काठमाडौं(जस)–संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भइ बनेको समाजवादी पार्टी नेपाल बिहीबार निर्वाचन आयोगमा दर्ता गरिएको छ । निर्वाचन आयोगमा दलको नाम मात्र दर्ता गरिएको छ भने चुनाव चिन्हका विषयमा अझै निर्णय नभएको बताइएको छ । अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराईसहितको टोलीले निर्वाचन आयोगमा पुगेर दल दर्ता गराएको हो ।
दल दर्तापछि सन्चारकर्मीसँग कुरा गर्दै डा. भट्टराईले पार्टी साँचोअर्थमा नयाँ विकल्पकारुपमा आउने दाबी गरे । उनले लोकसेवा आयोगले खुलाएको विज्ञापन र गुठी विधेयकको विरोध पनि गरे ।अर्का अध्यक्ष यादवले दल दर्ता भएपनि निर्वाचन चिह्नको विषयमा निर्णय भइनसकेको बताए ।