काठमाडौं, १७ असार । म्यानमरको यांगुनमा यही जुलाई ६ र ७ मा एनआरएनए एशिया प्यासिफिक सातौं बैठक हुँदैछ । जहाँ दोस्रो एसिया प्यासिफिक क्षेत्रीय महिला भेलासमेत आयोजना हुँदैछ । जसका लागि क्षेत्रीय महिला संयोजक, एसिया प्यासिफिक सम्मेलनका लागि जुनुमाया गुरुङ निकै व्यस्त छिन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को बिस्तार र बिकास संगै महिलाहरुको नेतृत्व बिकास पनि बिस्तारै बढेको उनको भनाई छ। उनी भन्छिन–‘ कुनै पनि क्षेत्रमा आरक्षण सधैँ आवश्यक कुरा होइन । तर, एउटा निश्चित समय कालका लागि मात्र आवश्यक कुरा हो। एनआरएनएमा पनि महिलाहरु र युबाहरुको नेतृत्व विकास र सहभागिताका लागि छुट्टै आरक्षित पद सृजना गरिएको छ। हरेक क्षेत्रमा एकजना क्षेत्रीय महिला संयोजक, सबै एनसीसीहरु र केन्द्रिय स्तरमा पनि महिला संयोजक रहने ब्यबस्था छ। यति मात्र होइन केन्द्रमा त महिला उपाध्यक्ष नै रहने बैधानिक ब्यबस्था गरिएको छ।’

उनले अगाडि भनिन–‘यस्तो महिला बिकासहरुको आरक्षित पदिय जिम्मेवारी र कृयाकलापका आधारमा सबै भन्दा अगाडि भने एशिया तथा प्रशान्त क्षेत्रका महिलाहरु रहेका छन्। क्षेत्रको सबै जसो राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुमा आफ्नो महिला फोरम गठन गरेर गतिबिधि संचालन गर्न सफल भएको छ ।’
यो क्षेत्रमा महिलाहारुको उपस्थिति र सक्रियता बढिरहेको छ। यो अभियानमा सक्रिय भएर लाग्ने महिलाको नाममा अग्रपंक्तिमा आउने नामहरुमा नाम जुनु गुरुङ हो। दक्षिण कोरियामा एनआरएनएको एसिया प्यासिफिक महिला संयोजकको भूमिकामा निभाई रहेकी गुरुङ यो बेला भने अझै सक्रिय छन्। एसिया प्यासिफिकमा रहेका देशका सबैजसो एनआरएनए एनसीसीहरुमा महिला फोरम गठन गर्दै महिलाहरुको सक्रियता बढाइरहेकी गुरुङकै नेतृत्वमा यही जुलाई ६,७ मा दोस्रो एसिया प्यासिफिक क्षेत्रीय महिला भेला हुँदैछ । महिलाहरुको एसिया प्यासिफिक क्षेत्रीय भेलाले महिलाहरुको नेतृत्व बिकास, व्यवसायिकता र सक्रियता जस्ता कुराहरुमा छलफल गर्ने बताउँदै गुरुङले सम्मेलन ऐतिहासिक र भव्यताका साथ सफल हुने बताइन ।