शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

एनआरएनए अभियानले नेपालको समृद्धिमा मद्दत पुर्याईरहेको छ

शुक्रबार, साउन १७ २०७६

खगेन्द्र न्यौपाने
अध्यक्ष
गैरआवासीय नेपाली संघ मलेसिया

खगेन्द्र न्यौपाने, गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसिायको अध्यक्ष हुनुहुन्छ । एनआरएनए अभियानको सुरुवातसँगै यहि अभियानमा सक्रिय रहँदै आउनुभएका न्यौपाने एनआरएनएमा विभिन्न पदमा रहि जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । एनआरएनएमा रहेर केहि लिनको लागि भन्दा दिनको लागि र समग्र नेपालको आर्थिक सम्बृद्धिको लागि काम गरिरहेको न्यौपाने बताउँछन् । मलेसियामा नेपाली व्यवसयाीकोरुपमा परिचित न्यौपाने यही अगस्ट ३ र ४ मा रोम, इटालीमा हुने युरोप क्षेत्रीय सम्मेलनमा सहभागी हुने तयारीमा छन् । यसै सन्दर्भमा समग्र एनआरएन अभियानमा केन्द्रित रहेर न्यौपानेसँग गरिएको कुराकानीको सारसंक्षेप ः

हाल के मा व्यस्त हुनुहुन्छ ?
म व्यवसाय र समाज सेवामा नै व्यस्त छु । बिदेशी भूमिमा सिकेका सीप तथा क्षमतालाई स्वदेशमा सदुपयोग गर्नुपर्छ भन्ने अभियानमा लागिरहेको छु र अहिले गैर आवासीय नेपाली संघ एनआरएनए युरोप क्षेत्रिय भेलामा सहभागिताको तयारी गर्दै छु ।

तपाई किन एनआरएनए अभियानमा लाग्नु भयो ?
म एनआरएनए एसिया प्रशान्त क्षेत्रमा सूरुदेखि नै लागेको हुनाले एनआरएनएलाई सहज ढंगले अगाडि बढाउन र देशको विकासमा केहि गर्न सकिन्छ भन्ने भावनाले लागेको हो । विदेशमा बसेका सबै नेपालीलाई समेटेर अगाडि बढाउनको लागि र देशको लागि केहि गर्न सकिन्छ भन्ने मनसायले म एनआरएनए अभियानमा लागेको हुँ । आफू सफल भएपनि देश विफल भएका कारण देशलाई केहि गर्न सकिन्छ र लगानीको वातावरण बनाएर तल्लो वर्गलाई माथि उठाउन सहयोग गर्न सकिन्छ भन्ने मेरो उद्देश्य हो । आर्थिक रुपमा निकै पछाडि परेको देशको लागि केहि गरौ र देशको आर्थिक सम्बृद्धिमा टेवा पु¥याऔं भन्ने उद्देश्यले म लागि परेको छु । समग्रमा भन्नु पर्दा बिदेशमा सिकेका सिप, ज्ञान र कलालाई स्वदेशी भुमिमा सदुपयोग गरी अगाडी बढ्नुपर्छ भन्ने ध्येयका साथ नै म यो अभियानमा छु ।

एनआरएनए अभियानबाट वैदेशिक रोजगारीमा संलग्न तथा गैरआवासीय नपालीहरुलाई के कस्ता फाईदा पाउँछन् त ?
एनआरएन आफैमा अमुक संगठन होईन । यसलाई निष्पक्षरुपमा अगाडि बढाउनको लागि र विदेशमा बस्ने सबैलाई समेटेर अगाडि बढाउने सोचका साथ म एनआरएनए अभियानमा लागेको छु । वैदेशिक रोजगारमा रहेका समस्याहरुलाई न्यूनिकरण गरि सहज रुपमा सबैको पहुँचमा सरल, सहज र फाईदा मुलक वैदेशिक रोजगारको बिषयमा मेरो आवाज उठाउँदै आएको छु । त्यसै गरि गैर आवासिय नेपाली एनआरएनको अभियानलाई बिभिन्न देशमा फैलाउने र उक्त मुलुकहरुबाट नेपालमा लगानी भित्र्याउने काममा लागेको छु । बैदेशिक रोजगारको आपत्कालिन कोषलाई ससक्त बनाउने र बिमाको लागि पहल गर्दै वैदेशिक रोजगारीका लागि मलेसिया लगायतका मुलुकमा पुगेका नेपाली दाजुभाई, दिदीबहिनीका हक हितका लागि विशेष कार्ययोजना बनाई काम गरिरहेको छु । नेपालमा सामुहिक लगानी गर्न प्रेरित गर्ने तथा बिदेशिहरुबाट समेत लगानी भित्र्याउन पहल र नेपाललाई फाईदा हुने काममा लागेको छु ।

यहाँ मलेसियामा लामो समयदेखि सक्रिय हुनुहुन्छ । हाल मलेसियामा देखिएको वैदेशिक रोजगारीको समस्याको बिषयमा केही बताई दिनुस न?
वास्तवमा नेपाली कामदारहरुको लागि मलेसिया दुरीको हिसावले, वातावरणको हिसावले एकदमै राम्रो गन्तव्यको रुपमा स्थापित थियो । बिगत ५ महिनादेखि मलेसिया जाने नेपालीहरुका लागि उक्त अवसर बन्चित भएको छ । हजारौं नेपाली कामदारहरु कलिङ भिषा प्राप्त गरेर पनि जान पाईरहेका छैनन् । यसले वैदेशिक रोजगारीमा जान चाहने नेपालीहरुको चाहनालाई ठेस लगाएको अवस्था छ । यस बिषयमा नेपाल सरकार र मलेसिया सरकार बीच निचोडको वार्ता गरि समस्या समाधान गर्नु पर्ने जरुरी छ । किन भने मलेसियामा नेपाली सुरक्षा गार्डहरुको एक दमै ठुलो माग छ । त्यो माग अन्य मुलुकले पुर्ति गर्न सक्दैन तर यस बिषयमा लामो समय सम्म नेपालबाट अन्यौल रह्यो भने बिकल्पको रुपमा अर्को मुलुकबाट आपुर्ति गर्न सक्ने संभावना पनि रहन्छ । यसर्थ हामी एनआरएनए अभियानमा सहभागी भईरहँदा ति वैदेशिक रोजगारमा सम्लग्न नेपाली दाजुभाई दिदीबहिनहिरुको अधिकारको बिषयमा पनि चनाखो भएका छौं ।

एनआरएन अभियानले नेपाललाई चाही कस्ता फाईदा हुन्छ त ?
एनआरएनए अभियान एक निरन्तर चलिरहने प्रकृया हो । यसमा धेरै बिषयहरु जेडिएका छन् । जस्तै नेपालका विभिन्न पर्यटकीय क्षेत्र, भाषा, संस्कृतिको प्रचार प्रचार गरी नेपालमा पर्यटन प्रवर्धन गर्न पहल गर्ने । वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा रहेका कामदारहरुमा बिभिन्न समस्याले डिप्रेशन भई आत्महत्या गर्ने प्रवृति बढ्दै गइरहेकोमा उनीहरुलाई आवश्यक काउन्सिलिङ गरि काम गर्न प्रेरित गर्ने । नेपालको शिर ठाडो पार्ने काम गरी अधि बढ्ने र प्रवासमा आर्जन गरेको सीप र पूँजीलाई एनआरएन अभियान मार्फत देशमा लगानी गर्न र गराउन म लागि रहेको छु ।

वैदेशिक रोजगारमा जाने नेपालीहरुका समस्याबारे केही बताईदिनुस न ?
एसिया प्यासिफिक देशहरु मध्ये मलेसियामा थुप्रै समस्या छन् । तर जापान, कोरिया जस्ता एसिया प्यासिफिक देशहरुमा नेपालबाट विदेश आएर बढी ब्यस्त हुनाले डिप्रेसनको समस्या छ । त्यो समस्यालाई समाधान गर्न र आत्महत्याको दरलाई कम गर्न पहल गर्नुपर्नेछ । बिमा, स्वास्थ्य उपचार, रोजगारीको ग्यारेन्टी तथा मासिक तलवका बिषयमा समेत समस्या रहेकोले त्यस्ता बिषयहरुमा पनि हामी लागेका छौं ।

एनआएनएले नेपालको आर्थिक सम्बृद्धिमा पनि योगदान पु¥याउँछ त ?
झट्ट हेर्दा सामान्य जस्तो लागे पनि यो गंभिर बिषय हो । नेपालमा गैर आवासीय नेपालीहरुको ठुलो योगदान छ । किन भने व्यवसायको लागि होस या अन्य रोजगारीको लागि होस कोही सदस्य बिदेशमा रहे पनि निजका परिवार हरु नेपाल मै हुने हुँदा बिदेशमा कमाएका सबै पैसाहरु स्वदेश आउने र आर्थिक चाल चलन नेपाल मै हुन्छ । त्यस कारण पनि अप्रत्यक्ष वा प्रत्यक्ष रुपमा गैर आवासीय नेपालीहरुको योगदान ठुलो छ । अर्को तर्फ बिदेशमा सिकेका सिप ज्ञानका बिषय त छँदैछ । उक्त बिषय कुनै अर्को बिषयसंग दाँज्न मिल्दैन । अहिले धेरै नेपालीहरु आर्थिक हिसावबाट सफल भएका छन् । सरकारले सहज ढंगबाट एनआरएनलाई लगानी गराउने वातावरण सृजना गरेर नेपालमै रोजगारी दिने हो भने नेपालको आर्थिक सम्बृद्धि गर्न सकिन्छ । मेरो ब्यक्तिगत रुपबाट भन्दा मैले गर्न सक्ने र सक्ने सहयोग नेपालको आर्थिक क्षेत्रमा गरिरहेको छु ।

इटलीमा हुने युरोप क्षेत्रीय सम्मेलनमा वैदेशिक रोजगारीको बिषयमा पनि छलफल हुन्छ त ?
यहाँले सान्दर्भिक बिषय उठान गर्नु भयो । अवश्य पनि उक्त बिषयमा छलफल हुन्छ । एनआरएनए भनेको वैदेशिक रोजगारीमा सम्लग्न नेपालीहरुकै हकहितको बिषयमा बोल्छ । यहाँलाई थाहै होला हामीले विभिन्न क्षेत्रमा हुने विभिन्न सम्मेलनहरुमा पनि वैदेशिक रोजगारको बिषयमा छलफल गर्दै आएका छौं । नेपालीहरुको आकर्षक गन्तव्य मुलुकको रुपमा रहेको युरोपका विभिन्न देशहरुमा पनि पछिल्लो समय विभिन्न समस्याहरु देखापर्न थालेका छन । त्यसर्थ, यी विषयमा समेत विशेष छलफल हुने छ । त्यसै गरि युरोप क्षेत्रमा रहेका नेपालीहरुको हक अधिकार र सुरक्षाको बिषयमा समेत छलफल हुनेछ ।

एनआरएन मलेसियाको अधिवेशन पनि नजिकिदै छ, के छ तयारी ?
हो एनआरएन मलेसियाको अधिवेशन नजिकिदै छ । त्यसको लागि हामीले आवश्यक पूर्व तयारीहरु समेत गरिरहेका छौं । हामिले सकेसम्म अधिवेशनलाइ शान्तिपूर्वक सम्पन्न गर्नकोलागि सर्वसम्वत नेतृत्व चयनको अभ्यास गर्न अहिले छलफलमा जुटीरहेका छौं । जो जसले नेतृत्व सम्हाले पनि एनआरएनए अभियानहरुलाई शशक्तरुपमा अगाडी बढाउने कुरा महत्वपूर्ण कुरा हो । एनआरएनए अभियानमा विशेष गरी लिन भन्दा पनि दिन आउने हो । त्यसर्थ, अहिले हामि जिम्मेवारीपूर्वक अधिवेशनको तयारी गरीरहेका छौं ।

गैर आवासिय नेपाली संघ मलेसियाको अध्यक्षको हैसियतले अन्तयमा के भन्न चाहनु हुन्छ ?
सबैभन्दा पहिले सम्पुर्ण एनआरएनए अभियानका सबैलाई युरोप सम्मेलनको हार्दिक शुभकामना दिन चाहन्छु । उक्त सम्मेलनमा सबै बिषयमा छलफल हुने हुँदा सक्रिय रुपमा सहभागिता जनाई कार्यक्रम सफल बनाई दिनुहुन सम्पुर्ण अभियन्ताज्युहरु र अतिथीज्यूहरुलाई हार्दिक अनुरोध गर्दछु ।

प्रतिक्रिया
सम्बन्धित समाचार