काठमाडौं(जस)–फेम नेपालको आयोजनामा गायक सुगम पोखरेलको ‘१ एमबी फेरी त्यो दिन’ नामक नेपाल टुर सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ । देशका विभिन्न जिल्लामा आयोजना हुन लागेको यो टुर सुगमको पहिलो इन्डोर टुर हो । जुलाई १२ तारिक पोखराको किङ्स लाउन्जबाट सुरु हुने कन्सर्ट जुलाई १३ तारिक बुटवल, १५ नारायणगड, १७ इटहरी, १९ धरानहुँदै २६ तारिकमा काठमाडौंमा आएर सकिने आयोजकले जनाएको छ ।
काठमाडौँ बाहिर साँझ ६ बजेदेखि ११ बजेसम्म आयोजना हुने कन्सर्ट काठमाडौँमा भने राति ९ बजेदेखि बिहान ४ बजेसम्म आयोजना हुने आयोजकले जानकारी दियो । टुरमा गायक पोखरेलले आफ्ना दर्जन बढी नयाँ तथा पुराना चर्चित गीतहरु प्रस्तुत गर्नेछन् । फेम नेपालका प्रबन्ध निर्देशक बिमल पछाईले ‘नेपाली संगीतको उत्सव’ भन्ने नाराका साथ आगामी दिनमा अन्य गायक गायिकालाई समेटेर टुर गर्ने जानकारी दिए ।