काठमाडौँ(जस)–बुद्ध एयरलाइन्सले संचालन गरेको मोबाइल एपबाट टिकट बुकिङ गर्दा विशेष छुट मिल्ने भएको छ । बुद्ध एयरको एप र वेवसाइटबाट अनलाईन टिकट बुकिङरखरिद गर्दा तत्काल छुट मिल्ने बुद्ध एयरले जनाएको हो । यो छुट बुद्धका राष्ट्रिय उडानहरुमा मात्र प्राप्त गर्न सकिन्छ । यो योजना ट्राभल एजेन्सीबाट टिकट खरिद गर्दा लागु नहुने पनि एयरलाइन्सले जनाएको छ । बुद्ध एयरले मोबाइल एपबाटै टिकट काट्नेलगायनका विभिन्न सुविधा प्रदान गर्दै आइरहेको छ । यो मोबाइल एपमार्फत घरमै बसेर क्लिक गरेकै भरमा आफूलाई चाहिएको गन्तव्यको टिकट खरिद गर्न सकिन्छ ।
कम्पनीले एपमार्फत यात्रुलाई हवाई उडान ढिलो भएको वा नयाँ गन्तव्य थपिएको समेत गरी धेरैभन्दा धेरै सूचना दिने गरेको छ । जस्तोः घरमै बसेर टिकट बुकिङ गर्न सकिने, जहाजको उडान तालिका एवं समय परिवर्तन, एयरको सबै उडान र त्यसको अवस्था, पर्यटकीय गन्तव्यहरुबारे विस्तृत जानकारी एपबाटै प्राप्त गर्न सकिन्छ । त्यसैगरी, एपबाटै उडानसम्बन्धी प्रतिक्रिया दिन मिल्ने सुविधा पनि छ । ट्राभल एजेन्सीमार्फत काटेको टिकट कोडमार्फत मोबाइलमै टिकट उपलब्ध हुनुका साथै कम्पनी प्रोफाइल पनि एपमो प्राप्त गर्न सकिने बुद्धले जनाएको छ ।
एपमा नेपाली र विदेशी दुवैले टिकट काट्न पाउने व्यवस्था छ । नेपाली र भारतीयलाई एउटा भाडादर र तस्रो मुलुकका नागरिकलाई अर्को भाडादर भएको कम्पनीले बताएको छ । बुद्धका साना ठूला गरी १२ वटा जहाज सञ्चालनमा छन् । बुद्धसँग ७२ सिटका एटीआर विमान ७ वटा, ४७ सिटका ३ वटा र १८ सिटका २ वटा जहाज सञ्चालनमा छन् । कम्पनीसँग ७ वटा एटीआर ७२–५००, ३ वटा एटीआर ४२–३२० र २ वटा विचक्राफ्ट १९००डी रहेका छन् ।
विगत ६ वर्षदेखि भारतको बनारसमा उडान भर्दै आएको बुद्ध एयरले एटीआर ७२–५०० बाट भारतको कोलकोता उडान पनि सुरु गरिसकेको छ । हाल राष्ट्रियस्तरमा बुद्धले काठमाडौँबाट पोखरा, भद्रपुर, भैरहवा, भरतपुर, विराटनगर, धनगढी, जनकपुर, नेपालगन्ज, लम्लिङटार, सिमरा, सुखेतमा उडान भर्दै आएको छ । त्यसैगरी कम्पनीले काठमाडौँबाट एभरेस्ट एक्स्पेरियन्स, पोखरा माउन्टेन फ्लाइट (एक्स्पेरियन्स अन्नपूर्ण)को उडान पनि गर्दै आएको छ । बुद्धले हरेक दिन ६० वटा जति उडान भर्ने गरेको छ ।