भिएलएन सञ्चालक श्रेष्ठले पाए सबैतिरबाट सफाई, मन्त्री बिष्ट आफुले लगाएका सबै आरोप झुटा ठहरिएसँगै परे नैतिक संकटमा

काठमाडौं(जस)– भिएलएनका सञ्चालक रामप्रसाद श्रेष्ठले काठमाडौं जिल्ला अदालतबाट पनि सफाई पाएका छन् । श्रेष्ठमाथि परेको ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतले सफाई दिएको हो । श्रेष्ठले २०७५ मंसिर २६ गते जिल्ला अदालत ललितपुरबाट पनि उक्त मुद्दामा सफाइ पाइसकेका छन् । यो सँगै सरकारले श्रम तथा रोजगार मन्त्रालयले बैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारमाथि विभिन्न संस्था खडा गरी आर्थिक शोषण गरको भन्दै हालेको मुद्दा हारेको छ । सरकारले मलेसिया जाने कामदारको भिसा प्रोसेसिङको नाममा भिएलएन, ओएससी , आइएससी सन्चालन गरेर अवैधरुपमा रकम संकलन गरेको भन्दै भिएलएनका सञ्चालक राम श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको थियो। तर जिल्ला न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले श्रेष्ठमाथि लागेको ठगी मुद्दामा माग दाबी नपुगेको भन्दै दोषी ठहर नहुने अन्तिम आदेश सुनाएको छ ।
मलेसिया जाने कामदारहरुमाथि ठगी गरेको भन्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रेष्ठमाथि २ अर्ब ८६ करोडको मागदाबी गर्दै मुद्दा दायर गरेको थियो। सरकारले उनलाई पक्राउ गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। जिल्ला अदालतबाट उनी १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।उनी रिहा भए लगत्तै ललितपुरमा पनि मुद्दा रहेको भन्दै प्रहरीले अदालत परिसरबाटै उनलाई पक्राउ गरेको थियो। जिल्ला अदालत ललितपुरले पनि उनलाई धरौटीमा छाडेको थियो। पछि उनले त्यहाबाट पनि सफाइ पाएका थिए । भिएलएनसहित, जिएसजी, वान स्टेप सेन्टर,बायोमेटृक लगायतका संस्थालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले गत बर्ष जेठ २ गते आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी खारेज भएको घोषणा गरेका थिए।
त्यसयता बन्द भएको मलेसियाको रोजगारी अझै खुल्न सकेको छैन। गत कात्तिकमा मलेसियासँग श्रम समझदारी भए पनि हालसम्म रोजगारी खुल्न सकेको छैन। श्रममन्त्री बिष्टले मलेसिया रोजगारी छिट्टै खुल्ने भनेर भन्दै आए पनि भेन्डर परिबर्तनको बिबादका कारण रोजगारी अझै खुल्न सकेको छैन । श्रममन्त्री बिष्टले मलेसिया सरकारलाई आफुले कारबाही गरेका संस्थालाई भेन्डर नदिन दबाब दिईरहेका छन् तर, मलेसियाले पुरानै संस्था आफ्ना आधिकारिक संस्था भएकाले ति संस्थाको बिकल्प नभएको बताउँदै आएको छ । अहिले मुद्दा हारेपछी श्रम तथा रोजगार मन्त्री बिष्टलाई धर्मसंकट परेको छ । आफुले दोषी ठहर गरेको संस्थालाई अदालतले सफाई दिएपछी उनको आगामी कदम के हुन्छ त्यो भने हेर्न बाकी छ ।
विष्टको एकतर्फी निर्णयका कारण मलेसिया रोजगारीमा संलग्न करिब ६०० बढी वैदेशिक रोजगार ब्यबसायी बिगत १३ महिनादेखि बिना काम अफिस खोलेर मात्रै बसिरहेका छन भने नेपालीहरुको प्रमुख वैदेशिक रोजगारको गन्तब्य मुलुक बन्द हुदा लाखौं कामदार रोजगारीमा जानबाट बन्चित भएका छन । यता नेपाल सरकारले एकतर्फीरुपमा मलेसिया रोजगारी बन्द गराउदा मलेसियाले यस्को बिकल्पको रुपमा बङ्गलादेशबाट कामदार लिने तयारी शुरु गरेको छ । यो भएमा नेपाली बैदेशिक रोजगारीमा ठूलो प्रभाब पर्ने बैदेशिक रोजगार बिज्ञहरु बताउछन् । बिज्ञहरुका अनुसार अहिले मलेसिया रोजगारी रोकिनुमा पहिलो भेन्डर परिवर्तन कोसिस दोस्रो बङ्गलादेशी र भारतीय एजेन्टहरुको खेल र तेस्रो स्वास्थ परिक्षण बिबाद रहेका छन । तर, व्यवसाय नै संकटमा पार्ने गरि एकपक्षीय निर्णय र्दै आएका मन्त्री विष्ट अदालतमा धमाधम हार्न थालेपछि अब अगाडि के गर्छन भन्नेमा धेरैको चासो रहेको छ । अब मन्त्री विष्टका अघि अहिलेकै प्रक्रियाबाट मलेसिया कामदार पठाउन दिनुको विकल्प नरहेको व्यवसायीहरु बताउँछन् । ‘मन्त्री विष्टका अगाडि मलेसियाको रोजगार तुरुन्त खुला गरेर सेफल्याण्डिङ गर्नुको विकल्प छैन । नभए उनी आफैं कमिसनको चक्करमा परेर मलेसिया रोजगारी बन्द गरेको प्रमाणित हुने देखिन्छ’, एक रोजगार व्यवसायीले भने ।