कतार (जस)– गैरआवासीय नेपली संघ (एनआरएनए) राष्ट्रिय समन्वय समिति (एनसिसी) कतारको २०१९–२०२१ कार्यकालका लागि मोहम्मद मुक्तदा मुसलमानको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । शुक्रबार सम्पन्न भएको निर्वाचनमा मुसलमानले अध्यक्षमा अर्का प्रत्यासी तेज कटुवाललाई पराजित गरेका हुन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी तेज कटुवाललाई फराकिलो मतले पराजित गरेका हुन् ।
प्रतिस्पर्धी कटुवालले प्राप्त गरेको १ हजार १ सय २६ मतलाई ९ सय ४० भोटले उछिन्दै मुक्तदाले २ हजार ६६ मत प्राप्त गरेका थिए। निर्वाचनबाट मुक्तदा समर्थक कार्यसमिति निर्वाचन भएको छ । अन्य पदमासमेत मुक्तदाकाे प्यानलले नेतृत्व गरेको समुहका उम्मेदवारहरूले क्लिन स्विप गरेका छन् । त्यस्तै आईसीसी सदस्यमा ४ जना विजयी भएका छन् । जसमा रमेश भट्ट, होमनाथ शर्मा , युवराज शर्मा र केबी हमाल रहेका छन् ।

यसैगरी प्रथम उपाध्यक्षमा मुक्तदा समुहकै उत्तम गुरुङ विजयी भएका छन् । उनले २ हजार १ सय ९३ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नारायण भण्डारीले ८ सय ९० भोट ल्याएका थिए । द्वितीय उपाध्यक्षमा टंक कुमार खड्का विजयी भए । खड्काले २ हजार १ सय ५६ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी ईश्वर काफ्लेले ८ सय ८७ मत ल्याएका थिए।
त्यस्तै महासचिवमा पदम गिरि विजयी भएका छन्। उनले १ हजार ९ सय ५ भोट प्राप्त गरे भने उनका निकट प्रतिस्पर्धी माया केसीले १ हजार १ स भोट पाइन्।सचिवमा अपसर खान र नेत्र भुजेल (नियम) विजयी भएका छन्। खानले १ हजार ९ सय ८८ र भुजेलले २ हजार ६ सय मत ल्याएका थिए। कोषाध्यक्षमा विनोद प्रसाद बसौला विजयी भए । उनले प्रतिस्पर्धी राम प्रसाद गौतमको ८ सय १६ भोटका विरुद्ध २ हजार ५९ भोट ल्याएका थिए। सहकोषाध्यक्षमा तनबिर आलम विजयी भएका छन् । उनको भोट १९ सय ४३ छ भने निकटतम प्रतिस्पर्धी बुद्धबहादुर पाण्डेको १ हजार १ भोट रहेको छ।
युवा संयोजकमा रविन मगर विजयी भएका छन् । प्रतिस्पर्धी श्याम कुमार डाँगीले ल्याएको ७ सय ४६ मतभन्दा १५ सय ३० भोट बढी प्राप्त गर्दे मगरले जित्न सफल भए। महिला उपाध्यक्षमा सरिता भण्डारी र महिला संयोजकमा अम्बिका खत्री यसअघि नै निर्विरोध चयन भएका थिए। विजयी हुने उनीहरु सबै मुक्तदा समूहकै उम्मेदवार हुन् ।
यस्तै विजयी सदस्यहरुमा गजेन्द्र राई , सुनिल कुमार घिमिरे , केशव राज कार्की , ओम बहादुर क्षत्री (सन्तोष क्षत्री ) , केशव प्रसाद खनाल , गोपाल खतिवडा , नरेश श्रेष्ठ , राजु राई,ज्वाला शाही , झविन्द्र आचार्य , घनश्याम जैशी , बालकृष्ण न्यौपाने , अवधेश कुमार मण्डल , अव्दुल खालिक शेख , सेवक वि.क , संजय रजक , शेख अव्दुल राजिक , मो.सकिल अहमद रहेका छन् । यस्तै लेखा संयोजकमा मुक्तार आलम, लेखा सदस्यमा कबिन्द्र कँडेल र लेखा सदस्य पुरुषोत्तम लामिछाने विजयी भएका छन् । निर्वाचन दोहास्थित नेपाली राजदूतावासमा सम्पन्न भएको थियो ।

मुक्तदा एनआरएनए एनसीसी कतारको सल्लाहकार, अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजका निवर्तमान अध्यक्षसहित विभिन्न सामाजिक संघसंस्थामासमेत आवद्ध रहेका छन् । कतारमा व्यवसाय गरिरहेका मुक्तदा अघिल्लो कार्यसमितिमा पनि अध्यक्षका उम्मेदवार थिए । उनी यसपटक अघिल्लो पटकको हारलाई बदलेर एकपटक एनआरएनए एनसीसी कतारको नेतृत्व सम्हाल्ने घोषणासहित निर्वाचनमा लागेका थिए । बिजयपछि जनसवालसँग कुरा गर्दै उनले भने –‘सामाजिक काम गर्नका लागि हरेक कुरा दिन सक्नुपर्छ, त्यसका लागि म तयार भएर आएको छु र सबैको समर्थनमा काम अघि बढाउनेछु ।’
अध्यक्षमा बिजयी मुक्तदाको नेकपा पार्टीमा बलियो पहुँच रहेको छ । एनआरएनए अभियानमा अनुभवसमेत बटुलेका मुक्तदाले संस्थाभित्र रहेर काम गर्दाको अनुभव र भोगाइबाट संस्थालाई थप गतिशील बनाउन लिइएको लक्ष्य र आफ्ना कामको सूचीहरुलाई अघि बढाउने बताएका छन् । कतारमा आएर नेपालीहरूले प्राप्त गरेको ज्ञान, सीप, क्षमता र अनुभवलाई नेपाल र नेपालीको हितमा जोड्ने कामलाई परिणाममुखी बनाउने उनको प्राथमिक एजेन्डा उनको घोषणा पत्रमा रहेको छ । उनले वर्तमान कार्यसमितिले सुरुवात गरेका राम्रा कामहरूको निरन्तरतामा पनि आफ्नो प्राथमिकतामा रहने बताउँदै प्रवासमा भावनात्मक तथा एकताको मार्गमा सँगै अगाडि बढ्नु पर्छ भन्ने चाहना राख्दै सबै तह र तप्काका व्यक्तिहरूसँग समन्वय गरी संस्थालाई एक दरिलो खम्बा बनाउने बताएका छन् । उनले नेपालीहरुलाई रोजगारीको अवसर, श्रमिक कल्याणकारी कोष, नेपालमा उत्पादित कृषिजन्य बस्तुको कतारमा बजार विस्तार, नेपाली विद्यालयको स्थापना, नेपालको पर्यटन प्रवद्र्धन, कामदारहरुको स्वास्थ्य उपचारमा मद्दतलगायतका मुद्दालाई प्राथमिकता दिने बताइसकेका छन् ।
