–सुशीला रेग्मी
खरका छाना विस्थापित गरी जस्तापाता लगाउन पाल्पाका विभिन्न स्थानीय तहले करोडौँको रकम लगानी गरेका छन् । गाउँपालिका तथा नगरपालिकाभित्र रहेका घरमा खरका छाना हटाएर जस्तापाता छाउन ठूलो रकम खर्च गरेका हुन् । गरीब तथा विपन्न परिवारलाई जस्तापाता उपलब्ध गराएर खरका छाना विस्थापित गर्न स्थानीय तहले यो कार्यक्रम गरिरहेका छन् । यस कार्यक्रमले गरीब तथा विपन्न परिवारमा खुसीयाली छाइदिएको छ । खरका छानोबाट सुख्खा मौसममा आगलागीको जोखिम हुनुका साथै वर्षायाममा पानी चुहिने समस्या उत्तिकै रहेकाले स्थानीय तहले खरका छानारहित अभियान कार्यक्रम चलाएका हुन् । यस आर्थिक वर्षमा ७५ घर परिवारका लागि रु १५ लाख रकम विनियोजन गरी जस्तापाता लगाउने काम भइरहेको माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापामगरले बताउनुभयो । उहाँका अनुसार गत वर्ष ७५ घरधुरीमा रु १५ लाखको जस्तापाता छाउने काम भइसकेको छ । “अबको आर्थिक वर्षमा गाउँपालिकालाई खरको छानामुक्त घोषणा गर्ने गरी जस्तापाता लगाउने काम भइरहेको छ, अन्य स्थानीय तहभन्दा दुर्गम र विकट क्षेत्र रहेकाले खरका छाना हटाएर गाउँपालिकालाई नमूना बनाउने कार्यमा जुटेका छौँ” उहाँले भन्नुभयो ।
रिब्दीकोट गाउँपालिकाले जस्तापाता छाउने कार्यमा पनि लाखौँ रकम खर्च गरिसकेको छ । गतवर्ष २५० घरधुरीमा २२ लाख र यसवर्ष २३० घरधुरीमा १८ लाख रकम विनियोजन गरी जस्तापाता लगाउने कार्यमा खर्च गरिएको गाउँपालिकाका अध्यक्ष नारायण जिसी बताउनभयो । बगनासकाली गाउँपालिकाले गत वर्ष ५५ घर परिवारका लागि रु १५ लाख रकम खर्च गरिसकेको छ भने र यस वर्ष ८३ घर परिवारका लागि रु २५ लाख बराबरको जस्तापाता वितरण गरिने गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताउनुभयो । जस्तापाता छाउन नसक्दा गरीब विपन्न परिवारले खरको छानोमा निकै कष्ठसँग जीवन गुजारा गरिरहेको र वर्षायाममा पानी चुहिने समस्याबाट मुक्त गराउन खरका छानारहित अभियानमा लागेको रैनादेवी गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्की बताउनुहुन्छ । एक सय ६० खरका छाना भएका घरधुरीमा जस्तापाता लगाउन गतवर्ष मात्रै गाउँपालिकाले रु ३० लाख रकम खर्चिएको र यसवर्ष ६५० घरधुरीमा रु एक करोड ६० लाख रकम विनियोजन गरी जस्तापाता वितरण गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो । आगामी आर्थिक वर्षमा गाउँपालिकालाई खरका छानारहित घोषणा गर्ने तयारीका साथ धमाधम जस्तापाता लगाउने कार्य भइरहेको छ ।
गाउँघरमा सम्पन्न परिवारले खरका छाना हटाएर पक्की घर बनाउने र विपन्न गरीब परिवारले सधैँ चुहिने छानोमा बसेर जीवन बिताउन बाध्य नागरिकलाई खरका छानारहित कार्यक्रमले ठूलो राहत मिलेको छ । त्यस्तै तीनाउ गाउँपालिकाले पनि खरका छानारहित अभियान कार्यक्रम यसै वर्षबाट शुरुआत गरेको छ । ५४ घरधुरीका लागि रु २० लाख रकम विनियोजन गरी खरका छानो भएको घरमा जस्तापाता छाउने काम गरिरहेको गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीले जानकारी दिनुभयो । रामपुर नगरपालिकाले पाँच वर्षभित्र खरको छानोरहित नगर घोषणा गर्ने कार्यक्रमअनुसार जस्तापाता सहयोग कार्यक्रम सञ्चालन गरिरहेको छ । गतवर्ष मात्रै १४८ घरधुरीलाई जस्तापाता वितरण गरेको छ । यस आर्थिक वर्षको हालसम्ममा सय घरधुरीमा जस्तापाता वितरण गरिसकेको खरको छानारहित कार्यक्रम संयोजक तथा रामपुर नगरपालिका–७ का अध्यक्ष तीर्थप्रसाद पङ्गेनी बताउनुहुन्छ । “अघिल्लो वर्ष र यसवर्ष रु ५०÷५० लाख रकम नगरपालिकाले विनियोजन गरी जस्तापाता वितरण गरिरहेका छौँ” उहाँले भन्नुभयो । सुन्दर र नमूना नगरका रुपमा चिनाउन नगरपालिकाले विशेष प्राथमिकतामा राखेर खरका छानारहित नगर कार्यक्रम सञ्चालन गरेको नगर प्रमुख रमणबहादुर थापा बताउनुहुन्छ ।
स्थानीयले नगरपालिकामा पेश गरेको निवेदनको आधारमा उनीहरुको पारिवारिक अवस्था हेरेर क्रमैसँग जस्तापाता उपलब्ध गराउने कार्य भइरहेको छ । खरका छानारहित नगर कार्यक्रममा करीब ७५० घरधुरीले आवेदन पेश गरेका छन् । सङ्कलित निवेदनको आधारमा प्राविधिकसहित कर्मचारी र जनप्रतिनिधिको टोली गाउँगाउँमा पुगेर अनुगमन गरेर मात्र प्राविधिक लागत गरी जस्तापाता वितरण गरिरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालले बताउनुभयो । “मूल घरमा खरको छाना भएको हुनुपर्ने र प्राविधिकको नाप नक्साङ्कनअनुसार घरको क्षेत्रफल हेरेर, जस्तापाता छाउने तयारी गरेपछि एक घरधुरीलाई रु २५ हजारदेखि ४० हजारसम्मको अनुदान स्वरुप जस्तापाता उपलब्ध गराउँदै आएका छौँ” उहाँले भन्नुभयो ।
सदियौँदेखि खरको छानामुनि जीवन बिताएका परिवारका लागि जस्तापाताले घर छाउन पाउँदा आफ्नो जीवनमा ठूलै परिवर्तन आए जस्तो अनुभूति भएको बगनासकाली गाउँपालिकाका स्थानीय वासिन्दा दिलकुमारी सोमैले बताउनुभयो । रामपुर नगरपालिका–९ जब्गादी बस्ने शान्ति विकलाई पनि घरमा जस्तापाता लगाएपछि पानी चुहिने समस्याबाट सधाका लागि मुक्त हुनुभएको छ । जस्तापाता लगाउन नसक्दा चुहिने खरको छानामुनि बसेर जीवन बिताउन बाध्य विकको परिवारमा जस्तापाता पाएपछि खुसीयाली छाएको छ । नगरपालिकाले खरको छानो हटाएर जस्तापाता लगाउन उहाँलाई आठ फुटे २४ पाता जस्तापाता सहयोग गरेपछि विकले खुशीको मुहार फेर्नुभएको छ । “वर्षायाममा चुहिने खरको छानोभित्र साना बालबच्चा लिएर कष्टपूर्वक जीवन बिताएँ, अब चुहिने खरका छानामुनि बस्ने दिन गए, जस्तापाता लगाएर वर्षायाममा आनन्दसँग बसोबास गर्ने दिन आए” उहाँले भन्नुभयो । सोही ठाउँकै देवबहादुर सोमैले धमाधम खरको छानो हटाएर जस्तापाता लगाउन शुरु गर्नुभएको छ । नगरपालिकाले उहाँलाई आठ फुटे २९ पाता जस्तपाता उपलब्ध गराएपछि घर छाउने काम शुरु गुर्नभएको हो ।