काठमाडौं(जस)–सन् २०२० मा अस्ट्रेलियामा हुने टी–२० विश्वकपको एशिया स्तरको छनौट खेलको लागि नेपाली राष्ट्रिय टिम छनौट गर्न २५ सदस्यीय प्रारम्भिक खेलाडी छनौट गरिएको छ । २५ सदस्यीय टिममा पारस खड्का –कप्तान), अभिनाश बोहोरा, अमित श्रेष्ठ, बसन्त रेग्मी, भिम सार्की, बिनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, जितेन्द्र कुमार मुखिया, करन केसी, कुशल भुर्तेल, ललित भण्डारी, ललित नारायण राजबंशी, मोहमद आरिफ सेख, नन्दन यादव, पवन सराफ, प्रदीप ऐरी, राजु रिजाल, रोहित कुमार पौडेल, सन्दीप लामिछाने, शाहाब आलम, शरद भेस्वाकर, सोमपाल कामी, सन्दीप जोरा र सुशन भारी रहेका छन् ।
जुन २० देखि हुने क्लोज क्याम्पका लागि आइसीसी प्रतिनिधि अमिनुल इस्लाम, मुख्य प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले सो टिम छनौट गरेका हुन् । टी–२० विश्वकपको एशिया स्तरको छनौट खेलको लागि अन्तिम खेलाडीको सुची भने क्लोज क्याम्प पछि छनौट गरिने राष्ट्रिय टिमका म्यानेजर रमन शिवाकोटीले जानकारी दिएका छन् ।
टी–२० विश्वकपको एशिया स्तरको छनौट खेल
सन् २०२० मा अस्ट्रेलियामा हुने टी–२० विश्वकपको एशिया स्तरको छनौट खेलको खेल तालिका सार्वजनिक भएको छ । नेपालसँगै युएई, कतार, सिंगापुर, मलेसिया र कुवेत एशियाको अन्तिम छनौटमा पुगेका छन् । अब यी टिमबाट शिर्ष २ टिम ग्लोबल क्वालिफायरका लागि छनौट हुने छन् । यी ६ टिम मध्ये यूएई भने ग्लोबल छनोटको अयोजना गर्ने भएपछि उसले एसिया छनोटको फाइनल राउण्ड नखेल्ने भएको हो । उसले स्वतः ग्लोबल छनोटमा ठाउ पक्का गरेको छ । सार्वजनिक गरिएको खेल तालिका अनुसार एशिया स्तरको छनौट खेल आगामी जुलाई २२ देखि २८ सम्म हुने भएको आइसीसीले जानकारी दिएको छ । सिंगापुरमा हुने सो प्रतियोगिताको पहिलो खेलमा २२ जुलाईमा आयोजक सिंगापुर र कतार खेल्ने छन् ।
खेल तालिका ः
२२ जुलाई ः सिंगापुर भर्सेज कतार
ः कुवेत भर्सेज मलेसिया
२३ जुलाई ः कतार भर्सेज नेपाल
ः सिंगापुर भर्सेज कुवेत
२४ जुलाई ः नेपाल भर्सेज मलेसिया
२६ जुलाई ः कतार भर्सेज कुवेत
ः सिंगापुर भर्सेज मलेसिया
२७ जुलाई ः कुवेत भर्सेज नेपाल
ः मलेसिया भर्सेज कतार
२८ जुलाई ः सिंगापुर भर्सेज नेपाल
एशिया स्तरको यो छनौट खेलबाट दुई टिम ग्लोबल क्वालिफायरका लागि छनौट हुने छन् । ग्लोबल क्वालिफायरका लागि एशिया, अफ्रीका र अमेरिका क्षेत्रबाट २–२ तथा युरोप र इष्ट एशिया प्यासिफिकबाट १–१ गरि ८ देश छानिने छन् । ग्लोबल क्वालिफायरका लागि अक्टोबर ११ देखि नोभेम्बर ३ सम्म युएईमा खेल हुने छ । जसमा आयोजक युएई, ग्लोबल क्वालिफायरमा छनौट भएका ८ देशका साथै हङकङ, आयरल्याण्ड, नेदरल्याण्ड, ओमान, स्कटल्याण्ड र जिम्बाबे गरि १५ देशले ग्लोबल क्वालिफायर खेल्ने छन् । जसबाट ६ देश विश्कपका लागि छनौट हुने छन् । ग्लोबल क्वालिफायरबाट आएका ६ देशले विश्वकपको पहिलो चरणमा श्रीलंका र बंगलादेशसँग सुपर १२ का लागि खेल्ने छन् । जसबाट ४ टिम सुपर १२ मा पुग्ने छन् । अहिलेसम्म आयोजक अस्ट्रेलियासहित पाकिस्तान, भारत, दक्षिण अफ्रिका, न्युजील्याण्ड, ईङल्याण्ड, वेस्टइन्डिज र अफगानिस्तान विश्वकपको सुपर १२ मा पुगिसकेका छन् ।