शनिबार, साउन १६ २०८३

शनिबार, साउन १६ २०८३

तयारी नपुगेर तरकारीको विषादी परीक्षण रोकियो : प्रम ओली

आइतबार, असार २२ २०७६

काठमाडौं(जस)–प्रधानमन्त्री केपी शर्मा ओलीले तयारी नपुगेका कारण विषादी परीक्षण रोकेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठकमा सांसदहरुले कसको दबाबमा परीक्षण रोकियो ? भनेर प्रश्न गरेपछि प्रधानमन्त्री ओलीले यस्तो जवाफ दिएका हुन् । प्रक्रिया पूरा नगरी अघि बढेका कारण समस्या भएको प्रधानमन्त्रीको भनाइ थियो । ‘हामीले आफ्नो प्रक्रिया पूरा नगरी अगाडि बढिएछ भन्ने महसुश भयो, उनले भने, ‘मन्त्रालयबाट प्रस्ताव आएपछि पुनर्विचार गरेका हौँ । यसमा कुनै दबाब होइन । तयारी नै नपुगेकाले हो ।’ यस्तै बैठकमा सांसदहरुले पार्टी एकताको बाँकी काम, सरकारको काम कारवाही तथा समसामयिक राजनीतिक विषयमा सरकार र शीर्ष नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको एक वर्ष पूरा भए पनि एकता प्रक्रियाका बाँकी काम पूरा नभएकामा सांसदहरुले आपत्ति प्रकट गराएका हुन् । यस्तै नेपालमा आयात हुने भारतीय तरकारीको विषादी परीक्षणको विषयमा भएको निर्णय किन फिर्ता भयो भन्दै सांसदहरुले सरकारको निर्णयले जनतामा नकारात्मक सन्देश त गएन भन्ने प्रश्न गरेका थिए । बैठकबारे जानकारी दिँदै नेकपा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले पार्टी एकता, संसद्, सरकारको नीति कार्यक्रम, विधेयक र समसामयिक विषयमा छलफल भएको बताए । शनिबारको बैठकमा २२ सांसदले सरकार, आगामी आर्थिक वर्षको बजेट, पार्टी एकता र अन्य समसामयिक विषयमा सरकार र शीर्ष नेतृत्वको स्पष्ट जवाफ आउनुपर्ने धारणा राखेका थिए ।
बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री एवम नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले यसै महीनाको अन्त्यसम्म पार्टी एकताको काम सम्पन्न गर्ने प्रतिबद्धता दोहो¥याए । “काम गर्दै जाँदा एकताका केही काम बाँकी रहेको भए पनि अब त्यो धेरै दिन बाँकी रहँदैन, यसै महीनाको अन्त्यसम्म टुङ्गो लगाउने तयारी भएको छ”, उनले भने । प्रधानमन्त्री ओलीले केही विषादी तरकारी आयात भइरहेको भन्ने सूचनाका आधारमा त्यसलाई रोक्न आवश्यक प्रक्रिया अगाडि बढाइएको भए पनि पूर्वाधारको अभावमा तत्काल नसकिएको बताएका थिए । “पूर्वाधारको विकास भइनसकेकाले केही समय लिएर अगाडि बढनुपर्छ”, प्रधानमन्त्रीको भनाइ थियो । सरकारले निर्णय गरेर राजपत्रमा सूचना प्रकाशनपछि पनि भन्सार नाकामा विषादी जाँच गर्ने प्रविधि वा प्रयोगशाला, पूर्वाधार र जनशक्ति नभएको कारण उक्त निणर्य फिर्ता लिनुपरेकोलगायतका विषयमा प्रधानमन्त्री ओलीले निर्देशनात्मक मन्तव्य राख्नुभएको सांसद रामकुमारी झाँक्रीले जानकारी दिइन ।
यस्तै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका बाँकी कामलाई पूरा गर्ने गरी आवश्यक तयारी भइरहेको भन्दै कुनै समस्या आइहाल्छ कि भनेर आशङ्का नगर्न सांसदहरुलाई आग्रह गरे । असार १६ गते बसेको संसदीय दलको बैठकको निरन्तरताको रूपमा शनिबार नेकपा संसदीय दलको बैठक बसेको हो । पार्टीलाई एकताबद्ध बनाएर, देश र जनताको आवश्यतालाई पूरा गर्ने गरी काम भइरहेको तथा कमी कमजोरी भएको विषयमा सुधार गर्ने अध्यक्ष दाहालको भनाइ थियो । सांसद झाँक्रीले आगामी आर्थिक वर्षको बजेटको विनियोजन न्यायिक नभएको र त्यसबारेमा संवाद हुननसकेको विषयलाई समेत बैठकमा उठाइएको जानकारी दिइन । बैठकमा सांसद कृष्णकुमार राईले काठमाडौँको सडकको निर्माण, फोहर व्यवस्थापन, राजधानी हुँदै बगेका नदी सरसफाइलगायतका काममा सरकारले गरेको ढिलाइप्रति चासो व्यक्त गरेका थिए । यस्तै सङ्घ, प्रदेश र स्थानीय तहबीच तालमेल हुन नसकेको विषयलाई समेत बैठकमा उठाइएको सांसद राईले बताए ।
सांसद घनश्याम भुसालले सरकारले पछिल्लो समयमा सीमानाकामा राखेको विषादी परीक्षण गर्ने निणर्य फिर्ता लिएको विषयमा ध्यानाकर्षण गराइएको जानकारी दिए । उनले भने, “पहिलो कुरा, विषादी आयात भइरहेको छ भन्ने विषयमा सरकारले नै स्वयं स्वीकार ग¥यो, दोस्रो ल्याउन पनि पाइन्छ भन्ने विषय पनि मान्यो, यो आफँैमा अन्तरविरोधपूर्ण भयो, यो राम्रो भएन ।” उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले कार्यशैली सुधार गरेर सामूहिक निर्णय प्रक्रिया अपनाउन सुझाव दिए । “प्रधानमन्त्रीको कार्यशैली बदल्नुपर्छ, सामूहिक छलफल हुनुपर्छ, पार्टी कमिटी, संसदीय दलमा छलफल हुनुपर्छ, अनि मात्रै राम्रो निणर्य हुन्छ, परिणाम पनि राम्रो आउँछ”, भुसालले भने । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले नाका क्षेत्रमा जाँच गर्ने यन्त्र, दक्ष जनशक्तिसहित सरकारले व्यवस्था गर्नुपर्ने बताए । “कसैको दबाबसामु झुक्नुपर्ने जरुरी छैन, हामी विश्वस्त हुनुपर्छ । विषादी मिसिएका वस्तु नेपाली जनताले उपभोग गर्दैनन् भन्ने बुझनुपर्छ”, नेता नेपालले भने । उनले हतारमा निणर्य गरेर फिर्ता लिनुभन्दा सोचविचार गरेर मात्र निणर्य गर्न आग्रह गरे ।
भारतबाट आयात हुने विषादी राखिएको तरकारीको परीक्षण नगर्ने निर्णय गरेकामा किन फिर्ता लिइएको हो भन्ने जिज्ञासामा कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले भने, “सरकारले औचित्यका आधारमा काम गर्छ, निर्णय ठिक छ, कहिलेकाहीँ मानिस नबुझेर आलोचना गरिरहेका हुन्छन् ।” यस्तै पत्रकारहरुसँग कुरा गर्दै नेता भीम रावलले आफ्नो देशका जनताको स्वास्थ्यको ख्यालै नगरी कुनै देशले नाकामा जाँच नगर भन्दैमा नेपाल सरकारले त्यस्तै गर्न नहुने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार