काठमाडौं(जस)– गैरआवासीय नेपाली संघ (एनआरएन) १२ औं युरोपेली क्षेत्रीय बैठक शनिबारदेखि शुरु हुँदैछ । एनआरएन युरोप संयोजक शिव बरुवालले अगष्ट ३ र ४ तारिखका दिन इटालीको रोममा तय गरिएको १२ औँ यूरोपेली क्षेत्रीय बैठकको सम्पूर्ण तयारी भइसकेको बताए । ‘एनआरएनए यूरोपको उद्देश्य देश विकासको लागि लगानी र पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य’ भन्ने मुल नाराका साथ आयोजित बैठकको मुख्य एजेण्डा लगानी र पर्यटन प्रर्वद्धन रहेको बरुवालले जानकारी दिए । यसैगरी नेपालमा लगानीका लागि उपयुक्त वातावरण बनेको सन्देश प्रवाह गर्नुका साथै सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० को प्रचारप्रसार गर्नेपनि उद्देश्य रहेको छ ।
बैठकमा नेपाल सरकारका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशी, नेपाल भ्रमण वर्ष २०२० का कार्यक्रम संयोजक सुरज वैद्य, नेपाली कांग्रेसका नेता शेखर कोइराला, यूरोपस्थित नेपाली राजदूतावासका सबै राजदूत एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्व अध्यक्ष जीवा लामिछाने, वर्तमान अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त, कुल आचार्य, महासचिव बद्री केसीलगायत पदाधिकारी तथा आइसिसी सदस्यहरुको सहभागिता रहनेछ । यसैगरी भेलामा एनआरएनए मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपाने, प्रवक्ता भुषण घिमिरे आइसीसी सचिब डिबि क्षेत्रि एवं अन्य विशिष्ट व्यक्तित्वहरु सहभागी हुनेछन् । यसका साथै यूरोपका २८ राष्ट्रिय समन्वय समितीका पदाधिकारी, एनआरएन अग्रज, सल्लाहकार, संस्थापक तथा पूर्व एवं निवर्तमान अध्यक्ष, वर्तमान अध्यक्ष, मध्यपूर्व, अष्ट्रेलिया, अमेरिका लगायत विभिन्न मुलुकका आइसीसी एवं एनसीसी प्रतिनिधी, पत्रकार, कलाकार लगायत गरी करीब ५ सय जना प्रतिनिधी सहभागी हुनेछन् ।
यसैगरी बैठकमा गैरआवासीय नेपाली नागरिकताको विषयमा रहेका द्विविधा सम्बन्धी विशेष सेसन, नेपालमा लगानीका लागि नेपालको मौजुदा नियम र कानूनबारे जानकारी, युरोप क्षेत्रका लागि छुट्टै वैदेशिक रोजगार राहत कोषको अवधारणा लगायत एजेन्डामा समेत छलफल केन्द्रित रहनेछ । यसका साथै बैठकमा यूरोपेली क्षेत्रमा रहेका गैरआवासीय नेपाली समुदायले भोग्नुपरेको समस्या र त्यसको समाधान, यहाँ रहेका नेपालीका ज्ञान सीप र क्षमता नेपालमा भित्र्याउने सरकारको रणनीति र त्यसमा एनआरएनएको भूमिकाबारे पनि घनीभूत रुपमा छलफल गरिनेछ ।
बैठकमार्फत गरिने निर्णयहरुले समग्र संस्थालाई संस्थागत गर्न मात्रै नभई मुलुककै समृद्धिमा समेत योगदान दिन सफल हुने अपेक्षा लिइएको छ । नेपालमा लगानी, पर्यटन, ज्ञान सीप र दक्षता भित्र्याउने सन्दर्भमा पनि बैठकमा घनीभूत रुपमा छलफल हुने बताइएको छ । बैठकअघि अगष्ट २ मा इटालीका एक सय भन्दा बढी व्यापार एवं पर्यटन व्यवसायी, स्थानीय नगरपालिकाका बिशिस्ट ब्यक्तित्व नेपाल सरकारका मन्त्री, नेपाल पर्यटन वर्षका २०२० का कार्यक्रम संयोजक, नेपाल पर्यटन बोर्ड का प्रतिनिधि गैरआवासीय नेपाली संघका पदाधिकारी लगायतको उपस्थितिमा नेपाल भ्रमण वर्ष–२०२० युरोपको औपचारिक शुभारम्भ गरिने कार्यक्रम रहेको छ । इटालीको रोममै संघको १० औं महिला भेलासमेत आयोजना गरिने छ । युरोपका झन्डै २० वटा मुलुकहरुमा रहेका महिलाहरुले भेलामा सहभागिता जनाउने एनआरएन इटालीका अध्यक्ष दीपेश कुमार रेग्मीले जानकारी दिए । गैरआवासीय नेपाली संघले स्थापनाकालदेखि नै नेपालमा लगानी भित्र्याउने र आफूले सिकेको ज्ञान सीप र क्षमताको सदुपयोगले मुलुकको समृद्धिमा हातेमालो गर्ने नीति लिँदै आएको छ ।
एनआरएनए स्थापनाकालदेखि नै नेपालमा लगानी भित्र्याउने र आफूले सिकेको ज्ञान सीप र क्षमताको सदुपयोगले मुलुकको समृद्धिमा हातेमालो गर्ने उद्देश्य लिएर अघि बढिरहेको छ । ‘सबै हात एकै साथ’ भन्ने भावनाका साथमा विश्वका ८० राष्ट्रमा फैलिएको नेपाली डायस्पोराले मुलुकको समृद्धिको कामना मात्रै गरेको छैन, बरु आ–आफ्नो स्थानबाट यथाशक्य सहयोग र सहकार्य गर्न समेत तत्पर छ । नेपाल सरकारले लगानीका लागि निर्माण गरेको अनुकुल वातावरण र पर्यटन प्रवद्र्धनका लागि नेपाली समुदाय समेतलाई सुम्पिएको जिम्मेवारीलाई यस संघले गहन रुपमा लिएको छ । ‘नेपालीका लागि नेपाली’ भन्ने मुल नारालाई आत्मसात गर्दै नेपाल सरकारसँग सहकार्य गरेर अगाडी बढ्ने संघको महत्वपूर्ण उद्देश्य पनि हो । यही लक्ष्यसहित भेला आयोजना गरिएको संयोजक बरुवालले बताए ।
‘यसपटक बैठकमार्फत हामीले तय गर्ने निर्णयहरुले समग्र संस्थालाई संस्थागत गर्न मात्रै नभई मुलुककै समृद्धिमा समेत योगदान दिन सफल हुने अपेक्षा हामीले राखेका छौँ । नेपालमा लगानी, पर्यटन, ज्ञान सीप र दक्षता भित्रयाउने सन्दर्भका विविध विषयमा हामी सबै मिलेर घनीभूत रुपमा छलफल गर्न गइरहेका छौँ । तसर्थ यस १२ औँ यूरोपेली भेलामा सहभागी भई आफ्ना महत्वपूर्ण विचार र धारणा आदानप्रदान गर्न सम्पूर्ण गैरआवासीय नेपाली समुदाय, सम्बद्ध व्यक्ति सबैमा आयोजकको तर्फबाट अनुरोध गर्दछु,’ बरुवालले भने । सम्मेलन अहिलेसम्मकै भव्य र विशेष हुने बताइएको छ ।