालीहरुले नेपालमा अस्पताल, होटेल, कृषि, जलस्रोत आदि क्षेत्रमा लगानी गरेका छन् र केही साथीहरु नेपाल फर्केर विभिन्न व्यवसाय गरिरहनुभएको छ । नेपालमा गत अक्टोवरमा आयोजना गरिएको विज्ञ सम्मेलनमा विदेशमा विभिन्न विधामा दक्षता हासिल गरेका नेपाली विज्ञहरुको सीप कसरी नेपाल लैजाने भन्नेबारे छलफल भएको थियो सम्मेलनका सुझावहरु हामीले प्रधानमन्त्रीज्युलाई बुझाएका छौं । हामी नेपाल सरकारसंग सहकार्य गर्न चाहन्छौं । नेपालको विकासमा हाम्रा यी प्रयासहरु कोशेढुंगा सावित हुनेछन् भन्ने मैले विश्वास लिएको छु ।
एनआरएनले नेपालमा १० अर्ब लगानी भित्र्याउने घोषणा गरेको छ, त्यो लगानी नेपालमा कसरी भित्रयाउने भनिएको हो, बताइदिनुस् न ?
म के कुरा स्पष्ट पार्न चाहन्छु भने एनआरएन संस्था आफैले लगानी गर्ने नभएर संस्थासंग आबद्ध सदस्यहरुले व्यक्तिगत वा सामूहिकरुपमा नेपालमा लगानी गर्ने हो र त्यो भैरहेको पनि छ । हामीले लण्डनमा गरेको घोषणा अनुसार एनआरएनको सन्जाललाई प्रयोग गरेर सामूहिकरुपमा लगानी गर्ने गृहकार्य भैरहेको छ । एउटा ठूलो परियोजना हामीले पहिचान गरिसकेका छौं र नेपाल सरकार पनि त्यसमा सकारात्मक देखिएको छ । गत मार्च महिनामा काठमाडौँमा सम्पन्न लगानी सम्मेलनमा नेपाल सरकार र एनआरएनएबीच एउटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । यसबारे हामी छिट्टै घोषणा गर्नेछौं र सबै इच्छुक एनआरएन मित्रहरुलाई लगानीकालागि आह्वान गर्नेछौं । यसबाहेक जलविद्युत, बैंक, होटल तथा स्वास्थ्य क्षेत्रमा पनि गैरआवासीय मित्रहरुले लगानी गरिरहनुभएको छ ।
एनआरएनए अध्यक्ष भवन भट्टले आफुले आगामी कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी नदिने घोषणा गरिसक्नुभएको छ । यसलाई कसरी हेर्नुभएको छ ?
हाम्रो अध्यक्ष भवन भट्टजीले अहिले दोश्रो कार्यकालका लागि चुनाव नलड्ने घोषणा गर्नु भएको छ । मेरो विचारमा यो सकारात्मक घोषणा हो । यसले नया नेतृत्वका लागि मार्ग प्रशस्त गरेको छ । त्यसका लागि म उहाँलाइ धन्यवाद पनि दिन चाहन्छु । जहाँसम्म मेरो विषय छ, संसारभरिका साथीहरु तथा अग्रजहरुसंग सरसल्लाह गरेपछि, उहाँहरुको मार्गदर्शन अनुरुप मैले आउँदो विश्व सम्मेलनमा गैर आवासीय नेपाली संघको केन्द्रिय अध्यक्ष पदका लागि उम्मेदवारी दिने निर्णय गरेको छु ।
अध्यक्ष पदका लागि यहाँंको उम्मेदबारी किन ?
एनआरएनलाई प्रत्येक प्रवासी नेपालीको साझा संगठन बनाउने नै मेरो लक्ष्य हो । एनआरएनलाई प्रवासमा बस्ने हरेक गैर आवासीय नेपाली लाई समेट्ने गरी समावेसी बनाउन, संसदमा विचाराधीन गैर आवासीय नेपाली नागरिकता विधेयकलाई हाम्रो चाहनाअनुसार पारित गराउन ठोस भूमिका निर्वाह गर्न र संसारभरि फैलिएका नेपालीहरुको सीप, क्षमता, आर्थिक तथा बौद्धिक लगानी भित्रयाउनका लागि नै मेरो उम्मेदवारी हो ।
अब एनआरएनए अध्यक्ष भट्टले यहाँलाई समर्थन गर्नुहुन्छ कि गर्नुहुन्न ?
मैले अध्यक्ष भबन भट्टसंग गएको कैयौं वर्षदेखि संगै रहेर सहकार्य गरिरहेको छु । गएको दुई वर्षदेखि त हामीले निकै नजिक रहेर काम गरेका छौं । अध्यक्षलाई सघाउने उपाध्यक्षको जिम्मेवारी पनि हो र संस्था भित्रका कैयौं महत्वपूर्ण मुद्दाहरुमा हामी संगै रह्यौं । यसपटकको चुनावमा मेरो आफ्नो कुनै स्वार्थ छैन । सबै प्रवासी नेपालीहरुलाई समेट्ने र एउटा बलियो एनआरएन बनाउने नै मेरो लक्ष्य हो । यो अभियानमा अध्यक्ष भट्टलगायत सबै अग्रजहरु र सबै गैर आवासीय नेपाली मित्रहरुको सहयोग प्राप्त हुनेमा म विश्वस्त छु ।
यहाँलाई नेपाली काँग्र्रेसको मान्छे भनेर आरोप लगाउंछन् नि ?
एनआरएनए एउटा गैरराजनीतिक र सामाजिक संस्था हो । व्यक्तिको राजनीतिक आस्था हुन सक्छ । म प्रजातान्त्रिक मूल्य, मान्यताहरुप्रति आस्था र विश्वास राख्ने व्यक्ति हुँ । सबै साथीहरुको आग्रह र सहयोगमा म चुनाव लड्दै छु । कुनै पार्टी विशेषको उम्मेदवारको रुपमा होइन ।
नेपालको संसदीय चुनावभन्दा एनआरएनएको चुनाव खर्चिलो हुन्छ भन्ने सुनिन्छ के नि ?
एनआरएनएका सबै उम्मेदवारहरुले आफ्नो प्रचारप्रसारको खर्च आफै व्यहोर्नु पर्ने भएकाले अलि खर्चिलो हुन गएको हो । त्यसैले एउटा महादेशबाट अर्को महादेश पुगेर साथीहरुलाई भेट्दा पनि समय र खर्च लाग्ने कुरा हुन्छ । तर अहिले सामाजिक संजालको जमानामा यो संजाल प्रयोग गरेर कम खर्चमा आफ्ना विचार र योजना साथीहरुसम्म पुर्याउनु पर्छ जस्तो मलाई लाग्छ ।
अझै पनि एनआरएनएलाई धनीहरुको मात्रै संस्था भन्ने गरिन्छ, के लाग्छ यहाँलाई ?
वास्तवमा एनआरएनजस्तो संसारभरि फैलिएको संस्थाको नेतृत्व लिने व्यक्ति आर्थिक रुपले सक्षम नभएमा काम गर्न गाह्रो हुन्छ । हाम्रा सभा, सम्मेलनदेखि सबै कार्यक्रममा सहभागी आफैले खर्च व्यहोर्नुपर्ने हुन्छ । तर त्यसो भन्दैमा एनआरएन धनीकालागि मात्रै हो भनेर सोंच्नु ठिक होइन । यो धनीभन्दा पनि मनकारीहरु रहेको संस्था हो भन्दा सही हुन्छ । मैले अघि नै भनेजस्तै सबैले आआफ्नो ठाउँबाट ज्ञान, सीप, समय र संभव भए धन समेत लगाएर संस्थालाई अगाडि बढाउनुका साथै जन्मभूमिको मुहार हँसिलो पार्ने जिम्मेवारी पनि हाम्रै हो भन्ने म पुनस् स्मरण गराउन चाहन्छु ।
प्रवासमा बस्ने नेपालीलाई केन्द्रित गरेर एनआरएनएले के कस्ता कामहरु गरिरहेको छ ?
गैर आवासीय नेपाली संघले आफ्नो स्थापनाकाल देखिनै प्रवासमा बस्ने नेपालीहरुको हकहितको लागि काम गर्दै आएको छ । प्रवासी नेपालीहरुलाई विदेशमा संगठित गर्नुका साथै चाडपर्वहरु मनाउने, प्रवासमा रहेका नेपालीहरुका समस्या समाधान गर्न प्रत्यक्षरुपमा सहभागी हुने काम एनआरएनएले गरिरहेको छ । विदेशमा बसोबास गर्न होस् वा व्यवसाय शुरु गर्न, गैरआवासीय नेपाली संघका साथीहरुले आआफ्नो क्षेत्रबाट सघाउँदै आउनुभएको छ ।

जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij