चितवन(जस)–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरानो राज्य संरचनाका कारण काम गर्न कठिन भएको बताएका छन् । अच्युतराज सुवेदी स्मृति प्रतिष्ठानले बुधबार यहाँ आयोजना गरेको अच्युत स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार २०७६ वितरण समारोहलाई सम्बोधन गर्दै उनले आन्दोलनको बलले नयाँ नेतृत्वको सरकार आए पनि पुरानै राज्य संरचनाका कारण सोचेअनुसारको काम गर्न कठिन भएको बताए । हिजो राजाहरू निरङ्कुश हुँदा शुरु भएको स्कूल नभत्किएको भन्दै दाहालले भने, “यही स्कूल छ, राज्य संरचनाको स्कूल । पञ्चायतको बेलामा जे छ त्यही स्कूलमा चलेको छ ।” नियम कानून पनि तिनै रहेको भन्दै उनले कानून बदलिँदा पनि काम गर्ने सोच, तरिका र शैली उही रहेको उल्लेख गरे ।
परिवर्तन पछि राजनीतिक नेतृत्वले जित्छ कि परम्परागत ढङ्गले चल्दै आएको राज्य संरचनाले जित्छ भन्ने थाहानै नपाई लडाइँ चल्ने गरेको उनको भनाइ थियो । राजनीतिक नेतृत्वले अब जित्न नसके मुलुक ठूलो दुर्घटनामा जाने दाहालले बताए । दुई तिहाइको सरकारबाट जनताले ठूलो अपेक्षा गरेको उल्लेख गर्दै उनले त्यसतर्फ सरकार अघि बढिरहेको भए पनि सफलता प्राप्त गर्न कठिन भइरहेको बताए । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका दाहालले भने, “जनताको अपेक्षालाई हामीले जुन उचाइ र गहिराइबाट सम्बोधन गर्न सक्नु पथ्र्यो सायद हामीले त्यही स्तरबाट गर्न सकेनौँ ।” प्रयास भने जारी रहेको भन्दै उनले यद्यपि प्रयास पर्याप्त हुन नसकेकामा चिन्ता व्यक्त गरे । उनले थपे, “जनताले हामीबाट अझ धेरै त्याग र मेहनत चाहेका छन् ।”
छिमेकी दुई देशलाई जोडेर नेपाललाई समृद्ध मुलुक बनाउनुपर्ने उनको भनाइ थियो । छिटो विकासका लागि नेपालमा प्रसस्त सम्भावना रहेको उनले बताए । बाँके निवासी अच्युतराज सुवेदीको विसं २०७२ को भूकम्पमा परी निधन भएको थियोे । उन पूर्वउपसभामुख पूर्णकुमारी सुवेदीका छोरा थिए । दाहालले उनसहित भूकम्पमा ज्यान गुमाएकाको स्मरण गर्दै त्यो विपत्ले नेपालमा संविधान बन्न सहज बनाएको बताए ।
संविधान निर्माणको अन्तिम चरणमा घटना घटेपछि आफूले विपक्षी दलको नेताको हैसियतले सरकारलाई सहयोग गरेर उद्धारसँगै सबैलाई संविधान निर्माणमा जुटाएको स्मरण गरे । कार्यक्रममा नेकपाका नेता सुरेन्द्र पाण्डेले देशको समृद्धिका लागि सिङ्गो पार्टी गोलबद्ध भएर लाग्नुपर्ने बताए । पार्टी एकीकरणको प्रक्रिया ढिलो हुँदा नेता कार्यकर्ता एक वर्षदेखि बेरोजगार बनेका भन्दै छिटो टुङ्ग्याउन अध्यक्ष दाहाललाई उनले आग्रह गरे । सो अवसरमा राष्ट्रिय प्रतिभा पुरस्कार २०७६ बाट सशस्त्र प्रहरी बल विपत् व्यवस्थापन तालीम शिक्षालय कुरिनटारका जवान ओम सलामी मगरलाई रु २५ हजारसहित ताम्रपत्रबाट सम्मान गरिएको थियो । कार्यक्रममा वर्ष व्यक्तित्व सम्मान २०७६ बाट वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा शारदा रानाभाट कुँवरलाई सम्मान गरिएको थियो । प्रतिष्ठानका सम्बन्धमा अध्यक्ष प्रकाश सुवेदीले जानकारी दिएका थिए ।
मिडिया विधेयक परिमार्जन हुन्छ
‘प्रचण्ड’ले मिडिया विधेयकलाई परिमार्जन गरेर अघि बढ्ने बताएका छन् । प्रेस सङ्गठन चितवनले बुधबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारले ल्याएका कतिपय विधेयकमा आवश्यक गृहकार्य नपुगेको बताए । दाहालले भने, “मिडिया विधेयकलाई पनि आवश्यक परिमार्जन गरेरै अघि बढ्नुपर्छ भन्ने छ ।” सरकारले विधेयक ल्याउँदा तयारी राम्रो नपुगेको भन्दै उनले थपे, “जति गृहकार्य भएर विधेयक आउनु पथ्र्याे, केही कमी रहेको देखियो । पक्कै पनि सरकार पार्टी यसमा सतर्क भएको छ ।” आउँदा दिनमा यस्ता विधेयक ल्याउँदा पर्याप्त गृहकार्य गरेर ल्याइने दाहालले बताए ।
सरकारको नेतृत्वको सम्बन्धमा पत्रकारले राखेको जिज्ञासामा यो विषय नयाँ नभएको प्रतिक्रिया उनले दिए । दाहालले भने, “मिडियामा बढ्ने नयाँ कुराजस्तो गरी प्रचार भइरहेको छ । यो कुरा पुरानै हो । हामी जुन सहकार्य र सहमतिका साथ अघि बढेका छौँ त्यहीअनुसार अघि बढ्छौँ ।”
अर्को एक प्रसङ्गमा अध्यक्ष दाहालले यहाँ बन्न लागेको रङ्गशालामा सरकारले सहयोग गर्ने बताएका छन् । आफँैले प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेट गरी यस्ता रङ्गशालालाई सरकारले प्रोत्साहन गर्ने भनी नीति तथा कार्यक्रममा समावेश गरेको जानकारी दिए । उनले भने, “मैले त्यसरी नीति तथा कार्यक्रममा राख्नुको मनसाय चाँहि चन्दाले मात्रै ठूला आयोजना नहुन सक्छ । सरकारले सहयोग गर्नुपर्छ भनेर हो ।” रङ्गशालालाई सहयोग गर्ने सरकारको आधार तयार गरिएको उनले प्रष्ट पारे । धुर्मुस सुन्तली फाउण्डेसनले यहाँ निर्माण गर्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको स्थानीयले बार भत्काएपछि हाल काम रोकिएको छ । अध्यक्ष दाहालले पार्टी एकता प्रक्रियामा टुङ्गो लाग्न बाँकी रहेका इञ्चार्ज, सहइञ्चार्ज, ज्येष्ठ कम्युनिष्ट मञ्च, सल्लाहकार समिति, आयोगलगायत एकै साथ प्याकेजमा टुङ्गो लाग्ने बताए । अर्को एक प्रश्नमा उनले प्रदेश नम्बर ३ को अस्थायी राजधानीलाई कमसेकम पाँच वर्षका लागि त्यहीँ राख्नेकी भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए ।