काठमाडौं(एजेन्सी)–युरोपियन फुटबल फेडेरेसन(युइएफए)का पुर्व अध्यक्ष मिचेल प्लाटिनी गिरफ्तार भएका छन् । सन् २०२२ को विश्वकप फुटबल कतारलाई आयोजना गर्न दिएको प्रकरणमा थप छानबिन गर्न प्लाटिनीलाई फ्रान्सबाट गिरफ्तार गरिएको डेली मेलले उल्लख गरेको छ । प्लाटिनीलाई मंगलबार बिहान हिरासतमा लिइएको बताइएको छ ।
सन् २००७ देखि २०१५ सम्म युइएफएको अध्यक्ष रहेका प्लाटिनीलाई सन् २०१५ मा फिफाको इथिक्स कमिटीले प्रतिबन्ध लगाएको थियो । सन् २०१० को डिसेम्बरमा कतारलाई विश्वकप फुटबल आयोजना गर्न दिदा अनियमिता भएको बारे अहिले पनि छानबिन जारी रहेको छ । फिफा भित्र कतारलाई विश्वकप आयोजना गर्न दिदा अनियमितताको आरोप लाग्दै आएको छ । प्लाटिनीलाई एन्टी करप्सन अफिसको जुडिसियल पुलिसले गिरफ्तार गरेको बताइएको छ । कतारले फिफाका विभिन्न पदाधिकारीलाई पैसाको प्रलोभनमा पारेर विश्वकपको आयोजना गर्ने मौका पाएको बताइदै आएको छ ।