शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

इरानी तेल ट्याङ्कर गन्तव्यतर्फ प्रस्थान, अमेरिकी माग अस्वीकार

सोमबार, भाद्र २ २०७६

जिब्राल्टर(रासस/एएफपी) : जिब्राल्टरले नियन्त्रणमा लिएपछि कुटनीतिक विवादको केन्द्रमा परेको इरानी तेल ट्याङ्कर जिब्राल्टरले छाडेको छ । बेलायती उपनिवेश जिब्राल्टरले आफूलाई उक्त तेल ट्याङ्कर सुपुर्दगी गर्न अमेरिकाले गरेको अनुरोधलाई पनि अस्वीकार गरेको छ । म्यारिन ट्राफिकका अनुसार जिब्राल्टरको तटीय इलाकाबाट गत जुलाई ४ मा नियन्त्रणमा लिइएको इरानी सुपर–ट्याङ्करलाई आइतबार साँझ छाडिएको थियो । उक्त ट्याङ्कर दक्षिणतर्फ प्रस्थान गरेको थियो ।जिब्राल्टरका सरकारी अधिकारीले उक्त ट्याङ्करको गन्तव्यका बारेमा आफूलाई थाहा नभएको प्रतिक्रिया दिएका छन् ।
जिब्राल्टरले ग्रेस १ नाम दिइएको सामुद्रिक तेल ट्याङ्करलाई युरोपेली संघका प्रतिबन्ध उल्लंघन गरी सिरियातर्फ इन्धन लगेको आशंकामा नियन्त्रणमा लिएको थियो । जिब्राल्टरको उक्त कदम पश्चात् बेलायत र इरानबीचको सम्बन्धमा गतिरोध आएको थियो । इरानले पटकपटक आफूले कुनै नियम उल्लंघन नगरेको दाबी गर्दै आएको थियो । जिब्राल्टरको सर्वोच्च अदालतले गत बिहीबार तेल ट्याङ्कर छाड्न आदेश दिएको थियो । अदालतको आदेश लगत्तै इरानले नयाँ चालक दल जिब्राल्टर पठाएको थियो । हाल यस भिमकाय तेल ट्याङ्करको नाम एड्रियन दरया राखिएको छ । यस ट्याङ्करमा २१ लाख ब्यारेल तेल रहेको छ ।शुक्रबार नै, अमेरिकी न्याय विभागले उक्त ट्याङ्कर नियन्त्रणमा लिन आदेश जारी गरेको थियो । अमेरिकाले उक्त ट्याङ्करबाट इरानी तेल छुकिछिपी सिरियातर्फ लैजान खोजिएको आरोप लगाएको छ ।
जिब्राल्टर सरकारले अमेरिकी अनुरोधलाई अस्वीकार गरेको थियो । युरोपेली संघभित्र इरानमाथिका अमेरिकी प्रतिबन्ध लागू नहुने जिब्राल्टर अदालतको आदेशमा उल्लेख छ । म्यारिन ट्राफिकका अनुसार उक्त ट्याङ्कर ग्रिसको कालामाटातर्फ प्रस्थान गरेको छ । ट्याङ्कर छाड्नुअघि इरानले युरोपेली संघका प्रतिबन्ध भएका मुलुकमा इरानी ट्याङ्कर नपठाउने लिखित प्रतिबद्धता जिब्राल्टर सरकार समक्ष व्यक्त गरेको थियो ।जिब्राल्टरको कदमको विरोधमा इरानले बेलायती ध्वजाबाहक स्टेना इम्पेरो नामको तेल ट्याङ्कर कब्जामा लिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार