बुधबार, असार ४ २०७६
दोहा(जस)–करीब एक वर्ष अघि नेपालमा सबैभन्दा चर्चाको केन्द्रमा रहेको सुन तस्करीको विषय अहिले क्रमशः हराउँदै गएको छ । सुन तस्करीका बादशाह भनिएका गोरे नामले चिनिने चुडामणि उप्रेतीको पक्राउसँगै सुन तस्करीको विषयले नेपाली राजनितीदेखि सुरक्षा निकायसम्म ठूलै हलचल मच्चायो । यही मुद्दामा नेपाल प्रहरीले विभिन्न व्यवसायीदेखि संलग्नहरु गरि ५० भन्दा बढीलाई समातेर मुद्दा पनि चलायो । अहिले धेरैजसो तारेखमा वा सफाई पाएर छुटिसकेका छन् । नेपाल सरकारका गृहमन्त्रीले नै नेपालमा ३८ सय किलो भन्दा बढी सुन तस्करी भएको बताए पनि अहिलेसम्म त्यो सुन कहाँ गयो भन्नेबारे सरकारले बताएको छैन । अहिले सरकार ठूलो रुपमा हुने तस्करी नभएको बताइरहेको छ । तर, अहिले पनि नेपालमा दैनिक सयौं किलो सुन तस्करी भइरहेको जानकारहरु बताउँछन् । ‘नेपालमा हुने सुन तस्करी रोकिएको होइन, तस्करीको स्वरुप भने परिवर्तन भएको छ । तस्करहरुले थप सुरक्षित र उपयुक्त बाटोबाट सुन तस्करीको च्यानल चलाइरहेका छन्’, एक सुरक्षा जानकारले जनसवालसँग भने ।

नेपालमा सुन तस्करीको सबैभन्दा सबैभन्दा प्रमुख श्रोत मुलुक युनाइटेड अरब इमिरेटस (युएई) रहेको र नेपालमा धेरैजसो सुन यूएईको दुबईबाट आएको तथ्यहरु उजागर भएपनि नेपालमा अहिले विभिन्न मुलुकबाट निरन्तर सुन तस्करी भइहरेको छ । यसमा पछिल्लो समय यूएई, हङकङ पछि नेपालमा सुन तस्करीको एउटा प्रमुख नेटवर्क नेपाली कामदारकालागि प्रमुख गन्तब्यको रुपमा रहेको खाडीको अर्को राष्ट्र कतार बनेको छ । लाखौं नेपालकिो रोजगार गन्तब्य कतार अहिले तस्करहरुकालागि सुन तस्करीको स्वर्णभूमि बनिरहेको छ । तर, कतारबाट नेपालसम्म सुन तस्करी यसरी भइहरेको छ कि तस्करीको सुन पनि वैध बाटोबाट भित्रिरहेको छ र यसमा नेपाल सरकार पनि मुकदर्शक मात्र बन्नुपर्ने अवस्था आएको छ । यसै सन्दर्भमा कतारबाट नेपालमा कसरी सुन तस्करी भइहरेको छ भन्नेबारे जनसवाल दैनिकले यो स्थलगत रिपोर्ट तयार पारेको छ ।
गहना बनेर आउँछ अहिले सुन
विस २०७६ जेठ २५ को राति हामी कतारबाट नेपाल फर्किदैं थियौ । कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थल भएर । हमाद बिमास्थलमा जहिल्यै घर फर्किने नेपालीहरुको भीड हुन्छ । आज पनि माहौंल उस्तै नै छ । मध्यरातको १२ बजे पनि यहाँको रौनक निकै चम्किलो छ र यही चम्किलो माहौलमा सुनको नेपाल सप्लाई गर्नेहरु आफ्नो तस्करीको धन्दा चम्काउन व्यस्त छन् । कतारको दोहाबाट विभिन्न एअरलाइन्स हुँदै काठमाडौं फर्कनेहरू हमाद अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश गर्दैछन् ।

विमानस्थलभित्र पुगेपछि बोर्डिङ पास बनाउने लाइनको ठीक सामुन्ने करिब आधा दर्जन नेपाली युवाको एक समूह देखिन्छ । उनीहरू स्वदेश फर्कन लागेका हरेकजसो नेपालीसँग सोधखोज गरिरहेका देखिन्छन् । उनीहरुको सोधखोजको क्रम हामीसम्म आइपुग्यो । उनीहरूको सोधीखोजी सुन तस्करीसँग जोडिएको रहेछ । बोर्डिङपास लिन लाइन बस्ने क्रममा उनीहरूले हरेक नेपालीलाईझंै हामीलाई पनि ‘सुन लिएर फर्कंदे हुनुहुन्छ कि रित्तै ?’ भन्दै प्रश्न गरे । छैन भन्ने जवाफ दिन नभ्याउँदै ती व्यक्तिले अर्कोतिर बोलाएर आफुहरुको सुन काठमाडौंसम्म लगिदिन र उनहिरुले भनेको काम गरे काठमाडौंमा खान बस्न र घरसम्म पुग्न टिकटको पनि व्यवस्था गरिदिने लोभ देखाए । यसरी उनीहरुले हरेक नेपाल फर्किने नेपालीलाई दोहाको बिमानस्थलमा सुन तस्करीको जालो बिछ्याउँछन् र उनीहरुको कुरामा कन्भिन्स हुने नेपालीलाई ५० ग्रामका दरले गहना लगाएर नेपाल पठाउँछन् ।
वैध भन्दै बोकाउँछन् सुन
दोहा बिमानस्थलमा अहिले यस्तो तस्करीको धन्दा चलाउने दुई–तीनवटा समूह छन् । जसको प्रमुख काम नेपाल आउने हरेक नेपालीलाई ५० ग्राम सुन बोकाएर नेपालमा सुन छिराउनु हो । यसका लागि उनीहरुले सरकारले तोकेको ५० ग्राम सुन नेपाल ल्याउन पाउने नियमलाई दुरुपयोग गरेका छन् । जसमा हरेक दिन सयौ सोझा नेपाली कामदार फस्ने गरेका छन् । सबैभन्दा पहिले उनीहरुले नेपाल फर्कने नेपालीलाई सुन नेपाल ल्याइदिने कन्भिन्स गराउन ५० ग्राम सुन नेपाल लगिदिएको रु ६ हजार नेपाली दिने, काठमाडौंमा खान बस्न र घरसम्म पुग्न टिकटको पनि व्यवस्था गरिदिने लोभ देखाउँछन् ।

यसका लागि उनीहरुले धेरैलाई बिलसहतिको सुनको बाला छैन दिएर पठाउने गरेको बिमानस्थलमा प्रत्यक्ष देख्न सकिन्छ । बिलसमेत नेपाल ल्याउनेकै नाममा बनाइदिने र नलुकाइकन वैध ढंगले नै नेपालमा सुन लान सकिने भन्दै उनीहरुले यसरी लैजाँदा पुलिसले नसमाउने, समायो भने देखाइदिने, मैले किनेर ल्याएको हो भन्ने र एअरपोर्ट बाहिर पुगेपछि उनीहरुको सम्बन्धित मान्छेलाई मोवाइल फोन सम्पर्क गरेर बुझाइदिएपछि पैसा पाइने बताउँछन् ।
नेपालमा यसरी आइपुग्छ सुन
कतारबाट सुन तस्करहरुले प्राय सबै नेपालीलाई ५० ग्रामको सुनको बाला लगाएर पठाइदिने गर्छन । काठमाडौंमा बिमानस्थलमा कुरेर बसनेको सक्पर्क दिन्छन र होटलमा जान चानेकालागि होटलकोसमेत सम्पर्क दिन्छन । कतारमा हामीलाई सुन लगिदिनुस भन्ने र आफ्नो परिचय बताउने अन्दाजी ३०, ३२ वर्षका देखिने घर चितवनको रत्ननगर नगरपालिका बकुलर चोकदेखि माथि नयाँ बस्ती बताउने बिश्वास लामाले गौशाला रातोपुलमा जनक होटल भएको र त्यहाँ खान बस्नको सुविधा र एक रात बस्न पनि फ्रि गर्दिने बताए । सुन बोकाएर पठाउनेहरुसँग उनीहरुले फोन नम्बर, पासपोर्टको फोटो र व्यक्तिको फोटो खिचेर पठाउने गर्छन । उनीहरुकै अनुसार दोहाबाट काठमाडौं जाने १०० मध्ये ९० जनाले सुन लिएरै गएको हुन्छ । विशेषगरी कामदारका रूपमा आउनेहरूलाई उनीहरुले सुन पठाउने पनि बताए ।

यसका लागि उनीहरुले बतारमा सक्कली बिल नै बनाउने पनि बताए । बिलबारे प्रशन गर्दा लामाले भने– ‘सक्कली बिल हो । नाम मात्र भरेको हुँदैन । पसलबाट छाप लगाएरै ल्याएको बिल हो । उनले सुनको बाला राखिएको प्लाष्टिकको सानो प्याकेटबाट बिल निकालेरसमेत दोखए । जुन बिलमा नाम खाली थिाय भने अरु सबै भरेका थियो । सुन लैजानेको नाम खाली भरेर नेपाल सुन पठाउँथे उनीहरु । उनीहरुले आफुहरुले धेरैजनालाई सुन नेपाल पठाइसकेको र अहिलेसम्म कोही पक्राउ नपरेको पनि बताए ।
नेपालमा आफ्नै सुन पसल
सुन तस्करी गिरोहका अर्का सदस्य चितवन भरतपुर घर बनाउने सिर्जन थापा मगरले यसरी पठाइएको बाला काठमाडौंमा उनीहरुकै सुन पसल भएको र त्यहीबाट गहना बनाएर विक्री हुने बताए । ‘हाम्रो सुन पसल छ । त्यहीँबाट गहना बनाएर बिक्री हुन्छ । यसरी पठाउँदा भ्याट तिर्नुपदैन । कर तिर्नु नपर्ने हुनाले फाइदा हुन्छ । भ्याट तिर्नु नपर्दा ६, ७ हजार नाफा हुन्छ,’ मगरले बताए । मगरकै कुरालाई आधार मान्ने हो भने यो तस्करीको धन्दा कतारदेखि नेपालसम्म सुन तस्कर, होटल, पसल र व्यापारीको मिलेमतोमा फष्टाउँदै गएको छ । यता सोझा नेपाली कामदार भने केही रकमको लोभमा तस्करको जालमा परेर सुन बोकेर नेपाल जाने र कतिपय अवस्थामा त्यही सुनकै कारण जेलसम्म पुगेको पनि अवस्था छ । अहिले केही नेपाली यही कारण जेलमा रहेको बताइन्छ ।
दैनिक किलोको दरमा भित्रिन्छ सुन
कतारको दोहा एयरपोर्टलाई मात्र आधार मान्ने हो भनेपनि अहिले वैधानिक तस्करीका रुपमा दैनिक किलोको दरमा सुन तस्करी भइरहेको छ । कतारबाट मात्र दैनिक सयौं नेपाली नेपाल फर्कने र प्राय हरेकले ५० ग्राम सुन ल्याउने हुँदा कतारबाटै दैनिक, ५–७ किलो सुन नेपालमा तस्कर िहुने गरेको देखिन्छ । यस्तै तस्करी दुबई तथा हङकङ एयरपोर्टबाट पनि उत्तिकै हुने भएकाले नेपालमा दैनिक किलोको दरमा सुन तस्करी हुने दखिन्छ ।
रोकिएन तस्करी
राजस्व अनुसन्धान विभागले विन २०७५ साउन १ गतेदेखि २०७६ जेठ मसान्तसम्ममा ६६ किलो चार सय ग्राम सुन बरामद गरिएको जनाएको छ । यो समयमा राजस्व चुहावटको ८१ वटा कसुरमा अनुसन्धान गरि मुद्दा दायर गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए । यस अवधिमा राजस्व चुहावट कसुरमा २ सय ३८ जना व्यक्तिमाथि १८ अर्ब ३२ करोड रुपैयाँ तथा ३ वर्षसम्मको कैदको माग दाबी गरिएको विभागले भनेको छ । यसमा सुन भन्सार चोरी पैठारीको कसुरमा ६६ किलो ४ सय ग्राम सुन समेत बरामद गरिएको भनिएको छ । यस्तै विदेशी विनिमय अपचलन तथा अवैध हुण्डी कारोबारमा ६४ मुद्दा दर्ता भएका छन् । यसमा १ सय ४ जनालाई ५ अर्ब ११ करोड विगो कायम गरी विगोको तेब्बर जरिवाना र ३ वर्षसम्म कैद मागदावी सहित मुद्दा दायर गरिएको छ ।
रौतहटको गौर नगरपालिका पाँच वस्ने अनुकेश कुमार शाह र विजयकुमार शाहले १ सय ५६ किलो ६८७ ग्राम ३५० मिलिग्राम ग्राम सुन चोरी पैठारी गरेर ८३ करोड १० लाख ४७ हजार ७२० रुपैयाँ राजस्व चुहावट गरेको आरोपमा गत जेठ ३१ गते जिल्ला अदालत रौतहटमा मुद्दा दर्ता भएको छ । बैशाख २० गते विहान अनुकेशकुमार शाहबाट ९९९ ग्राम ८२० मिलिग्राम सुन प्रहरीले बरामद गरेको थियो । अनुकेशले ओप्पो ब्राण्डको मावाइलमा एनसेलको सिम र कलर ब्राण्डको मोवाइलमा नेपाल टेलिकमको सिम सहित शाहलाई पक्राउ गरिएको थियो । सो मोवाइलको डाटा डाउनलोड गरेर हेर्दा १७५ थान सुनको कारोबार भएको पाइएको हो ।
अनुकेशले विजयकुमार शाहको ज्वेलर्समा सो सुन बिक्रि गरी कारोबार गरेको देखिएको विभागले भनेको छ । उनीहरुले अनुमति नलिइ अवैध रुपमा कारोबार गरेको छानबिनबाट देखिएको राजस्व अनुसन्धान विभागले जनाएको छ । रसुवा जिल्ला यार्सा गाविस वडा नं. ६ काग्याल्बो घले विरुद्ध जिल्ला अदालत रसुवामा जेठ ६ गते मुद्दा दायर भएको छ । घलेले ७ केजी सुन चोरी पैठारी गरेर ल्याएको भन्दै सो सुनको हुन आउने ७ करोड ११ लाख ७६ हजार विगो कायम गरी राजस्व चुहावट र विदेशी मुद्रा अपचलनमा मुद्दा दर्ता गरिएको हो । उनले कन्टेनरको डिब्बामा विना बिल विजक लुकाएर ७ केजी सुन ल्याउँदै गरेको प्रहरीले फेला पारेको हो । प्रहरीले राजस्व अनुसन्धान विभागमा अनुसन्धानको लागि बुझाएको थियो । अनुसन्धानबाट आयात प्रज्ञानपनपत्र तथा भन्सार तिरेको रसिद नभएको देखिएको महानिर्देशक मैनालीले भने ।

जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij