शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय बैठकको म्यानमारका मन्त्रीद्धारा उद्घाटन, विभिन्न विषयमा छलफल हुँदैं (फोटोफिचर)

आइतबार, असार २२ २०७६

 

म्यानमार– म्यानमारको यान्गोनमा शनिबारदेखि सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्रशान्त क्षेत्रीय बैठकको आज औपचारिक उद्घाटन भएको छ ।
नेपालको समृध्दिका लागि गैरआवासीय नेपालीहरुको भूमिका विषयमा केन्द्रित रहने बैठकको म्यानमारका अन्तर्राष्ट्रिय सहयोग मन्त्री चो टिन, नेपालका पूर्व परराष्ट्र मन्त्री डा. प्रकाश शरण महत, संघीय संसदका माननीय सदस्य डा. सूर्य पाठक, म्यानमारका लागि नेपाली राजदुत तथा संघका संस्थापक महासचिव भीम उदास, संघका अध्यक्ष भवन भट्ट र संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा.उपेन्द्र महतोले संयुक्त रुपमा रिवन काटेर पानसमा बत्ति बालेर उद्घाटन गरे ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै म्यानमारका मन्त्री टिनले म्यानमार र नेपाल विकासको चरणमा प्रवेश गर्दै गरेका मुलक भएकाले मिलेर काम गर्न सक्ने प्रशस्त सम्भावना रहेको बताए । नेपालले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन म्यानमार सरकारको तर्फबाट सक्दो सहयोग हुने विश्वास दिलाउँदै म्यानमारका जनता पनि विदेश जाने क्रम बढ्दै गरेको अवस्थामा गैरआवासीय नेपालीहरुको अभियानबाट धेरै कुरा सिक्न सकिने धारणा राखे।

संघीय संसदका सदस्य माननीय डा.सूर्य पाठकले विशेष अतिथिका रुपमा सम्बोधन गर्दै गैरआवासीय नेपालीहरु नेपालको सम्पत्ति भएकाले अव यो समुह नेपालको विकासको साझेदार हुनुपर्ने बताए । गैरआवासीय नेपालीहरुले तपाईहरुका विषयमा कसले के भने भन्ने तिर नलागी संविधानमा के लेखेको छ त्यसलाई हेरेर कार्यान्वयनको प्रतिक्षामा बस्न आग्रह गर्दै संविधानको भावना अनुसारका कानूनहरु बनाउन आफूहरु कटिबध्द भएको विश्वास व्यक्त गरे।

त्यसै गरी अर्का विशेष अतिथि नेपाल सरकारका पूर्व परराष्ट्र मन्त्री डा. प्रकाश शरण महतले हामीले विदेशमा रहेका नेपाली वा नेपाली मुलका नेपालीहरुलाई नेपालमा अधिकतम अधिकार सहित नेपालसँगको सम्बन्धलाई जोडी राख्नु जरुरी भएको र त्यसले नेपाललाई नै फाइदा हुने हो भन्ने सबैले बुझ्नु जरुरी भएको धारणा राखे ।

म्यानमारका लागि नेपाली राजदुत भीम उदासले म्यानमारमा नेपाली मुलका म्यानमारी नागरिकले
नेपाली भाषा कला संस्कृतिको जसरी जगर्ना गरिरहेका छन् त्यो उदाहरणीय रहेको उल्लेख गर्दै दुई देशका बीचमा धेरै समानताहरु भएकाले आपसमा सहकार्य गरेर काम गर्ने वातावरण निर्माण गर्नु पर्नेमा जोड दिए ।
संघका अध्यक्ष भवन भट्टले उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन लागि पर्ने बताए। उनले नेपालको समृध्दिका लागि हामी सबै एकजुट हुनु्को अव अर्को कुनै विकल्प नभएको पनि उल्लेख गरे ।
त्यसैगरी संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा. उपेन्द्र महतोले व्यक्तिगत सफलताले व्यक्ति धनी भए पनि राष्ट्र समृद्ध नभएसम्म त्यसको केही महत्व नहुने भएकाले नेपाल राष्ट्रको समृध्दि मात्रै हाम्रो लक्ष्य हुनुपर्ने बताए ।
उद्घाटनमा विभिन्न नेपाली गीत र सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो । म्यानमारमा २ लाख बढी नेपाली भाषी रहेका छन् । ‘नेपालको समृद्धिका लागि गैरआवासीय नेपालीहरुको भूमिका’ विषयमा केन्द्रित रहने बैठक जुलाई ६ र ७ गरी दुईदिने आयोजना भएको हो । बैठकको औपचारिक उद्घाटन आज भएपनि शनिबार एसिया क्षेत्रका राष्ट्रिय समन्वय परिषदको प्रतिवेदनको प्रस्तुति र महिला तथा युवासँग सम्बन्धित कार्यक्रम सम्पन्न भइसकेको छ ।
शनिबारको बैठकको सुरुवात केन्द्रिय अध्यक्ष भवन भट्टको सम्वोधनबाट भएको थियो भने सभापतित्व क्षेत्रीय संयोजक किरणविक्रम थापाले गरेका थिए । बैठकमा उपाध्यक्ष कुमार पन्त र कुल आचार्य, महासचिव डा.बद्री केसी, सचिव डिवि क्षेत्री, प्रवक्ता भूषण घिमिरे, युवा संयोजक सुदन थापा, सल्लाहकार डा.हेमराज शर्मा लगायत अन्य पदाधिकारी एवं सदस्य र अभियन्ताहरुको सहभागिता रहेको छ ।
यसैगरी भेलामा एनआरएनए आइसिसी सल्लाहाकर गोबिन्द सुबेदी, एनआरएनए ओसेनिया संयोजक धर्मराज अधिकारी,मध्यपूर्व संयोजक आर के शर्मा, एनआरएनए मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपाने, पूर्व एसिया प्यासिफिक डिआरसी गोबिन्द श्रेष्ठ, एनआरएन जापान अध्यक्ष टासी वाङ्ग्दि लामा, आइसिसी सदस्य मनोज गोर्खाली , महेश श्रेष्ठ, बिश्व राई, सुदिप कार्की, कपिलदेब थापा,राजु सैयद, मुकेश बरुवाल,एनआरएनए एसिया महिला संयोजक जुनु गुरुङलगायत दर्जनौ देशबाट सयौ प्रतिनिधी तथा सहभागीहरु म्यानमार आइसकेका छन् ।
शनिबारको बैठकमा मुलत प्रवासमा रहेका नेपाली समुदायको क्रियाकलाप नेपाली समुदायले भोग्ने गरेका समस्या र नेपालको कला संस्कृति तथा भाषा प्रवर्धनका कामहरुबारेमा सहभागीहरुले छलफल गरेका थिए । सयौं वर्षको इतिहास बोकेको म्यानमारको नेपाली समुदायले नेपालीहरुको संस्कृति बचाएर राख्न सकेको कुराको सबैले प्रशंसा गरेका थिए । खासगरी थाइल्याण्ड र म्यानमारमा धेरै पहिले देखि नेपालीहरुको बसोवास रहेकाले अन्य मुलुकका नेपालीको भन्दा फरक मुद्दाहरु समेत भएकाले ति विषयमा संघ र सरकारको समेत फरक चासो हुनुपर्ने धारणा बैठकमा उठेको थियो । महिला सत्रमा गैरआवासीय नेपाली अभियानमा महिला तथा युवाहरुको भूमिका अग्रणी हुनु पर्ने नेपाली आमाबाट जन्मेका सबैले नेपाली नागरिकताको अधिकार पाउनु पर्ने आवाज उठाइएको थियो ।
त्यसै गरी युवा सत्रमा दोस्रो तेस्रो पुस्ताका गैरआवासीय नेपालीहरुलाई गैरआवासीय नेपाली अभियानमा सक्रिय गराउनु पर्ने धारणा व्यक्त गरियो । मुलत युवाहरुको विश्वासको तह बढाउनु पर्ने र विभिन्न मुलुकमा रहेका युवाहरुबीच अनुभवहरुको आदानप्रदान गर्दै सहकार्यको वातावरण बनाउनु पर्ने कुरामा जोड दिइएको थियो । क्षेत्रीय बैठकमा एसिया क्षेत्रका जापान, चीन, मकाउ, मलेसिया, थाइल्याण्ड, हङकङ, दक्षिण कोरिया र आयोजक राष्ट्र म्यानमारको सहभागिता रहेको छ भने अन्य क्षेत्र अमेरिका, युरोप, मध्यपूर्व र ओसिनियाको समेत प्रतिनिधित्व रहेको छ । शनिबारको बैठकको संचालन क्षेत्रीय उपसंयोजक पारशमणि पोख्रेल र गणेश शर्माले गरेका थिए । करिब तीनसयको सहभागिता हेको बैठकमा नेपालको समृद्धिसम्बन्धी विभिन्नमा छलफल गरी निर्णय लिइने छ ।

 

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार