काठमाडौं (जस)– नेपाली महिला भलिबल टोलीले आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) कालागि शनिबारदेखि प्रशिक्षण शुरु गरेको छ । पहिलो दिनको प्रशिक्षणमा २५ खेलाडीमध्ये १६ खेलाडीको उपस्थिति रहेको थियो । पहिलो दिन सामान्य परिचयात्मक कार्यक्रम मात्रै भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) अन्तरगतको भलिबलका मुख्य प्रशिक्षक सलिना श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार टोलीको पुर्ण प्रशिक्षण १ साउनबाट शुरु हुनेछ । राष्ट्रपति रनिङ शिल्ड, विभागका खेलाडीहरुको आन्तरिक प्रशिक्षण र केही खेलाडीहरु बिरामी रहेका कारण आइतबारबाट शुरु हुने प्रशिक्षण अब बुधबारदेखि हुने प्रशिक्षक सलिना श्रेष्ठले बताइन् । विभाग बाहिर र काठमाडौं बाहिरका खेलाडीहरुलाई खाने बस्ने सुविधा प्रदान गरिएको छ । प्रशिक्षण त्रिपुरेश्वरस्थित राखेप कभर्ड हल अथाव आर्मीको कभर्डहल लगनखेलमा हुनेछ । महिला टोलीलाई जगदिश प्रसाद भट्टले प्रशिक्षण दिनेछन् ।
टिम म्यानेजरमा संघका सदस्य रिता कोइराला रहेका छन् । भलिबलकी प्रमुख प्रशिक्षक सलिना श्रेष्ठ, संघका उपाध्यक्ष यामबहादुर गुरुङ, जगदीशप्रसाद भट्ट, सुदेशकुमार रिमाल र मनवीर छन्त्याल रहेको ५ सदस्यीय छनोट समितिले नियमित कप्तान विनिता बुढाथोकी र उपकप्तान मन्जु गुरुङलगायत अनुभवी खेलाडी नेविका चौधरी, कोपिला उप्रेती, मनिषा चौधरी र कृपा अधिकारीलाई टिम बाहिर राख्दै थुप्रै नयाँ अनुहारलाई टिममा समावेश गर्दै गत जेठ १४ गते २५ सदस्यीय प्रारम्भिक टोलीको छनोट गरेको थियो ।