काठमाडौँ । आईसीसी टि-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपालले आज आफ्नो दोस्रोमा मलेसियासँग खेल्दै छ । नेपाल र मलेसियाको यस खेलमा वर्षा बाधक हुने देखिएको छ । बर्षाका कारण टस हुन सकेको छैन भने खेल हुने सम्भावना कम रहेको बताइएको छ । अहिले पानी परिरहेको छ ।
आज खेल शुरु हुन नेपाली समय अनुसार ९ बजे ४२ मिनेट अगाडी नै बर्षा रोकिनु पर्ने हुन्छ । यो समयसम्म वर्षा नरोकिए नेपालले अंक बाड्ने छ ।
त्यस्तै पहिलो खेलमा कतारविरुद्ध घाइते भएका कप्तान पारस खड्का भने यो खेलमा नखेल्ने भएका छन् । ढाडको समस्या भएका कारण कतारविरुद्धको खेलको दोस्रो इनिंगको पुरै
समय मैदान बाहिर बसेका पारसले यो खेल नखेल्ने भएका हुन् । आजको खेल भएमा नेपालको कप्तानी ज्ञानेन्द्र मल्लले गर्ने भएका छन् ।
यस खेलमा अंक बाड्ने अवस्था आएमा भने नेपालको छनौट हुने सम्भावना न्यून हुन जाने छ । नेपाल यस पछि शनिबार आइतबार कुवेत र सिंगापुरसँग खेल्दै छ ।
बाँकी दुवै खेल जितेमा पनि नेपालको अंकगणितीय सम्भावना मात्र बाँकी रहन्छ । नेपालले दुवै खेल जितेमा मलेसियाले कम्तिमा एक खेल हार्नु पर्ने हुन्छ भने नेपालले जित्ने खेलमा रनरेट उच्च राख्नु पर्ने दबाब हुने छ ।