कास्की(जस)–पर्यटकीय शहर पोखरामा आगामी भदौ १४ गते ‘प्रथम नेपाल फुलकन्टयाक्ट प्रेसिडेन्ट कप कराँते ग्राण्ड च्याम्पियनशिप’ आयोजना हुने भएको छ । नेपाल फुलकन्ट्याक्ट कराते महासङ्घको आयोजनामा हुने प्रतियोगितामा १५ सङ्घका ३२ पुरुष र ३२ महिला गरी ६४ खेलाडीले प्रतिस्पर्धा गर्ने महासङ्घका अध्यक्ष दमन बस्नेतले बताए । प्रतियोगितामा पुरुष तथा महिला खुला तौल समूहमा महासङ्घमा आबद्ध सबै सङ्घका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । विजेताले नगद रु एक लाख, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः रु ५० हजार र रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
खेलको पहिचान, खेलाडीको उत्साह तथा प्रशिक्षकको परिश्रमबाट अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गरी यस खेलप्रति सर्वसाधारणको आकर्षण बढाउन प्रतियोगिता गर्न लागिएको बस्नेतले बताए । डोजो, सङ्घ, क्लब, खेलाडी तथा प्रशिक्षकको हकहित संरक्षण तथा राष्ट्रियस्तरका खेलाडी तयार गरी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने उद्देश्यले विसं २०६१ मा महसङ्घको गठन भएको बताइन्छ ।