बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

पाकिस्तान विश्वकपबाट बाहिरियो, न्युजिल्यान्ड सेमिफाइनलमा

शनिबार, असार २१ २०७६

काठमाडौं (एजेन्सी)–न्युजिल्यान्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । लर्डस मैदानमा शुक्रबार राति भएको खेलमा पाकिस्तानले बंगलादेशलाई ९४ रनले हराए पनि न्युजिल्यान्ड सेमिफाइनलमा पुग्यो । न्युजिल्यान्डले पाकिस्तानलाई नेट रन रेटमा पछि पार्दै सेमिफाइनलमा स्थान बनाएको हो । खेल जितेपनि पाकिस्तान बाहिरियो । यस खेलसँगै विश्वकपको सेमिफाइनल समिकरण समेत पूरा भएको छ । साविक विजेता अष्ट्रेलिया, भारत, आयोजक इङ्ल्यान्ड र न्युजिल्यान्ड सेमिफाइनलमा पुगेका छन् ।
पाकिस्तानले दिएको तीन सय १६ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेश ४४.१ ओभरमा सवै विकेट गुमाएर दुई सय २१ रनमा समेटिएको थियो । बंगलादेशका लागि शकिब अल हसनले शर्धसतकीय पाली खेले । सर्वाधिक ६४ रन बनाएका शकिबले ७७ बलमा ६ चौकाको सहयोगमा उक्त रन बनाएका थिए । लिटन दासले ३२, महमुदुल्लाहले २९, शौम्य सरकारले २२, मुस्फिक्युर रहिम र मोसादेक होसेनले समान १६ रन बनाए । कप्तान मसरफे मोर्ताजाले १५ रन बनाए । तमिम इकबालले आठ रन जोडेका थिए ।
पाकिस्तानका शहिन शाह अफ्रिदी एक्लैले ६ विकेट लिए । सद्धाव खानले दुई विकेट लिए । मोहमद अमिर र वाहब रियाजले समान एक एक विकेट लिएका थिए । यसअघि युवा ओपनर इमाम उल हकले शतकीय पारी खेलेपछि पाकिस्तानले बंगलादेशलाई ठूलो लक्ष्य दिएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा तीन सय १५ रन बनायो । पाकिस्तानका लागि ओपनर इमामले उल हकले एक सय रनको योगदान दिए । ४२ ओभरको पाँचौं बलमा हिट विकेटका रूपमा आउट हुँदै पेभेलियन फर्किनु अघि उनले विश्वकपमा पहिलो शतक पूरा गरेका थिए । बाबर आजमले ९६ रन बनाए । शतक बनाउन चार रनले चुकेका बाबरले ९८ बलमा ११ चौकाको सहयोगमा उक्त रन बनाएका थिए । यसैगरी इमाद वासिम ४३ रनमा क्याच आउट भए । मोहम्मद हफिजले २७ रन बनाए । फकार जमान १३ र हरिस सोहेलले ६ रन बनाएका थिए । बंगलादेशका लागि मुस्ताफिजुर रहमानले १० ओभरमा ७५ रन खर्चिएर पाँच विकेट लिए । मोहम्मद सैफुद्दिनले तीन तथा मेहदी हसनले एक विकेट झारेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार