शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

एनआरएनमा थप योगदानका लागि जिम्मेवार पदमा रहेर काम गर्ने चाहना छ

शुक्रबार, असार २० २०७६

लोक प्रसाद दाहाल
अध्यक्ष, गैरआवासीय नेपाली संघ
(एनआरएनए) एनसीसी बेल्जियम
एनआरएनए आइसिसीका लागि सह–कोषाध्यक्ष पदका उम्मेदवार

 

एनआरएनए अभियानमा लामो समयदेखि सक्रिय लोकप्रसाद दाहाल हाल एनआरएनए एनसीसी बेल्जियमको अध्यक्ष हुनुहुन्छ । लामो समयदेखि स्थायीरुपमा बेल्जियम बस्दै आउनुभएका दाहालले एनसीसी बेल्जियमको महासचिवको जिम्मेवारी पनि सफलतापूर्वक निर्वाह गरिसक्नुभएको छ । नेपालमा बुढाथुम धादिङमा उहाँको घर छ । हाल बेल्जियममा व्यवसायसँगै सामाजिक कार्यमा पनि सक्रिय रहँदै आउनुभएका दाहालले एनआरएनए आइसीसीको सन् २०१९–२०२१ कार्यकालका लागि केन्द्रीय नेतृत्वका लागि आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । केही दिनअघि एनआरएनए ओमानको महाधिवेशनमा एनआरएनए आइसिसीमा सहकोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएका दाहालसँग एनआरएनए अभियान, आगामी नेतृत्व र समग्र एनआरएन अभियानमा केन्द्रित रहेर जनसवाल दैनिकका लागि रामजी बगालेले गरेको कुराकानीको सारसंक्षेप :

 

बेल्जियममा के सिलसिलामा आउनु भयो ? बेल्जियमको बसाई कस्तो रहेको छ ?
मैले सुरुमा प्राथमिक शिक्षा भारतमा पढे । किनभने बुबा उता हुनुहुन्थ्यो । त्यसपछि माध्यमिक शिक्षा भने मैले गाउँकै बुद्धिविशाल माध्यमिक विद्यालयमा एसएलसी सकेपछि गाउँ छाडेर काठमाडौँतिर आए । पछि पुनः उच्चशिक्षाको लागि भारत गए । भारतबाट अध्ययनकै सिलसिलामा सिङ्गापुर पुगे । सिङ्गापुरमा १९९७ मा ट्राभल्स एन्ड टुरिजम पढाइ सकेर रोजगारीकै सिलसिलामा म १९९९ बेल्जियम आए । बेल्जियम आएर लामो समय होटेल तथा रेस्टुरेन्ट एवं हस्पिटालिटी क्षेत्रमा काम गरेर कार्य अनुभव बनाए । मेरो बेल्जियम बसाई एकदमै सङ्घर्षपूर्ण नै रहिरहेको छ । काममा, व्यवसायमा, सामाजिक कार्यमा निरन्तर लागिरहनाले बेल्जियममै सुन्दर भविष्य निर्माण गर्न सफल भए । अहिले एकदमै सुखद र सन्तुष्टपूर्ण नै रहेको छ बेज्लियम बसाई । किनभने, बेल्जियममा धेरै वर्ष काम गरेपछि व्यवसाय गर्ने सोच भएपछि व्यवसायमा लागे । सन् २००४ मा बेल्जियमको परमानेन्ट रेसिडेन्सी पनि पाए । त्यसपछि, सम्पूर्णरुपमा बेज्लियम नै मेरो कर्मभूमि भयो ।

 

बेल्जियममा के–कस्ता व्यावसायहरु गरिरहनुभएको छ ?
म यहाँ धेरै व्यवसायमा आबद्ध छु । मेरो व्यवसायको प्रमुख क्षेत्र भनेको होटेल तथा रेस्टुरेन्ट नै हो । तर, होटेल तथा रेस्टुरेन्टसँगै अन्य धेरै व्यवसायहरू पनि सञ्चालन गरिरहेका छौ । म अहिले विशेष गरी, एउटा थ्री स्टार होटेल नेशनल आन्तोरपिङ, सात वटा सुसी रेस्टुरेन्ट, सहकारी संस्था, हाउजिङ, एसियन सुपरमार्केट, घरनिर्माण कार्य आदि जस्ता विभिन्न व्यवसायमा आबद्ध रहेको छु ।

तपाईँ व्यवसायबाहेक सामाजिक संस्थाहरूमा पनि उत्तिकै क्रियाशील हुनुहुन्छ, कसरी लाग्नुभयो सामाजिक सेवामा ?
मेरो पहिलो प्राथमिक कार्य भनेको व्यवसायभएता पनि वर्षौदेखि म विभिन्न सामाजिक कार्यहरूमा, सामाजिक अभियानहरूमा, सामाजिक सङ्घसंस्थाहरूमा पनि निरन्तर सक्रियरुपमा सहभागी हुँदै आएको छु । खास गरि मेरो सामाजिक कार्यको मूल घर भनेको एनआरएनए नै हो । म एनआरएनएमा सन् २००३ देखि निरन्तर सक्रियमारुपमा आबद्ध छु । म हाल एनआरएनए बेल्जियमको अध्यक्ष पदमा छु । साथै, सामाजिक संस्था वर्क फर फाउन्डेसनको सल्लाहकार, फ्रम पिपल टु पिपल बेल्जियमको सदस्य छु, व्यवसायी सङ्घ बेल्जियमको अध्यक्ष छु । यी र यस्ता सङ्घसंस्थाहरूमार्फत निरन्तर आफ्नो सामाजिक जिम्मेवारिता निर्वाह गर्दै आइरहेको छु ।

 

एनआरएनलाई त धनीहरूको मात्र संस्था भन्ने गरिन्छ नि ?
एनआरएन धनी जन्माउने संस्था चैँ हो । तर, धनीहरूको मात्र संस्था हैन । एनआरएन त संसारभर छरिएर रहेका सारा नेपालीहरूको छाता सङ्गठन हो । यसले विश्वमा रहेका सबै नेपालीबीचमा भाइचाराको सम्बन्ध बढाइरहेको छ । एनआरएनए विदेशमा रहेका नेपालीहरूका नेपाल सरकारको मान्यता प्राप्त एक मात्र विशाल सङ्गठन हो । यो संस्थाका प्रत्येक सदस्यले तिरेको लेवीले चल्ने संस्था हो । केही व्यक्तिहरू धनाढ्य भएता पनि संस्था ती धनाढ्यहरूको मात्र हैन । संस्था सारा परदेशी नेपालीहरूको हो । यस्तो पवित्र संस्थालाई लगाएको त्यस्तो आरोपलाई म कसैगरी स्वीकार गर्न सक्दिन ।

 

एनआरएनमा रहेर के कति काम गर्नुभयो ? के कस्तो अनुभव भइरहेको छ ?
म एनआरएनमा लाग्नुको उद्देश्य भनेकै नेपालको समृद्धिमा आफुले सकेको योगदान पुराउन सकौं भन्ने नै हो । सामाजिक तवरबाट धेरै कामहरू पनि गरिसकेका छौँ । अहिले हामी नेपालको पर्यटन र संस्कृति प्रवद्र्धन गर्ने अभियानमा छौ । नेपालको हरेक समस्यामा एनआरएनएले सकेको सहयोग गरिनैरहेको छ । नेपालमा विपत्ती पर्दा सहयोग गरिरहेका छौ । चाहे सानो सहयोग होस वा ठूलो सहयोग होस तर, सहयोग भनेको सहयोग नै हो । जिम्मेवारीपूर्वक एनआरएनले नेपालमा सकेको सहयोग गर्दै आइरहेको छ । किनभने, एआरएनको प्रमुख उद्देश्य भनेकै जन्मभूमिप्रति आफ्नो कर्तव्य निर्वाह गरौँ भन्ने हो । अहिले हामीले जाजरकोटमा एउटा सुविधा सम्पन्न सभाकक्ष जस्तो प्रविधिमैत्री बिल्डिङ बनाउँदै छौ । मलाई यस्ता सामाजिक कार्यमा लागेर बहुत खुसी मिलिरहेको छ । जुन खुसी मैले व्यवसाय मात्र गरेको भए सायद पाउन सक्ने थिइन । म अहिले बहुत सन्तुष्ट छु । ममा भूकम्पपछि झनै समाजप्रतिको धारणा परिवर्तन भयो । समाजप्रतिको जिम्मेवरिताको जागृति झन् बोध भयो । जसले गर्दा, मलाइ यो अभियानमा लागिरहन थप उत्साह र प्रेरणा मिलेको छ । समाजमा हामीले अझौं धेरै योगदान गर्नुपर्ने छ । जसकोलागि थप सक्रिय र प्रतिबद्ध भएर निरन्तर सामाजिक कार्यमा आफूलाई समर्पित गरिरहन प्रतिबद्ध छु ।

आफ्नो गाँउठाँउतिर के कस्ता सामाजिक कार्यहरू गर्नुभएको छ तपाईँले ?
मैले आफ्नो जन्भभूमिमा पनि केहीहदसम्म सामाजिक कामहरू गरेको छु । आफ्नो जन्मभूमिको लागि भूकम्पपश्चात् २७ जना विशिष्ट डक्टरहरूको समूह लगेर उपचार गर्न मद्दत गरे भने भूकम्पको बेलामा गोरखा र धादिङमा खाद्यान्न प्रदान, गाउँको आफूले पढेको स्कुल निर्माण, मन्दिर निर्माण, खानेपानी निर्माण जस्ता अन्य विविध कार्यहरूसमेत गरेको छु । अझै यस्ता धेरै कामहरू गर्नुपर्ने छ । यी त भए सामाजिक कामहरू । साथै व्यावसायिक रूपमा पनि मैले आफ्नो देशमा धेरै भन्दा धेरै लगानी भित्राउन पहल गरिरहेको छु । नेपालका विभिन्न हाइड्रोमा लगानी गर्दै छु । युरोपमा भन्दा नेपालमा लगानी बढाउँदै छु । नेपालमा बेल्जियमको बियर लैजाँदै छु ।

 

यहाँ लामो अवधि युरोपमा रमाउनु भयो ? युरोपमा के–कस्ता समस्याहरू छन् नेपालीहरुकोलागि ?
युरोपमा खासमा कुनै त्यस्तो समस्या छैन । किनभने यहाँ हरेक समस्याको तत्कालीन समाधान हुन्छ । यहाँ सिस्टमले तत्कालै हरेक समस्याको समाधान गरिहाल्छ । तर, दुःखद कुरा के मात्र हो भने– नेपालबाट युरोप के के नै हो भनेर आउनुहुन्छ तर सोचेको जस्तो हुँदैन, त्यसले गर्दा नेपालीहरू आफ्नै मनोगत समस्यामा फस्छन । तर, अहिले पछिल्लो समयमा प्रोचुगल, पोल्यान्ड, चेक जस्ता देशहरूमा भने केही समस्याहरू देखापर्न थालेका छन् । नेपालीहरू अलपत्र परेका भन्ने सुनिन्छ । यस्ता समस्याहरूलाई नेपाल सरकारले नै राम्रो अनुगमन गर्नुपर्दछ । पहिला पहिला आउनेहरूका लागि युरोपमा राम्रो सम्भावना र अवसरहरू थियो तर अहिले युरोप आउनेलाई सोचेजस्तो त्यति राम्रो छैन । त्यसर्थ, यहाँ आउँदा बुझेर मात्रै आउनु होला ।

तपाईँको यत्रो भव्य सफलताको गोप्यसुत्र के हो ?
हाहाहा । खासमा हरेक सफलताको कुनै त्यस्तो गोप्यसुत्र भन्ने हुन्छ जस्तो लाग्दैन । यद्यपि, यदि त्यस्तो कुनै सूत्र हुन्छ भने त्यो हो– लगनशीलता, इमानदारीता, अनुशासन, क्रियाशीलता र धैर्यता नै हो । र, मेरो सफलताको अर्को महत्पूर्ण पक्ष भनेको मेरो परिवारको सहयोग र समर्थन हो । म युरोप छिरेको आफ्नै दुःखले हो । र, आफ्नै दुःख, सङ्घर्ष र श्रीमती एवं परिवारको साथले जीवनमा खुसी, सन्तुष्टि, सफलता मिलिरहेको छ ।

युरोपको विकासको रहस्य के रहेछ ?
युरोपको विकासको मुख्य कारण कानुनको पूर्ण पालना नै हो । यहाँ सुन्दर व्यवस्था छ । नेपालमा जस्तो हरेक काममा झन्झट बेहोर्नुपर्दैन । नेपालमा जताततै झन्झटिलो प्रक्रिया भएकोले समस्या भईरहेको छ । नेपालमा लगानीको सुरक्षा वा ग्यारेन्टी पनि छैन । युरोपमा भने हर लगानीको ग्यारेन्टी हुन्छ । व्यवसाय गर्न धेरै सहज र सरल प्रक्रिया हुन्छ यहाँ युरोपमा । बेल्जियममा धेरै नेपाली व्यापारी छन् । नेपालमा पनि कानुनको पालना भएमा विश्वभरबाट हजारौँ विदेशी नेपालीहरू लगानी गर्न रातारात आउन तम्तयार भएर बसेको मैले पाएको छु ।

एनआरएनमा अब कसरी अगाडि बढ्दै हुनुहुन्छ ?
हो एनआरएन अभियानमा म अझ सशक्तरुपमा अगाडि बढ्न चाहन्छु । समाजमा योगदान गर्नको लागि जिम्मेवार पदमा रहनु पनि महत्वपूर्ण रहेछ । यसर्थ आगामी केन्द्रीय अधिवेशनमा अझ जिम्मेवार पदमा रहेर काम गर्ने मनसाय अनुसार निरन्तर एनआरएन अभियानमा सक्रिय रुपमा सहभागी हुँदै आएको छु । प्राय सबै एनआरएनए अभियान वा कन्फेरेन्समा उपस्थित हुने गरेको छु । मैले आईसीसी २०१९–२०२१ को लागि सहकोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा पनि गरिसकेको छु । सबै साथीहरूको साथ, विश्वास र समर्थन पाएमा मेरो उम्मेदवारिता सफल हुन सक्छ । मलाई विश्वास छ, मित्रहरूले मलाइ विश्वास गर्नेछन । साथीहरूले मलाइ विश्वास गर्नुभयो भने म यहाँहरूको विश्वासलाई कसैगरी तोडने छैन भन्ने प्रतिबद्धता समेत गर्न चाहन्छु ।

उम्मेदवारी घोषणा गरिसकेको सन्दर्भमा के भन्न चाहनुहुन्छ ?
म यो अभियानमा सधैँ हातमा हात र साथमा साथ मिलाएर अगाडि बढिनै रहने छु । मैले एनआरएनए आईसीसी २०१९–२०२१ को लागि सहकोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेको छु । यहाँहरूले मलाइ साथ र सहयोग गर्नुहुनेछ भन्ने पूर्ण विश्वास छ । म एनआरएनए अभियानमा पदमा रहे पनि वा नरहे पनि निरन्तर मन, वचन र कर्मले लागि नै रहने छु । मैले बुझे अनुसार पद केही पनि हैन बरु सक्रिय सहभागिता र काम नै सबैथोक हो । म सम्पूर्ण एनआरएन साथीहरूलाई यो सबैको साझा संस्था भएकोले सहकार्य गरेर अगाडि बढ्नको निमित्त हार्दिक अपिलसमेत गर्न चाहन्छु । ८० वटै देशका सबै साथीहरूलाई सहकार्य र सहयोगको लागि अपिल गर्दछु ।

 

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार