काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनको मिति नजिकिदै गर्दा नयाँ नेतृत्वको सरगर्मी बढेको छ । विश्व सम्मेलन तथा महाधिबेशन आगामी अक्टोबर १३ देखि १६ सम्म काठमाडौंमा हुँदै गर्दा एनआरएनए आइसीसीमा नेतृत्वका लागि आ–आफ्नो दाब आउन थालेको हो । यसै सन्र्दभमा धेरै नेपाली कामदारको कर्मभूमि बनेको मध्यपूर्वमा पनि एनआरएनएको केन्द्रीय नेतृत्वमा को आउने भन्ने चर्चा शुरु भएको छ ।

एनआरएनएका अध्यक्षदेखि अन्य पदका आकांक्षीहरुको समेत सहभागिताले ओमानको महाधिबेशन निकै अर्थपूर्ण बन्दैछ । एनआरएनए नेतृत्वमा मध्यपूर्व अगाडि आउन नसकेको बिषयमा पनि यो महाधिवेशनमा वहस हुनेछ । एनआरएनए आइसीसी नेतृत्वमा सचिव, उपाध्यक्ष हुँदै अध्यक्ष पदमा चुनाव टिबी कार्कीले मात्रै चुनाब लडेका थिए । उनि पनि चुनाब जित्नका लागि भन्दा पनि उम्मेदवार बन्नका लागि मात्रै अध्यक्ष पदमा उठेका थिए । एक दशक अगाडि नै आइसीसीको उपाध्यक्ष बन्न सफल सागर नेपाल पनि माथि आएनन् । यूएईबाट रामेश्वर साह कोषाध्यक्ष भएर सफलतापूर्वक कार्यकाल पुरा गरेपनि त्यहाँ भन्दा माथि आएनन् ।
कतारबाट नरेन्द्र भाटले उपाध्यक्ष पदमा प्रतिस्पर्धा त गरे तर जितेनन् । यद्यपि उनी फेरि नेतृत्व तहमा आउने संभावना रहेको छ । एनआरएन अभियानमा परिचित भाट सबैको साथ पाएमा एनआरएनए आइसीसीको नेतृत्व हाँक्न आफु तयार रहेको बताउँछन् । जनसवालसंग कुरा गर्दै भाटले अबको निर्बाचनमा आफु उम्मेदवार बन्ने बताए । एनआरएनएको आगामी नेतृत्वका लागि संभावना बोकेका मध्यपूर्वका एनआरएनहरुमा आइसीसी सचिव भएर काम गरिरहेका डिबी क्षेत्री रहेका छन् । एनआरएनए ओमानको संस्थापकदेखि मध्यपूर्व संयोजक हुँदै आइसीसी सचिव पदमा पुगेका क्षेत्री भिजन र मिशन बोक्ने एनआरएनहरुमा मानिन्छन् ।
एनआरएनए भित्र ‘हजारे अभियान’, सिन्धुलीगढी निमार्णको गुरुयोजना तथा मध्यपूर्वका नेपाली श्रमिकहरुका बारेमा राम्रो अध्ययन गरेका क्षेत्री एनआरएनएको आगामी नेतृत्वका लागि महासचिबमा आउने पक्का छ । एनआरएनए ओमान तथा मध्यपूर्वले क्षेत्रीलाई महासचिव पदमै जानलाई सल्लाह दिइरहेका छन् ।

‘अहिले नै हामीले हतारो गर्न हुँदैन, समय आएपछि माथिल्लो पदमा पक्कै जाने छौं’, क्षेत्री बताउँछन ।’ क्षेत्रीलाई महासचिव वा उपाध्यक्षमा जसरी भए पनि लैजान मध्यपूर्व एकमत रहेको छ । मध्यपूर्वमा एनआरएन अभियानमा सक्रिय भएर लाग्नेमा मध्यपूर्व संयोजक आरके शर्मा पनि पर्दछन् । सफल व्यवसायी तथा समाजसेवीका रुपमा नाम कमाएका शर्मालाई आगामी कार्यकालमा आइसीसीको जिम्मेवार पदमा पठाउन मध्यपूर्वको एकमत छ । एनआरएनका हरेक अभियानमा सक्रिय भएर लागेका शर्मा कोषाध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा रहेको बताइएको छ ।

यद्यपि शर्मा भने एनआरएनका अगुवा, अन्य आकांक्षी र मध्यपूर्वका साथीहसँग छलफल भइरहेको बताउँदै यस अभियान बाट टाढा रहन नसक्ने बताउँछन । एनआरएनए मध्यपूर्वबाट शर्मा सम्भावना बोकेका व्यक्ति मानिन्छन । शर्मालाई कोषाध्यक्षमा नै पठाउनु पर्ने एनआरएनका अगुवाहरुको पनि भनाई छ ।

एनआरएनए मध्यपूर्व उपसंयोजक प्रविन गुरुङ मध्यपूर्व संयोजकका आकांक्षी रहेका छन । तर उनकै सहयात्री एनआरएनए आइसीसी सदस्य मनोज गोर्खालीलाइ पनि मध्यपूर्व संयोजकको आकांक्षीका रुपमा हेरिएको छ । गुरुङले मध्यपूर्व संयोजकमा दावी गरिरहँदा गोर्खालीले पनि त्यही पद दावी गर्ने हुन या अन्य पदमा दावी गर्ने हुन टुंगो लगाएका छैनन । यता गोर्खाली एनआरएनए मध्यपूर्वका अनुभवी खेलाडीका रुपमा समेत चिनिन्छन् । उनमा नेतृत्व क्षमता रहेको छ । कतारमा व्यवसायका अलावा ठूला–ठूला साँगीतिक कार्यक्रमहरु गरिरहेका गुरुङ सामाजिक कार्यमा पनि सक्रिय छन् । गोर्खाली र गुरुङ मिल्ने साथी भएकाले दुई जनामा एक जना मध्यपूर्व संयोजक र एकजना युवा संयोजकमा आउने निश्चित छ ।

एनआरएनए साउदी अरबमा अध्यक्ष हुँदै आइसीसी सचिव, मध्यपूर्व संयोजक पदमा उम्मेदवारी दिएका धरम केसी आगामी कार्यकालमा कुन पदमा जाने हुन, अहिलेसम्म खुलेका छैनन् । एनआरएन मुद्दामा खरोरुपमा प्रस्तुत हुने केसीले पछि साथीहरुसंग छलफल गरेर निर्णय गर्ने बताए । साउदी अरवकै राजु सैयद अहिले एनआरएनए आइसीसी मानार्थ सदस्य छन् । एनआरएन अभियानमा सक्रियरुपमा लागेका सैयद एनआरएनएको आगामी नेतृत्वमा माथिल्लो पदमा जाने सोचमा छन् । उनी एनआरएनए मध्यपूर्वका पुरानो खेलाडीका रुपमा हेरिन्छ ।

एनआरएनए मध्यपूर्वका अर्का उदयमान व्यक्ति हुन् कतारका अब्दुल वासिद । एनआरएनएको सामाजिक उद्यमशीलता विकास समितिको मध्यपूर्व संयोजक रहेका वासिदलाई एनआरएनएको आगामी कार्यकालमा अगाडि बढाउन मध्यपूर्वका नेपाली संघ संस्थाहरुले तयारी गरेका छन् ।

तर उनी भने साथीहरुसंग छलफल भैरहेको बताउँछन । यता सामाजिक कामका साथै एनआरएनए एनसीसी यूएईका अध्यक्ष रमेश श्रेष्ठ पनि एनसीसीको भारी विसाएर आइसीसीको भारी बोक्ने योजनामा रहेका छन् । तर एनसीसी यूएईमा रहदा धेरै राम्रा काम गरेका कारण उनलाई एक कार्यकाल एनसीसी यूएईकै अध्यक्ष बनाउन यूएईका एनआरएनहरु लागिरहेका छन् ।

मध्यपूर्बबाट एनआरएनएको नेतृत्वमा आउन चाहने आकाक्षीहरु धेरै रहेका छन् । कतारबाट विनोद भट्टराई, हंशराज ढकाल, यूएईबाट गोपाल कँडेल, बहराइनबाट दुर्गा गिरी, कुवेतबाट सुरज मास्के, अमित राई आगामी कार्यकालका लागि तयारी गरिरहेका छन् ।
