मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

एसइई परीक्षामा १७ हजार विद्यार्थीको ‘ए प्लस’

शुक्रबार, असार १३ २०७६

भक्तपुर(जस)–राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बिहिबार सार्वजनिक गरेको २०७५ सालको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) परीक्षाको नतिजामा नियमिततर्फ १६ हजार ८८२ विद्यार्थीले जिपिए ३.६० देखि ४ (ए प्लस) ल्याएका छन् । कार्यालयले गत वर्षदेखि सङ्घीय संरचनाअनुसार गत चैत १० गतेदेखि २१ गतेसम्म साधारण तथा प्राविधिक धारतर्फ सञ्चालन गरेको सो परीक्षामा नियमित समूहको साधारणतर्फ चार लाख ४९ हजार ६४२ र प्राविधिक धारतर्फको नौ हजार ६३३ जना गरी कूल चार लाख ५९ हजार २७५ परीक्षार्थी सहभागी थिए । परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीका अनुसार ४८ हजार ९६० विद्यार्थीले जिपिए ३.२० देखि ३.६० (ए), ६० हजार ७०६ विद्यार्थीले जिपिए २.८० देखि ३.२० (बी प्लस), ९४ हजार ११० विद्यार्थीले जिपिए २.४० देखि २.८० (बी), ९७ हजार २९९ विद्यार्थीले जिपिए २.०० देखि २.४० (सी प्लस) र ९५ हजार २०९ विद्यार्थीले १.६० देखि २.०० (सी) ल्याउन सफल भएका छन् । यस्तै ४३ हजार ८४० विद्यार्थीले १.२० देखि १.६० (डी प्लस), चार हजार ४२९ विद्यार्थीले ०.८० देखि १.२० (डी) प्राप्त गरेका छन् । आठ हजार २०७ विद्यार्थीको भने विभिन्न कारणले नतिजा सार्वजनिक भएको छैन ।
प्राविधिक धारतर्फ ६९८ विद्यार्थीले ‘ए प्लस’, दुई हजार १७७ विद्यार्थीले ‘ए’, तीन हजार ३५ विद्यार्थीले ‘बी प्लस’, दुई हजार ४५४ विद्यार्थीले ‘बी’, ९०८ विद्यार्थीले ‘सी प्लस’ तथा ९८ विद्यार्थीले ‘सी’ तथा एक विद्यार्थीले ‘डी प्लस’ ल्याएका छन् । प्राविधिक धारतर्फ २६२ परीक्षार्थीको नतिजा सार्वजनिक हुन बाँकी छ । नियन्त्रक अधिकारीका अनुसार साधारण र प्राविधिकतर्फ चार लाख ७५ हजार तीन परीक्षार्थीले परीक्षामा आवेदन दिएका थिए । नियमित र प्राविधिकतर्फ गरी कूल आठ हजार ४६९ परीक्षार्थीको नतिजा सार्वजनिक नगरिएको उनले बताए ।
परीक्षाको मर्यादाविपरीत कार्य गर्ने र गलत विवरण भरी आवेदन दिने दुई परीक्षार्थीको सबै विषय तथा ४८ परीक्षार्थीको विभिन्न विषयसहित कूल ५० परीक्षार्थीको परीक्षा रद्द गरिएको छ । विगत वर्षमा एकैपटक आंशिक परीक्षाको नतिजा सार्वजनिक गर्ने गरे पनि कार्यालयले यस वर्ष भने आंशिक परीक्षाको नतिजा सार्वजनिक गर्न सकेन । पत्रकार सम्मेलनमा परीक्षा नियन्त्रक अधिकारीले जति सक्दो छिटो आंशिक परीक्षाको नतिजा सार्वजनिक गर्ने जानकारी दिए ।
पुर्नयोगको व्यवस्था
आफूले प्राप्त गरेको कुनै विषयको नतिजा चित्त नबुझेमा सम्बन्धित परीक्षार्थीले पुर्नयोग गर्नसक्ने व्यवस्था छ । विद्यार्थीले प्रतिविषय रु ५०० र आवश्यक विवरणसहित परीक्षा नियन्त्रण कार्यालय वा प्रदेश शिक्षा निर्देशनालय वा शिक्षा तथा समन्वय एकाइमा नतिजा प्रकाशन भएको मितिले १५ दिनभित्र निवदेन दिन सक्ने व्यवस्था गरेको परीक्षा नियन्त्रक अधिकारीले बताए । पुर्नयोगका लागि निवदेन कार्यालयको वेबसाइट धधध।कभभ।नयख।लउ र धधध।लभद।नयख।लउ बाट डाउनलोड गर्न सक्ने व्यवस्था गरेको छ ।
पूरक अर्थात् ग्रेडवृद्धि
पूरक अर्थात् ग्रेडवृद्धि परीक्षाको हकमा भने सैद्धान्तिक विषयतर्फ बढीमा दुई विषयसम्म ‘सि’ वा ‘सि’भन्दा तल्लो ग्रेड प्राप्त गरेको वा परीक्षामा दुई विषयसम्म अनुपस्थिति भएको वा दुई विषयसम्म ग्रेड नखुलेको विषयमा परीक्षार्थीले पूरक अर्थात् ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको छ । गत वर्ष नतिजा प्रकाशित भएकै दिन पूरक परीक्षाको तालिका सार्वजनिक गर्ने गरिएको भए पनि यस वर्ष भने केही समयपछि तालिका सार्वजनिक गरिने जानकारी दिइयो ।
नतिजा हेर्ने व्यवस्था
परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा जान्न सकिनेछ । त्यस्तै एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिनेछ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाइटमा नतिजा राखिएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । एसएमएसका लागि ३१००३, ३१००७, ३४९४९, १६००, ३५००१ मा डायल गर्नसक्ने व्यवस्था गरिएको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइट www.moest.gov.np, शिक्षा तथा मानवस्रोत विकास केन्द्रको www.doe.gov.np, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीको www.see.gov.np, , राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीको www.neb.gov.np, www.see.ntc.net.np, www.ncell.axiata.com लगायतका वेबसाइटमार्फत नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ ।

खस्कियो सार्वजनिक विद्यालयको गुणस्तर
माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई)को पछिल्लो नतिजामा पनि निजी लगानीका विद्यालयको तुलनामा सार्वजनिक विद्यालयको स्तर खस्केको छ । सरकारले सार्वजनिक विद्यालय सुधारका लागि विभिन्न अभियान र कार्यक्रम सञ्चालन गरे पनि परीक्षाफलमा निजी लगानीका विद्यालयका विद्यार्थीले राम्रो स्तरीकृत अङ्क (जिपिए) ल्याउँदै आएका छन् । बिहिबार प्रकाशित २०७५ सालको एसइई परीक्षामा कूल सहभागी चार लाख ९५ हजार २७५ विद्यार्थीमध्ये सार्वजनिक विद्यालयबाट ७० दशमलव ८४ र निजीका २९ दशमलव १६ प्रतिशत विद्यार्थी छन् तर माथिल्लो जिपिए ‘ए प्लस’ ल्याउने विद्यार्थी १४ हजार ७८८ निजी विद्यालयकै छन् । जिपिएमा सार्वजनिक विद्यालयका दुई हजार ७९२ विद्यार्थी मात्र छन् ।
सबैभन्दा तल्लो जिपिए ‘इ’ ल्याउनेमा सार्वजनिक विद्यालयका छ हजार ६७३ छन् भने निजीका एक हजार ९६ मात्र छन् । यसरी हेर्दा फेरि पनि सरकारी विद्यालयको स्तर निजीको तुलानमा कमजोर देखिएको छ । शिक्षाविद् डा विद्यानाथ कोइराला कोही पनि विद्यार्थी अनुत्तीर्ण नभनिने अक्षराङ्कन प्रणालीमा पनि सार्वजनिक विद्यालयका यति धेरै विद्यार्थीको नतिजा कमजोर हुनु चिन्ताजनक भएको बताउनुहुन्छ । उनले भने, “सार्वजनिक विद्यालयमा पढाउने शिक्षकले सम्मान र नपढाउने शिक्षकले गाली पाएन । पढाउन नजान्नेलाई पनि सहयोगी वातावरण र समग्रमा शिक्षकलाई प्रोत्साहित गरिएन । त्यसकारण गुणस्तर खस्किएको हो ।”
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परीक्षामा अक्षराङ्कन पद्धतिबारे उत्पन्न अन्योल चिर्न ‘विद्ययालय शिक्षामा अक्षराङ्कन पद्धति, कार्यान्वयन कार्यविधि, २०७२’ जारी यो प्रणालीको कार्यान्वयन गरेको हो । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्बाट २०७२ मङ्सिर २३ मा स्वीकृत भई लागू भएको अक्षराङ्कन पद्धतिबारे अवधारणागत एकरूपता, कार्यान्वयनमा सहजता र स्पष्टता प्रदान गर्न शिक्षा नियमावली, २०५९ को नियम १९२ को (ङ) र (च) अनुसार कार्यविधि लागू गरिएको हो । विद्यार्थीले पाउने प्रमाणपत्र तथा ग्रेड सिटमा उत्तीर्ण÷अनुत्तीर्णको उल्लेख नभई सोको सट्टा विषयगत ग्रेड दिइने र समग्रमा स्तरीकृत अङ्क दिइने प्रक्रिया अक्षराङ्कन हो । विश्वका धेरैजसो मुलुकममा यो प्रणाली छ । ‘अक्षराङ्कन’ भन्नाले तोकिएको सक्षमताको मूल्याङ्कनपश्चात् विद्यार्थीले हासिल गर्ने सिकाइ स्तरलाई अक्षरमा गरिने प्रस्तुति मानिन्छ ।
ग्रे
विद्यार्थीको सिकाइ सक्षमतालाई यथार्थरूपमा प्रमाणीकरण र सिकाइ उपलब्धिको अङ्कन गर्दा देखिने अङ्कगतस्तरलाई नौ अक्षरगत स्तरमा सूचित गरी शैक्षिक क्षतिलाई न्यूनीकरण गर्दै शैक्षिक गुणस्तर प्रवद्र्धन गर्न यो पद्धति अपनाइएको हो । एक शैक्षिकसत्रमा कम्तीमा २२० दिन विद्यालय खुल्ने र १९२ दिन पठनपाठन सञ्चालन हुने तथा प्रतिविषय १७० पाठ्यभार वा १२८ घण्टा सिकाइ क्रियाकलापका आधारमा यसमा मापन गरिनेछ । प्रत्येक विषयको उत्तर पुस्तिकाको परीक्षण र सम्परीक्षण अङ्कमा गरिनेछ र सो अङ्क (सैद्धान्तिक र प्रयोगात्मक भएमा सोको कूल अङ्क) लाई तोकिएको अक्षर ग्रेड प्रदान गर्छ । डी र डीभन्दा तल्लो ग्रेड प्राप्त गरेका विद्यार्थीले कुनै दुई विषय माथिल्लो ग्रेडप्राप्तिका लागि पुनःमूल्याङ्कन गराउन चाहेमा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समितिको निर्णयबमोजिम हुने ग्रेड वृद्धि परीक्षामा सामेल हुन पाउनेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार