चिप्लेढुङ्गा(जस)– पछिल्लो समय देशैभर डेङ्गुको त्रास फैलिएको छ । यसैत्र क्रममा कास्कीमा फैलिँदै गएको डेङ्गुको सङ्क्रमण नियन्त्रणबाहिर गएको छ । डेङ्गु नियन्त्रणका लागि विभिन्न सरोकारवालाले सचेतना एवं अन्तरक्रिया कार्यक्रम गरे पनि नियन्त्रण नभएपछि सबैलाई चिन्ताको विषय बनेको छ । कास्कीमा गत वर्ष पनि छ सयमा डेङ्गु देखिएको थियो । यस वर्ष तीन साताभित्र २८० मा डेङ्गु देखिसकेको छ । पोखरा महानगरपालिका–८ भित्र रहेको कवाडी सङ्कलन केन्द्रबाट सो रोग फैलिएको बताइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका कीटजन्य रोग निरीक्षक याम बरालले सबै क्षेत्रबाट डेङ्गु नियन्त्रणका लागि प्रचारप्रसार र सचेतना भइरहेको र यति हुँदाहुँदै पनि नियन्त्रणमा आउन नसक्नु चिन्ताको विषय भएको बताए ।
“एउटा रोगी लामखुट्टेले सय वटासम्म फूल पार्ने र ती सबै रोगी लामखट्टे जतिले टोक्ने र त्यतिलाई डेङ्गु हुने भएकाले यो जटिल भएको हो”, उनले भने “मुख्य कुरा पानी जम्न नदिने, पानीलाई छोपेर राख्ने, घरवरिपरिका निर्माण सामग्रीलगायत अन्य सामग्री खुला रुपमा नराख्ने, पानी जम्न नदिने हो भने धेरै नियन्त्रण हुन्थ्यो ।” यो स्वास्थ्य कार्यालयको मात्र विषय नभई सम्पूर्ण नागरिक आफ्नो स्वास्थ्यप्रति सजकता देखाउनुपर्ने उनको भनाइ छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका सिनियर मेडिकल अफिसर डा भोजराज गौतमले पोखरा–८, ९ र १७ मा धेरै बिरामी पहिचान भएका बताए । “हामी निरन्तर यस रोग नियन्त्रणका लागि कार्यक्षेत्रमा खटिएका छौँ, नियन्त्रणमा ल्याउने हाम्रो प्रयास जारी छ”, उनले भने ।
जनस्वास्थ्य विज्ञ डा रवीन्द्र पाण्डेका अनुसार डेङ्गु लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो । जसमा टाउको दुख्ने, ज्वरो आउने, मांसपेशी तथा जोर्नी धेरै दुख्ने, ग्रन्थी सुन्निने र शरीरमा बिमिरा निस्कनेजस्ता लक्षण देखिने उनले बताए । ज्वरो, बिमिरा र टाउको दुखाइ यी तीन लक्षणलाई डेङ्गुको त्रिभुज मानिन्छ । यसबाहेक डेङ्गुले गिजाबाट रगत आउने, आँखापछाडि असह्य पीडा हुने तथा हत्केला र पैताला राता हुन्छन् । यो रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई सजिलै लाग्न सक्छ । विशेषगरी रोगमा मांसपेशी तथा हड्डीमा निकै पीडा हुने भएकाले यसलाई ‘ब्रेकबोन’ ज्वरो पनि भन्ने गरिएको डा पाण्डेले बताए । लामखुट्टेले टोकेपछि तीनदेखि आठ दिनभित्र डेङ्गुको लक्षण देखापर्छ । यो रोगमा शुरुमा जाडो हुने, टाउको दुख्ने, आँखा घुमाउँदा दुख्ने, ढाड दुख्ने तथा खुट्टा र जोर्नीमा दुख्ने हुन्छ । शरीरको तापक्रम एकाएक बढेर १०४ डिग्रीसम्म पुग्छ तर हृदयको गति, नाडीको गति र रक्तचाप भने कम हुन्छ । अनुहारमा साना डाबर आउँछन् र स्वतः हराउँछन् । छाती र काँधबाट शुरु भएका बिमिरा हातखुट्टा तथा सम्पूर्ण शरीरमा फैलिन्छन् ।
रक्तस्रावजन्य डेङ्गु बढी मात्रामा १० वर्षमुनिका बच्चालाई लाग्छ । पेट दुख्ने, रक्तस्राव हुने, रक्तसञ्चार अवरुद्ध हुने, स्वर बस्ने, खोकी लाग्ने, बान्ता हुने र केही दिनपछि बेहोस हुनेसम्म हुन्छ । साथै, निमोनिया एवं मुटु सुन्निनेसमेत हुन सक्ने डा पाण्डेले जानाकारी दिए । यो रोगको भाइरस एडेस एजिप्टी र एडेस अल्बोपिटस नामका पोथी लामखुट्टेबाट मानिसमा सर्छ । महानगरपालिकाको स्वास्थ्य महाशाखाले घरवरपर जमेको पानी, फोहर, टिन, बोतल, बालटिन, फूलबारीको गमलाको पानी, माटाका भाँडा, टायर, पाइप, खाल्टाखुल्टी, पानीको ड्रम आदि यो लामखुट्टेको आश्रयस्थल भएकाले यी सामग्री तथा स्थानको उचित व्यवस्थापन गरी पानी जम्न नदिन आग्रह गरेको छ । महानगरले विभिन्न वडामा लामखुट्टेको बासस्थानको खोजी गर्दै त्यसलाई नष्ट गर्ने कार्य गरेको छ । कास्कीमा डेङ्गु नियन्त्रणका लागि प्रचारप्रसार र औषधि खरीदलगायत गण्डकी प्रदेश सरकारले रु २१ लाख दिने निर्णय गरेको छ । डेङ्गु सङ्क्रमण दिन प्रतिदिन बढ्दै गएकाले त्यसलाई नियन्त्रण गर्न बजेट नभएको भन्दै सामाजिक विकास मन्त्रालयसँग महानगरपालिकाले माग गरेको थियो ।
स्याङ्जामा डेङ्गुका एक बिरामी
वालिङ । सङ्जामा पनि डेङ्गुका एक बिरामी फेला परेका छन् । पोखरामा डेङ्गुका बिरामी फेला परिरहेका बेला नजिकैको बजार स्याङ्जामा पनि एक जनामा डेङ्गुको लक्षण भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको हो । उक्त कार्यालयका सूचना अधिकारी मित्रलाल अर्यालका अनुसार पुतलीबजार नगरपालिका– २ का ३२ वर्षीय एक पुरुषमा डेङ्गु फेला परेको थियोे । गत बिहीबार अस्पतालमा भर्ना भएर उपचार गराइरहेका उनको ल्याब परीक्षणका क्रममा डेङ्गु भेटिएको पुष्टि भएको उनले बताए ।
डेङ्गु लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । यो रोग विशेषगरी पोथी एडिज नामको लामखुट्टेकोे टोकाइबाट मानिसमा सर्छ शुरुमा बिरामीको टाउको दुख्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने, जिउ तथा हात दुख्ने, आँखाको गेडी दुख्ने, शरीरका मासु दुख्ने डेङ्गुका लक्षण भएकाले यस्ता लक्षण देखिनासाथ स्वास्थ्य संस्थामा उपचारका लागि जानुपर्ने बताइएको छ । डेङ्गुबाट बच्न घर वरपर पानी जम्ने खाल्डाखुल्डी पुर्ने, घर नजिक झाडी नराख्ने र सुत्दा झुल प्रयोग गर्न पनि सुझाव दिइएको छ ।