बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

एभिसी एसियन सेन्ट्रल जोन च्याम्पियनसिप

बुधबार, भाद्र ४ २०७६

नेपाल बाहिरियो, उज्वेकिस्तान सेमिफाइनलमा
काठमाडौँ(जस)– लगातार दोस्रो खेलमा पराजित हुँदै नेपाल एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्प्यिनसिपको समूह चरणबाटै बाहिरिएको छ । अघिल्लो चरण प्रवेशका लागि जित्नै पर्ने बाध्यताकाबीच माल्दिभ्सविरुद्ध बुधबार उत्रेको नेपालले ३–० को सोझो सेटमा हार बेहोर्दै च्याम्पियनसिपको अघिल्लो चरण पुग्नबाट बञ्चित रह्यो । माल्दिभ्स २५–२१,२५–२१ र २५–१४ को सोझो सेटमा विजयी भएको थियो । तीन वर्षअघि माल्दिभ्सलाई नै हराएर यहि प्रतियोगितामा कास्य पदक जितेको नेपाली टोलीले यसपटक समूह चरणका दुवै खेल लगातार गुमाएको थियो । पहिलो खेलमा पनि नेपाल कीर्गिस्तानसँग ३–० ले पराजित भएको थियो । नेपाललाई हराएसँग समूह एको उपविजेताका रुपमा माल्दिभ्स सेमिफाइनलतर्फ अघि बढेको थियो ।
यसअघि ६ पटकको भेटमा नेपालले ४ खेल र माल्दिभ्सले दुई खेलमा जित हासिल गरेको थियो । तर, यसपटक घरेलु कोर्टमै नेपाली टोली कमजोर देखियो । लगनखेलस्थित नेपाली सेनाको कभर्ड हलमा भएको खेलमा झन्डै ४ हजार दर्शकलाई निराश पार्दै नेपाली टोली च्याम्पियनसिपको अघिल्लो चरण पुग्न असफल भएको थियो ।
यस्तै उज्वेकिस्तान समूह ‘बी’को विजेताका रुपमा एभिसी एसियन सेन्ट्रल जोन च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । च्याम्पियनसिपका सेमिफाइनल पुग्ने उज्वेकिस्तान दोस्रो टोली हो । लगातार दुई खेल जित्दै समूह एबाट कीर्गिस्तान यसअघि नै अन्तिम चारमा पुगेको हो । समूह चरणमा लगातार सबै तीन खेल जित्दै उज्वेकिस्तान ९ अंकका साथ अन्तिम चारमा पुगेको हो । लगनखेलस्थित नेपाली सेनाको कभर्ड हलमा बुधबार उज्वेकिस्तानले अफगानिस्तानलाई ३–० को सोझो सेटमा हराएको थियो । उज्वेकिस्तानले खेल २५–२३,२९–२७,२९–२९ ले जितेको थियो ।
कडा टक्कर दिएर पनि अफगानिस्तान कुनै पनि सेट जित्न असफल रह्यो । च्याम्पियनसिप अघि नेपालसँग खेलेको दुवै मैत्रीपूर्ण खेल पनि अफगानिस्तानले समान ३–२ ले गुमाएको थियो । पहिला दुई खेलमा उज्वेकिस्तानले साविक विजेता तुर्केमेनिस्तान र बंगलादेशलाई हराएको थियो । समूह एबाट पनि कीर्गिस्तान यसअघि नै विजेताका रुपमा अघि बढिसकेको छ । अब नेपालले ५ औं स्थानका लागि समूह बीको तेस्रो टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार