बझाङ(जस)–सदरमुकाम चैनपुर नजीकै रहेको डुङ्रीबाट मष्टागाउँपालिका जाँदै गरेको से१ज १०७२ नंको जीप मष्टा–१ डौँठी भन्ने ठाउँमा दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । वडा प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक महानन्द जोशीका अनुसार जीप अप्ठेरो ठाउँमा खसेको र मान्छेसमेत जान नसक्ने भएका कारण उद्धार गर्न निकै समस्या भएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।
तीन जनाको उद्धार गरिसके पनि जीपमा कति व्यक्ति सवार थिए भन्ने केही खुल्न नसकेको उनले बताए । अहिलेसम्म नौ जनाको शव फेला परेको र जीप भिरमा अड्किएको अवस्थामा रहेको बताइएको छ । मृत्यु हुने नौ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा मष्टाका कलकबहादुर खड्का र उनँका छोरा, जुनधारा खड्का, नैन खड्का, धौली खड्का, जुना खड्का, भक्त द्वाल, चालक सुरेन्द्र थापा र लक्ष्मी द्वाल रहेका वडा प्रहरी कार्यालय चैनपुरका नायब निरीक्षक महानन्द जोशीले जानकारी दिए । घटनास्थलमा खटिएका स्थानीयवासी रामचन्द्र रोकायाका अनुसार घाइतेको उपचारका लागि हेलिकोप्टरमार्फत नेपालगञ्ज लैजाने काम भइरहेको छ । मौसम खराब रहेका कारण हेलिकोप्टर उड्न नसकेको बताइएको छ ।