पोखरा(जस)–बडाहाकिम धनशमशेर राणाले आफ्नै सेतो दरबारमा नाटक ‘पोखराको चक्कर’ मञ्चन गराएर पोखरेली रंग युगको सुरु गरे । सेतो घरबाट सुरु भएको नाट्य यात्रा सेतो घर हुँदै टोलटोलमा पुग्यो । टोलटोलमा नाटक मञ्चन हुन थाले । नाटकमा काम गर्ने दर्जनौ संस्था जन्मे । पोखरेली नाटकको चर्चा पोखरामामै मात्र सिमित रहेन राजधानीसम्म पनि छेड्यो । मोफसलमा मात्र नभई राजधानीसम्म पनि कब्जा जमाउँन सफल पोखरेली नाट्य कर्म एकाएक सेलाउँन पुग्यो । लामो उत्तरचढाब पार गर्दै पोखरामा नाटक ७० को दशकमा आएर फेरि जुर्मुरायो । युवा रंगकर्मीहरु पोखरेली नाटकको साख जोगाउँन कस्सिए । नयाँ अभिनयकर्मि जन्मिए । हिजो आज युवा नाट्यकर्मीहरुले नाटक मञ्चन गरि रहन्छन् ।
उनै, युवा नाट्यकर्मीहरुले जन्माएको युथ क्रियशन थिएटरको प्रस्तुतीमा लोक नाटक ‘घेरो’ मञ्चनको लागि जर्मनी जाने भएको छ । गण्डकी क्षेत्रमा बोलिने लवज, भाषा, शैलिलाई टपक्क टिपेर बालन शैलीमा बनाइएको उक्त नाटक ‘घेरो’ टिम प्रदर्शनको लागि मंगलबार जर्मनी प्रस्थान गर्न लागेको युथ क्रियशन थिएटरका सचिव सौगात पोखरेलले जानकारी दिए । गएको जेठ २४ गते काठमाडौंको सर्वनाम थिएटर मा मञ्चन भएको उक्त नाटक ‘घेरो’ यसअघि पोखरा र सुर्खेतमा समेत मञ्चन भई सकेको छ । काठमाडौं र सुर्खेतमा मञ्चन भएको नाटकले दर्शकबाट राम्रो प्रतिक्रिया बटुलेको उनले बताए । ‘पोखरामा त ‘घेरो’ले १८ हाउस फुल शो नै मञ्चन गरि सकेको छ,’ उनले भने, ‘जर्मनीमा २ दिन शो हुँदै छ । त्यहाँबाट पनि राम्रै साथ पाउँने अपेक्षा लिएका छौं ।’ उक्त नाटक पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सवमा समेत मञ्चन गरिएको थियो । केदार पौडेलले लेखेको नाटकमा युवा रंगकर्मी तथा युथ क्रियसन थिएटरका अध्यक्ष कफिल शर्माको निर्देशन रहेको छ । नाटकमा लेखक केदारको अभिनय समेत रहेको छ ।
पुरातन, रुढीवादमाथिको प्रहार रहेको नाटक स्थानीय जनजीवनको स्वाद चखाउन सफल रहेको निर्देशक शर्माको दाबी छ । नाटकमा कलाकार लक्ष्मण डुम्रे र शर्मिला बस्नेत दम्पतीको भुमिकामा छन् भने ममता मञ्जुलले फुरुमै को भुमिका निभाएकी छिन् । नाटकको लेखकसमेत रहेका कलाकार पौडेलले भैंसीको भूमिका निर्वाह गर्दा होस् वा झाँक्रीको भूमिकामा पात्रलाई न्याय गरेका छन् । नाटकमा सञ्जय न्यौपाने, संरचना पौडेल (अञ्जना), प्रसुनलगायतले अभिनय रहेको छ भने मधुसूदन पौडेल, ताराखर पौडेल र विनोद पौडेल भजनमार्फत देखिएका छन् । घेरो नाटक थिएटरको अहिलेसम्मको प्रस्तुतिभन्दा भन्दा फरक भएकाले यसले नाट्यप्रेमी मन जितेको नाटकका लेखक पौडेल दाबी गर्छन् । ६० को दशक देखि सुस्ताएको पोखरेलि रंगमञ्चलाई फेरि सुस्ताउन नदिने निर्देशक शर्मा बताउँछन् । नाटक घेरोले मौलिक संस्कृतिहरुको संरक्षण र प्रचारप्रसारमा महत्वपूर्ण भूमिका खेलेको थिएटरका सचिव सौगात पोख्रेलको भनाई छ । जर्मनीका नाट्यप्रेमीका लागि ‘घेरो’को स्वाद अखाउँन पाउँदा निकै खुसि लागेको उनले सुनाए । नाटकलाई अनुभवी रंगकर्मी सरोज अर्यालले ‘घेरो’ लाई लोकनाटकको स्वरूप दिएका हुन् । जर्मनीमा जुलाई ५ र ६ गते दुई दिन नाटकको मञ्चन हुने छ ।