काठमाडौं(जस)–ललितपुर बक्सिङ संघका तेश्रो साधारण सभाले महेश सिंहको नेतृत्वमा ८ सदस्य कार्यसमिति निर्विरोध चयन गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य अर्जुनवहादुर केसीले उद्घाटन गरेको निर्वाचन सम्वन्धि बिशेष साधारण सभाले उपाध्यक्षमा आठौं सागका स्वर्ण पदक बिजेता रामचन्द्र थापामगरलाई निर्विरोध चयन गरेको छ । त्यस्तै सचिवमा श्यामकाजी अवाले, कोषाध्यक्षमा सुरेन्द्र न्याछ्यो र सदस्यहरुमा पुष्पा बस्नेत, पुस्करराज पन्त, बासुदेब दाहाललाई पनि निर्विरोध निर्वाचित गरेको छ । ललितपुर जिल्ला खेलकुद बिकास समितिको स्विकृति र नेपाल बक्सिङ संघको रोहवरमा भएको निर्वाचनको निर्वाचित पदाधिकारीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य केसी, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, पूर्व अध्यक्ष ओलम्पियन रबिराज थापा, बक्सिङका भिष्म पितामह सुरेशसिंह आलेलगायतले प्रमाण पत्र बितरण गरेका थिए ।
निर्वाचनपश्चात अध्यक्ष सिंहले कार्य समितिको बैठक बसेको जानकारी गराउदै भने–‘हामीले आश्विन १ देखि ५ सम्म पाँचौं राष्ट्रब्यापी खुला महिला तथा पुरुष बक्सिङ प्रतियोगिता गर्ने निर्णय गरेको छौं ।’ त्यस्तै आठौं सागमा स्वर्ण बिजेता हात बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगरलाई उपाध्यक्षमा मनोनित गरेका जानकारी पनि सिंहले गराए । उनले भने–‘हामी पहिलो कार्यकालमा भएका महत्वपूर्ण कार्यलाई निरन्तरता दिदै थप नयाँ योजनाक साथ अगाडि बढ्ने छौं, जसले ललितपुर जिल्लामा रहेका बक्सिङका प्रतिभावन खेलाडीलाई मूल धारमा ल्याएर राष्ट्रको गौरब बढाउन सकियोस् ।’ २०४२ सालमा बक्सिङ खेल्न सुरु गरि अध्यक्ष सिंहले २०४५ सालमा तत्कालिन राजा बिरेन्द्रको जन्मोत्सव कप खुला बक्सिङ प्रतियोगितामा ५४ केजी तौल समूुहमा स्वर्ण जितेका थिए । उनले २०४४ सालमा भएको जुनियर बक्सिङ प्रतियोगितामा पनि स्वर्ण जितेका थिए । सभारण सभाको उद्घाटनका अवसरमा राखेप सदस्य केसी, नेपाल बक्सिङ संघका अध्यक्ष अवाले,पूर्व अध्यक्ष थापा,ललिपुर जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष होराकाजी श्रेष्ठलगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।