त्रिपोली(रासस÷सिन्ह्वा) ः लिबियाका तटीय जलरक्षकका प्रवक्ता अयुब क्वासिमले पश्चिमी तटीय जलक्षेत्रबाट ५७ जना अवैध आप्रवासीलाई उद्धार गरिएको बताउनुभएको छ । उहाँले आप्रवासी एउटा काठले बनेको डुङ्गामा सवार रहेको जानकारी दिनुभयो । डुङ्गामा सात जना महिला र नौ जना बालबालिका थिए ।उद्धार गरिएका ती आप्रवासीमा अफ्रिकी र अरब मुलुकका नागरिक रहेको प्रवक्ता क्वासिमले बताउनुभयो ।संयुक्तराष्ट्र संघीय शरणार्थीसम्बन्धी उच्चायुक्तको कार्यालय (युएनएचसिआर)ले लिबिया पछिल्लो समय आप्रवासीका लागि सुरक्षित मुलुक नरहेको बताएको छ । युएनएचसिआरले उद्धार गरिएका आप्रवासीलाई लिबियाली हिरासतमा नराख्न बारम्बार अनुरोध गरिआएको छ ।
अफ्रिका र अरब मुलुकबाट युरोप प्रवेश गर्नेक्रममा आप्रवासीले लिबियाली जलक्षेत्रको मार्ग प्रयोग गर्ने गरेका छन् । असुरक्षित डुङ्गाबाट यात्रा गर्ने भएकाले धेरै आप्रवासीको डुबेर मृत्यु हुने गरेको छ । मौसमी अनुकूलता भएपछि आप्रवासीले लिबियाको पश्चिमी जलक्षेत्र रोज्ने गरेको पाइन्छ ।