शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

‘आर्ट र ट्याटु’ गर्दै र सिकाउँदै होनहार प्रतिभाका धनी विक्कु थापा

मंगलबार, असार १० २०७६

विक्कु थापा
आर्टस र ट्याटु प्रशिक्षक

नेपालगन्जमा जन्मिएका विक्कु कुमार थापा अहिले आट्र्स र ट्याटुकै कारण चिनिन्नछन् । होनहार युवा प्रतिभाका रुपमा आफुलाई स्थापित गराएका विक्कु बाल्यकालदेखि नै विभिन्न आर्ट गर्न रुचाउँथे । विक्कुकोे आर्टप्रतिको गहन झुकावका कारणले उनको बुबाले उनलाई सन् २००० को एसएलसीपछि ललितकला क्याम्पसमा भर्ना गरिदिए । ललितकलाबाटै फाइन आट्र्समा इन्टरमिडियट (आईए) तह सकेर ब्याचलर पढ्दा पढ्दै साउदी अरबबाट आट्र्सकै क्षेत्रमा कामको राम्रो अवसर आएपछि थापा सन २००४ मा रोजगारीको लागि साउदी अरब पुगे ।
साउदी अरबमा इन्टेरियर डिजाइन र डेकोरेट्सकोरुपमा लगभग तीन वर्ष लगनपूर्वक काम गरे उनले । साउदीमा दरबारदेखि ठूला–ठूला महलहरू र घरहरूमा पनि इन्टेरियर आर्ट गरेर अनुभव सँगाले । उनले साउदीका कयौँ भित्ताहरूमा कलात्मक आट्र्स भरेका छन् । यसरी उनी साउदीमा लगभग तीन वर्ष बिताएर नेपाल नै फर्किए । तर, नेपाल फर्किएलगतै पुनः आट्र्सकै क्षेत्रमा काम गर्न बहराईन गए ।


उनी बताउँछन–‘बहराईनमा सोचेजस्तो काम नभएर त्यतिकै बस्नुपर्ने बाध्यात्मक अवस्था आएपछि मेरो जीवनमा सङ्कटपूर्ण घडीको सुरुवात भयो । एक त सोचेजस्तो काम पनि भएको थिएन अर्कोतिर घर खर्च पनि पठाउनु पर्ने वाध्यात्मक परिस्थिति थियो । यस्तो घनघोर पिरले सताएको बेला के काम गर्ने होला भनेर सोच्दै जाँदा ट्याटु बनाउने सीप विकास गरेर ट्याटु हान्ने क्षेत्रमा काम गर्ने अनौठो सोच आयो । तर वहराईन गल्फ मुलुक भएकोले ट्याटु पूर्णरुपमा अवैधानिक थियो । त्यसैले ट्याटु सिक्ने र ट्याटु मेसीनरी समान पाउने त झन् सम्भावना नै थिएन । तर, काम नभएको खाली समयलाई सदुपयोग गर्दै युट्युब र गुगलमा ट्याटुसम्बन्धी निकै अध्ययन गरे । लगभग ट्याटु सम्बन्धी सबै जसो भिडियो र अनलाइन आर्टिकलहरु पढेपछि मलाई पनि ट्याटु गर्न सक्छु भन्ने आँट आयो । तर, मेसिन पाउने सम्भावना थिएन त्यहाँ ।


पुराना दिन उनी यसरी सम्झछन्– ‘यस्तैमा मसँगै पढेर स्कलरसिपमा अमेरिका गएको एक प्रिय साथी मन गुरुङलाई सहायताको लागि सम्झे र सम्पर्क गरे । उसले तुरुन्त मलाई अमेरिकाबाट ट्याटुको समान कुरिएर गरीदिए । यसरी समान पाएपछि मैले त्यही समानसँगै आएको नक्कली प्लास्टिक स्किनमा प्राक्टिस गरे र पहिलोपटक एक जना फिलिपिनी साथीको हातमा पहिलो ट्याटु खोपे । म पहिले नै आट्र्स पढेको आर्टिष्ट भएकोले ब्रसको ठाउँमा ट्याटु मेसिन चलाउन त्यति गाह्रो भएन । त्यसमाथि लगभग १ वर्ष ट्याटु सम्बन्धी सबै सैद्धान्तिक ज्ञान लिइसकेकोले यसबाट हुन सक्ने खतरा र रोगहरूमा म सुरुबाट नै सचेत र सजग थिएँ । यसरी केही महिना नेपाली र फिलिपिनी साथीहरूलाई सित्तैमा टाटु हाने र पहिलोपटक २००९ मा पैसा लिएर व्यवसायिकरुपमा ट्याटु हान्न थालेँ ।’

छोटो समयमै ट्याटु हान्ने कलामा राम्रो हात बसेपछि विक्कुले राम्रै बजार बनाएँ । तर गल्फमा ट्याटु इलिगल भएकोले स्वास्थ्य मन्त्रालय बाट पटक–पटक उनलाई वार्निङ र धम्की आएपछि सन् २०१६ मा उनलेले विदेश छाडेर नेपालमै केही गर्ने सोच बनाएर फर्किन बाध्य भए । उनले बहराइनको लगभग १० वर्ष बसाइमा बटुलेको लामो संर्घष पाठ, अनुभव, सुख दुःख, ज्ञान, सिप र क्षमता लाई बटुलेर नेपालमा ट्याटु क्षेत्रमा सचेतनात्मक अभियानसहित लाग्ने विचार गरे । ‘मेरो जीवनको एउटा सुखद कुरा के छ भने वहाराइनमा मसँग ट्याटु हान्न स्वदेशी तथा विदेशीहरू एक महिनासम्म पालो कुरेर बस्थे । म बराइनमा ट्याटु क्षेत्रमा प्रख्यात थिए । तर, के गर्नु त्यहाँ ट्याटु पेसा इलिगल भएकोले नेपाल फर्कन बाध्य भए । नेपाल फर्किएपछि मैले फाइन आर्टसमै स्नातकोत्तर (मास्टर डिग्री) सम्म अध्ययन सकेर अझ सशक्त र क्रियाशील रूपमा यो आट्र्स र ट्याटुको क्षेत्रमा निरन्तर लागिरहेको छु । आखिर सफलता भनेको निरन्तर एउटै क्षेत्रमा डटेर सुख दुःखलाई आत्मसाथ गर्दै लागिरहनु नै रहेछ । उनी भन्छन–‘नेपालमा भर्खर–भर्खर ट्याटुको फेसन भित्रिएकोले युवायुवतीमा निकै क्रेज देखिएको छ । तर दुःखद कुरा के छ भने छ्यापछ्याप्ती मेसिन किन्ने र बिना ज्ञान एकदमै अस्वस्थ वातावरणमा ट्याटु हान्ने गरेको विकृत अवस्था रहेको छ । मलाई यस्ता– विकृति फैलिँदै गरेको देखेर, भविष्यमा हुनसक्ने खतरा देखेर र रोगमय समाजको कल्पनाले डर लाग्न थालेपछि नेपालमा ट्याटु हान्ने सम्बन्धी जनचेतना र सजगकताका ज्ञानहरू प्रवाह गर्ने अभियान चलाउन जरुरी लागेर अहिले ट्याटु स्पेसलिस्टको रूपमा काम गर्दै आएको छु ।’

 

ट्याटु भनेको डाइरेक्ट ब्लड र व्यक्तिँग सरोकार राख्ने भएकोले एकजनाबाट अर्कोमा रोग सजिलै सर्न सक्छ । अल्पज्ञानले हुने खतराबाट समाज र हाम्रो युवाहरूलाई जोगाउन उनले एक वर्ष लगाएर लिएको ट्याटुसम्बन्धी बृहत्त ज्ञान अहिलेका उदाउँदो नयाँ युवा कलाकारहरूमा दिन मन लागेर र आफूले दश वर्ष हजारौँ ट्याटु हानेर पाएको अनुभव बाँड्न मन लागेर आर्ट एन्ड ट्याटु ट्रेनिङ सेन्टर दर्ता गरेर ट्याटु आर्टिस्ट हुन चाहने युवाहरूलाई सम्पूर्ण ज्ञान बाँड्दै आएका छन् । यो पैसा कमाउने ध्येय भन्दा पनि अहिलको ट्रेन्डमा आएको ट्याटु क्रेजबाट युवापुस्तालाई हुनसक्ने एचआइभी, हेपाटाइटीस बी, टीटानस जस्ता संक्रमयुक्र रोगहरूबाट जोगाउनु र सचेत गराउनु प्रमुख ध्येय रहेको उनी बताउँछन् ।
थापा ट्याटु हान्न मात्र हैन सबै खाले आट्र्समा अब्बल छन् । आफ्नै सिर्जनशीलतामा विश्वास गर्ने थापाले अहिलेसम्म दशौँ हजार मानिसहरूलाई ट्याटु हानिसकेका छन् भने हजारौँ मानिसहरूको स्केच उतारेका छन्, हजारौँ कलात्मक चित्रहरू कोरेका छन, हजारौँ भित्ताहरूमा कलात्मक आर्ट पेन्टिङ गरेका छन् । उनी भन्छन–म चित्र पनि कोर्छु, ट्याटु पनि बनाउँछु, ट्याटु तालीम पनि दिन्छु र इन्टेरीयर वाल डेकोरेसन पनि गर्छु । म एकदमै प्रोफेसनल रूपमा ट्याटु फिल्डमा छु । मैले प्रयोग गर्ने रंगहरु र समानहरू अमेरिकाबाट सिधा मगाउने गरेको छु । त्यसर्थ, मेरो हालको प्रत्येक मिनेट व्यस्ततामै बित्न गरेको छ ।’


उनी थप्छन–‘मलाई आफ्नै देशमा ट्याटुबारे जनचेतना कार्यक्रम सञ्चालन गर्न सकेकोमा गर्व लाग्छ । ट्याटु हान्ने वा ट्याटु खोप्ने कार्य बहुतै संवेदनशील कार्य हो । बहुत सावधानी र सचेत हुनुपर्दछ । किनभने ट्याटु भनेकै घाउ बनाएर रङ्ग भर्ने हो । गुणस्तरीय ट्याटु पछि सुरक्षा पनि उत्तिकै महत्त्वपूर्ण पक्ष हो जसलाई हामी नेपालीहरूले बेवास्ता गरिँदै आएका छौ । म मेरो जीवनभर आर्ट र ट्याटु क्षेत्रमै निरन्तर लागिरहने छु । नेपालमा अझै पनि ट्याटुबारे जनचेतना कमी देखिएकोले भविष्यमा मेरो ट्याटु सेन्टरलाई विस्तार गरेर ट्याटु स्कुल बनाउने लक्ष्य बोकेको छु । किनभने ट्याटु व्यवसाय विश्वका अन्य मुलुकहरूमा बहुत प्रतिष्ठित व्यवसाय हो । यसमा मैले मेरो राम्रो भविष्य कोरिसकेको छु । कनिभने, मैले अहिलेसम्ममा ट्याटु हान्दा थोरैमा १००० र धेरैमा ४५००० सम्म लिएको छु र आर्ट बेच्दा सस्तोमा १५०० देखि ३५०००० सम्ममा बेचेको छु । यो पेसा नाम, दाम र प्रतिष्ठा भएको पेसा हो । लगनशिलरुपमा र सिर्जनसिलरुमा काम गरे इच्छुक सिर्जनसील युवाहरूले यो क्षेत्रमा सफलता हासिल गर्न सक्छन् ।’


नेपालमा टाटु व्यवसाय पछिल्लो समय प्रतिस्पर्धात्मक नै छ । यतिसम्मको विकृत अवस्थामा छ कि व्यवसायको नाममा लुगा सिलाउने सियोले समेत ट्याटु खोप्छन । एउटा सियोले एकजनालाइ मात्र खोप्नु पर्दछ । तर, नेपालमा त्यही सियो धेरैलाई प्रयोग गर्ने गरेको पनि पाइन्छ जसले गर्दा खतरानक रोगहरूको जोखिम रहिरन्छ । त्यसर्थ, ट्याटु जस्तो जोखिमयुक्त कार्यको नेपाल स्वास्थ्य मन्त्रालयले पनि निगरानी राखोस भन्ने आफ्नो चाहाना भएको उनी बताउँछन् । उनी भन्छन–‘रोग लाग्नुभन्दा पहिला नै हामीले स्वास्थ्यबारे सोच्नुपर्दछ । टुयाटुका कारण धेरै खतरानक रोगहरू उब्जिन सक्ने खतरा रहेकोले सुरक्षा र सावधानीबारे हामीले अनिवार्य सचेत रहनु पर्दछ । गुणस्तरीय र विज्ञ टाटुकारहरुबाट मात्र टाटु खोप्न सबैलाई मेरो हार्दिक अनुरोधसमेत छ । मेरो निरन्तरको सङ्घर्ष, मेरो परिवारको सपोर्ट, मेरा सम्पूर्ण आफन्तजनहरूको आशीर्वाद र मेरा प्रिय मित्रहरूको सहयोगले मैले आट्र्सको क्षेत्रमा राम्रो सफलता पाइरहेको छु । त्यसर्थ, मलाई सहयोग र साथ दिनुहुने सम्पूर्णजनमा हार्दिक धन्यवाद भन्न चाहन्छु । हाल चक्रपथ महाराजगन्ज चोकमा मेरो ‘आर्टस एन्ड ट्याटु ट्रेनिङ स्टुडियो’ छ । यहाँ आएर आट्र्ससम्बन्धी शिक्षा वा आट्र्स सम्बन्धी सम्पूर्ण कामको अर्डर दिन सक्नुहुनेछ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार