बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

भलिबल प्रतियोगितामा सहभागिता जनाउन अफगानी टोली नेपालमा

मंगलबार, साउन २८ २०७६

काठमाडौं(जस)–काठमाडौँमा आयोजना हुने एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगितामा सहभागिता जनाउन अफगानिस्तानको राष्ट्रिय भलिबल टोली मंगलबार नेपाल आइपुगेको छ । आगामी भदौ २ देखि ८ गतेसम्म हुने खेलमा सहभागिता जनाउन अफगानिस्तानको राष्ट्रिय भलिबल टोली नेपाल आइपुगेको हो । नेपाल भलिबल सङ्घका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अफगानिस्तान टोलीलाई स्वागत गरे ।
नेपालले अफगानिस्तानसँग यही साउन २९ र ३० गते दुई मैत्रीपूर्ण खेल खेल्दैछ । उक्त खेल लगनखेलस्थित आर्मीको कभर्डहलमा हुनेछ । एभिसी सेन्ट्रल जोनमा आयोजक नेपालसँगै साविक विजेता तुर्कमेनिस्तान, उज्बेकिस्तान, अफगानिस्तान, माल्दिभ्स, किर्गिस्तान र बङ्गलादेश गरी सात राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।
यही च्याम्पियनसिपमा नेपालले तीन वर्षअघि माल्दिभ्समा भएको खेलमा कास्य पदक जितेको थियो । नेपालले हालसम्म अन्तर्राष्ट्रिय भलिबलमा प्राप्त गरेको एकमात्र पदक यसै प्रतियोगितामा हो । एभिसी सेन्ट्रल जोन खेल्ने नेपाली भलिबल टोलीको कप्तानीको भूमिका इमबहादुर रानाले निभाउनेछन् । त्यस्तै टोलीको अन्य सदस्य खेलाडीमा हरिहजुर थापा, नरेन्द्र गिरी, विशाल विक, राजकुमार निरौला, हरि अधिकारी, दुर्गा खड्का, दीपकराज जोशी, धनबहादुर भट्ट क्षेत्री, राजेन्द्र विष्ट, कुलबहादुर थापा, टेकराज अवस्थी, विनोदबहादुर चन्द र ईश्वर थापा मगर छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार